Comments Add Comment

मौकाले सांसद बनेका शाही भन्छन् – पदको दुरुपयोग गर्दिनँ

२० मंसिर, पोखरा । मंसिर ६ गते बागलुङको बुर्तिवाङ बजारमा चुनावी सभा चल्दै थियो । आम सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य वक्ता थिए । जनमोर्चा अध्यक्ष केसीको चुनावीसभालाई सम्बोधन गर्ने पालो आयो ।

जब केसीले मञ्चमा उभिएर बोल्न थाले, नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले मुखामुख गरे । केसीले संघीयता देशले धान्न नसक्ने बताउँदै यो देशका निम्ति नै गलपासो हुने बताए । संघीयताबाटै सिर्जित प्रदेश संसदमा छिराउन नेकपाले जनमोर्चासँग गठबन्धन गरेको छ । त्यही जनमोर्चाले देशलाई संघीयता घाँडो हुने बताइरहँदा अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई असहज लाग्नु स्वभाविकै थियो ।

नेकपाकै शेरमान घर्ती बागी उठेपछिको तरंग सकिन पाएको छैन, त्यसैमाथि गठबन्धन गरेको पार्टीका अध्यक्षले नै संघीयतामाथि नै प्रश्न उठाइरहँदा पनि प्रचण्ड र पौडेलसँग अर्को विकल्प थिएन ।

प्रचण्ड र पौडेलले बोल्ने क्रममा संघीयताको विकल्प नभएको बताए । जनमोर्चाको विचारसँग असहमत रहे पनि उम्मेदवार खिमबिक्रम शाहीलाई भारी मतले विजय गराउन आह्वान गरे । अन्नत २ हजारभन्दा बढी मतान्तरले शाही विजयी भएका थिए ।

उनै शाही संघीयताको विरोध गर्दै–गर्दै त्यही व्यवस्थाले बनाएको संसदको ‘चास्नी’ चाख्न आइपुगेका छन् । बाबुको राजनीतिक बिरासतमा पार्टीमा लागेका शाही मंसिर १४ गते भएको निर्वाचनमा ‘भाग्य’ले सांसद बनेर गण्डकी प्रदेश सभा छिरेका हुन् । शाहीले बिहीबार सपथ लिए । ‘सोचेकै थिइन् सांसद बन्छु भन्ने । बिहीबार सपथ लिएँ । बडो नौलो अनुभव लिइरहेको छु,’ शाहीले प्रतिक्रिया दिए ।

अहिलेको सरकार र संघीयताको विरोध गर्दै संसद छिर्दा केही असहज पो लाग्यो कि ? शाहीले रमाइलो मान्दै उत्तर दिए, ‘पार्टीको नीति नै त्यस्तै छ । संघीयताप्रति बैचारिक असहमति पनि राख्ने र निर्वाचनको प्रक्रियामा पनि भाग लिने ।’

संघीयताको कार्यान्वयनसँगै प्रदेश सभामा प्रतिनिधित्व गरेका सांसद टेकबहादुर घर्तीको मृत्यु भएपछि बागलुङ क्षेत्र नम्बर २ को ‘ख’मा उपनिर्वाचन भएको हो । बागलुङमा नेपाल कम्युनिस्ट पार्टीले जनमोर्चासँग अघिल्लो चुनावमा गरेको सहकार्य यसपटक पनि तोडेको थिएन । त्यसैको जोडबलमा निर्वाचित हुँदै शाही गण्डकी सभा छिरेका हुन् ।

शाहीले सपथ दिएसँगै ६० सदस्यीय गण्डकी प्रदेश सभा पनि पूर्ण भएको छ । प्रदेश सभामा जनमोर्चाका ३ सदस्य छन् । उनीहरु प्रतिपक्षीको रोमा बस्छन् । सरकारको नीति तथा कार्यक्रम र बजेटमा साथ दिन्छन् अरु बेला भने प्रतिपक्षकै भूमिका रहन्छन् ।

संसद पुगेर जनताको आवाज बोल्ने शाहीको भनाइ छ । ‘हिजो जनताको अधिकारको कुरा गरेकै हो । अब पनि जनताका समस्यामाथि नै बोल्ने हो । राम्रो काम गर्नसरकारलाई साथ दिने नै हो,’ शाहीले भने, ‘मौकाले सांसद भइएको छ । पदको सदुपयोग गर्छु, दुरुपयोग गर्दिन ।’

यो उपनिर्वाचनले शाहीको जीवनमा पनि नसोचेको परिवर्तन ल्यायो । शाहीका बुबा कम्युनिष्ट राजनीति गर्थे । उनकै प्रेरणाका कारण उनी जनमोर्चासँग जोडिए र निसिखोला बोहोरा गाउँदेखि गण्डकी प्रदेश सभासम्म आइपुगेका छन् ।

शाही पार्टीको युवा संगठनमा गाविसको नेतृत्व गर्दै बागलुङ उपाध्यक्षसम्म भए । बागलुङको जनमोर्चा सचिवालय सदस्य शाहीले निसिखोला गाउँपालिको अध्यक्षमा उम्मेदवारी दिएका थिए तर जित्न सकेनन् । ०४० सालदेखि राजनीति गरका शाहीले उपनिर्वाचनमा नचिताएको सांसदको टिकट पाए र गाउँपालिकामा हार्दाको दुखमाथि सान्त्वना पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment