Comments Add Comment

त्यो स्वर्ण पदकले अनुपमालाई विदेशिन रोक्यो

२० मंसिर, काठमाडौं । अनुपमा मगर माओवादी लडाकूको शिविरमै बसेको भए शायद अहिले नेपाली सेनामा बुट बजारिहेकी हुन्थिन् । गाउँमै बसेको भए के बन्थिन् ? पढाइ नछोडेको भए कहाँ पुग्थिन् ? यो सब तपशीलका कुरा हुन् ।

हकिकत हो, १० वर्षअघि अनुपमा काठमाडौं आइन् । अनि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेतर्फ स्वर्ण पदक भिरिन् । यो उनी आफैंले विश्वास नगरेको पदक होे । कराँते पनि त जीवनमा अपर्झट आएको ‘पाहुना’ हो ।

नत्र त्यो उदयपुरको लेखानीमा जन्मिएकी, हुर्किएकी उनलाई कराँते खेलबारे थाहै थिएन । अनुपमा जान्ने बुझ्ने हुँदा कम्ब्याट ड्रेसमा थ्री नट थ्रीलगायतका बन्दुक भिरेर हिँँडेका जनसेना देखेकी थिइन् । स्कुलमा माओवादीका कलाकारले गर्ने विचारोत्तेजक नाच–गान हेरेकी थिइन् । क्रान्ति, विद्रोहका कुरा सुनेकी थिइन् । त्यसैले उनी उस्तै गीतमा नाच्न थालेकी थिइन् ।

सपना भनेको देखेभोगेकै कुराबाट जन्मिने न हो । सायद अनुपमाले देशको परिवर्तनमा नै होमिने सोचेकी थिइन् । यत्ति हो उनको दिमागको कुनै पनि कुनामा कराँते थिएन ।

तर अनुपमा ‘जनसेना’मा नगएको भए अहिले पनि उनी कराँतेबारे अनविज्ञ हुने थिइन् । अलिकति चासो भए कसैले गोल्ड मेडल जितेको समाचारसम्म सुन्न सक्थिन् कि !

०००

अनुपमाको दाइ पेशल माओवादीमा लागिसकेका थिए । आमा देवकुमारीलाई डर लाग्यो, ‘भएको एउटा छोरामा पनि युद्धमा केही भइहाल्यो भने …!’ त्यसैले नौ कक्षाको पढाइ छुटाएर छोरालाई श्रीमानसँग भारत पठाइहालिन् । अनुपमाको बुबाले कोइला खातमा काम गर्न नगए परिवारको गुजारा चल्न गाह्रो थियो । पाँच बहिनी छोरी, एउटा छोरासहितको जम्बो परिवार । घरमा उत्पादन भएको अन्नले छ महिना धान्न पनि मुश्‍किल थियो ।

छोरा त भारत गए, तर छोरी अनुपमा पार्टीमा लागिन् । कहिले नाच्थिन्, कहिले माओवादीले काम लगाउँथ्यो । उनीहरु हतियार बोकेर जंगलको बाटो एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउँथे । ‘म लडाइँमा गइनँ तर पढ्दापढ्दै पाँच कक्षामा पढाइ छोडेँ । घरमै बसेर पार्टीलाई सहयोग गरेँ’, अनुपमा विगतको यात्रामा सयर गर्दैछिन्, ‘पार्टीमा लागेपछि केही सिकिन्छ भनेर हिँडेको ।’

यो पनि पढ्नुहोस दुब्लाउन सिकेको कराँतेले जीवनको बाटो मोडिदियो

०६३/६३ को जनआन्दोलनपछि शान्ति सम्झौता भयो । माओवादी लडाकूलाई सरकारले क्यान्टोनमेन्ट (शिविर)मा राख्यो । अनुपमा पनि गाउँ छोडेर जनसेना भएर सिन्धुलीको दुधौलीस्थित दुई नम्बर डिभिजनमा पुगिन् ।

त्यसबेला अनुपमा मात्र १४ वर्षकी थिइन् । क्यान्टोनमेन्टमा जान झोला बोकेर निस्किइन् । आमाले झोला खोसिदिइन‍् । अनुपमा मान्नेवाला थिइनिन् । जवरजस्ती हिँडिन ।

आमा आँशु झार्दै अनुपमाको वाटो हेरिरहिन् । पछि अनुपनको घरछेउकी दिदीले भनेकी थिइन्, ‘आमा रुँदै तलाई हेरिरहेकी थिइन्, किन एक पटक पनि फर्केर नहेरेको ?’

०००

उनी क्यान्टोनमेन्टमा पुगेपछि छुट्टै वातावरण । मेसमा खाना पाक्थ्यो । दुई तीन सय जना लाइन बसेर खाना खान्थे । नियमित शारीरिक अभ्यास हुन्थ्यो । त्यही बेला हो उनले कराँतेबारे सुनेको, ‘कराँतेमा त खुब उफार्छ रे ।’

आफू निकै मोटी लाग्ने भएका कारण बोसो घटाउन नियमित कराँते खेल्न थालिन् ।

सेना समायोजन प्रक्रिया चलिरहेको थियो ।

माओवादी लडाकूहरुले पीएलए क्लब बनाए । ध्रुब गुरु (ध्रुबविक्रम मल्ल) खेलाडी छनोटका लागि आएका थिए । छ वटा डिभिजनबाट अनुपमा छानिइन् । अनुपमा पीएलएको खेलाडी बनेर नवलपरासीस्थित क्यानटोनमेन्टमा पुगिन् ।

अन्तर डिभिजन खेलहरुमा विजेता बन्न पनि थालेकी थिइन् । अनुपमा कराँते खेल्ने हल्ला गाउँसम्म पुगेछ । गाउँलेले आमाबाको कान फुक्न थालेका थिए, ‘छोरी मान्छे भएर पनि कराँते खेल्ने ! हात खुट्टा भाँचिन्छ । भोलि कसले बिहे गर्छ ?’

घरबाट उनलाई फोन आइरहन्थ्यो, ‘छोरी त्यो खेल्न छोडिदेऊ ।’

अनुपमा थिइन् र गाउँमा कराँते भन्ने खेल छ भन्ने थाहा भयो ।

अनुपमा दुई पटक मात्र घर पुगेकी थिइन् । दाइले काठमाडौंको फर्निचरमा काम सिक्दै थिए ।

आमाले फोन गरिन्, ‘नानी घर आइज । म त डाँडामाथिको जुन हो । कहिले डुब्छ थाहा छैन । ’

अनुपमा हाँस्दै भन्थिन्, ‘आइहाल्छु नि ! न नआत्तिकन बस्नु न ।’

त्यसको चार दिनपछि अनुपमाले सुनिन्, ‘डाँडामुनिको जुन डुब्यो ।’

यो पनि पढ्नुहोस अनुपमाले दिवंगत आमालाई समर्पण गरिन् स्वर्ण

आमालाई सम्झिँदा अहिले पनि अनुपमाको आँखाबाट पश्चातापको आँशु झर्छ ।

०००

अनुपमा र उनको दाइ गाउँ पुगे । भर्खरै आमा गुमाएका चार वर्षीय कान्छो भाइ धुलोमा खेलिरहेको देख्दा अनुपमा भक्कानिइन् । आमाको काजकिरिया सकियो ।

त्यसपछि दाइले अनुपमालाई भने, ‘परिवारमा जान्ने तँ नै हो । अब काठमाडौं आइज । भाइ बहिनीलाई पनि पढाउनुपर्‍यो । गेम पनि खेल्न पाउँछेस् ।’

साँच्चिकै संकटमा थियो अनुपमाको भाइ बहिनीको जिन्दगी । त्यसैले उनी दाइले भनेअनुसार काठमाडौं आउन तयार भइन् । भन्छिन्, ‘त्यसपछि देश बनाउने जिम्मा छोडिदिएँ र क्यान्टोनमेन्टबाट बाहिर निस्किएँ । तर खेल के हो भन्ने पीएलएबाटै सिकेँ ।’

यो अनुपमा जीवनको अर्को खुड्किला थियो ।

अनुपमा काठमाडौं आएर ठूलीआमाकी छोरीको घरमा बस्न थालिन् । तर के गर्ने ? कसो गर्ने जीवनको उनकै धार थिएन । आमा गुमाएपछि भुत्ते भएकी थिइन् अनुपमा ।

उनले ध्रब गुरुसँग भनिन्, ‘गुरु गेम होइन, मलाई जागिर चाहियो ।’

त्यसपछि अनुपमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा कराँते प्रशिक्षकको जागिरे भइन् । तलब थियो–पाँच हजार रुपैयाँ ।

उनी विहान वालाजु डोजोमा तालिम गर्थिन्, बेलुकी विद्यार्थीलाई सिकाउन पुग्थिन् । अनुपमा भन्छिन्, ‘२५ सय रुपैयाँको कोठा थियो । पाँच हजारले घर खर्च चल्थ्यो । दुई वहिनी र भाइलाई पढाउने जिम्मा दाइले दिनुभएको थियो ।’

आखिर कराँते नै अनुपमाको जिजिविशा बन्यो । अर्को वर्ष तलब बढेर १२ हजार पुग्यो । त्यसपछि बढ्दै गयो । दाइ फर्निचरको काम छाडेर मलेसिया गए । बुवाले अर्की आमा ल्याइसकेका थिए । भाइ बहिनीको सम्पूर्ण जिम्मा अनुपमाको काँधमा आयो ।

र, पनि अनुपमाले कराँते यात्रा छोडिनन् । प्रतिस्पर्धामा भाग लिँदै गइन् । विजयको टीका लगाइरहिन् ।

‘मेरो दिमागमा सेकेण्ड भन्ने नै थिएन । मेरो एउटै उद्देश्य थियो, राष्ट्रिय खेलमा स्वर्ण जित्ने’, स्वर्ण पदको टीका लगाएर हिमालय होटेलको गार्डेनमा बसेकी अनुपमा बोल्दैछिन् ।

अनुपमा छैटौं राष्ट्रिय खेलमा तेस्रो भएकी थिइन् भने सातौंमा दोस्रो । कोरियामा भएको १७ औं एसियन गेममा पहिलो राउण्डमै आउट हुन पुगिन् । १८ औं एसियन गेमको छनौटमा नै परिनन् । ११ औं साफको छनौटमा पनि परिनन् ।

निरन्तर ओरालो लागेकी थिइन् अनुपमा । अनुपमाको विश्वास डगमगाउन थालिसकेको थियो । तर दाइले अनुपमाको विश्वासलाई डगमगाउनबाट रोक्ने प्रयास गर्थे, ‘मेहनत गर न । जितिहाल्छौं नि ! तिमीले स्वर्ण जितेको हेर्ने रहर छ बहिनी !’

उनलाई लाग्यो दाइको सपना पूरा गर्न पनि मेहनत गर्नैपर्छ । उनले कडा मेहनत गरिन् । तर, उनले योजना भने बनाएकी थिइन्, ‘आठौं राष्ट्रिय खेलकुद र सागमा पनि गोल्ड मेडल जितिन भने रोजगारीको लागि विदेश जान्छु ।’

आठौंमा उनले गएर प्रतिस्पर्धीसँग जुध्न थालिन् । सेमिफाइनलमा एपीएफ क्लबकी खेलाडीलाई हराइन् । फाइनलमा आर्मीको रिता कार्की मैनालीलाई । र, अनुपमा राष्ट्रिय च्यापियन बनिन् । स्वर्ण पदकले अनुपमालाई विदेश जानबाट रोक्यो ।

त्यसपछि १३ औं सागको तयारीमा जुटिन् । त्यही क्रममा बंगलादेशमा भएको पाँचौं साउथ एसियन गेमको फाइनलसम्म पुगिन् । तर श्रीलंकन खेलाडीलाई एक स्कोरको अन्तरले हार्न पुगिन् ।

त्यसैले सागमा पनि सुनको तक्मा भिर्छु भन्ने पूर्ण आत्मविश्वास पलाइसकेको थिएन उनमा ।

मेहनत गर्न भने रत्तिभर छोडेकी थिइनन् ।

उनको बलिया प्रतिस्पर्धी थिए पाकिस्तान र श्रीलंका खेलाडी । अनुपमा मज्जाले खुलेकी छिन्, ‘उनीहरु निकै बलिया प्रतिस्पर्धी थिए । फेसबुकमा पोस्ट गर्ने फोटोहरुले पनि मलाई हतोत्साहित पार्थ्यो । त्यसैले मैले ट्रेनिङमा उनीहरुको आइडियाहरुलाई मसिनो गरी अध्ययन गरेँ र त्यहीअनुसार आफूलाई उभ्याए ।’

नभन्दै ६७ केजीभन्दा माथिको समूहमा प्रतिस्पर्धा गरेकी अनुपमाको सेमिफाइनलमा त्यही खेलाडीसँग भेट भयो, जोसँग हालै मात्र एक अंकले हारेकी थिइन् । यो र त्यसपछिका खेल हेर्न दाइ, भाइ बहिनी सबैले खुब रहर गरेका थिए तर उनले भनिदिइन्, ‘तपाईँहरु जान पाउनुहुन्न । टिकट छैन, पास नै पाइँदैन ।’

किन त ?

‘मलाई जित्छु भन्ने पूर्ण विश्वास थिएन । उहाँहरु (जितको) एउटै चाहना लिएर आउनुहुन्छ । हारिहाले भने त नराम्रो हुन्छ नि ! त्यसैले खेल हेर्न लागिनँ’, अनुपमा बोलिन् ।

तर उनले श्रीलंकनलाई सेमिफाइनलमा हराइन् । स्वर्णका लागि भएको फाइनल प्रतिस्पर्धामा पाकिस्तानीलाई ।

जितको घोषणा भइरहँदा उनी सोचिरहेकी थिइन्, ‘धरमराइरहेको जिवनको ठूलो धोको पूरा भयो ।’

यो खुशी पहिला त अनुपमाले गुरुहरुसँग साटिन् ।

त्यसपछि दाइ र बहिनीलाई फोन गरिन्, ‘मैले जितेँ है ।’ दाइ काममा व्यस्त थिए, भाइ स्कुलमा ।

अनुपमा भन्छिन्, ‘बहिनी चाहिँ आइपुगिन् ।’

अहिले भाइ नौ कक्षामा पढ्छन् । एउटी बहिनी स्टाफ नर्स पढिरहेकी छिन् भने अर्की कम्प्युटर साइन्स ।

दिदी अनुपमाले भने ओलम्पिकमा पुग्ने योजना बनाएकी छिन् । भन्छिन्, ‘स्वास्थ्यले साथ दिएसम्म खेलिरहन्छु ।’ तर यसअघिका स्वर्ण बिजेताहरुको जीवन देखेर उनलाई निराश बनाउँछ । २८ वर्षीया अनुपमा भन्छिन्, ‘गोल्ड मेडलिस्ट र दाइ दिदीहरुलाई देख्दा लाग्छ, भोलि हाम्रो जिन्दगी पनि यस्तै हुने त होला नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment