Comments Add Comment

नारायण गोपालको सम्झनामा गीत–गंगा भवन बन्ने

२० मंसिर, काठमाडौँ । स्वर सम्राट नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको बिहीबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गरे ।

करीब ६ करोड रुपैयाँ लागतमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू निर्वाचित भएर आएको वर्षदेखि नै स्वर सम्राट नारायणगोपालको सम्झनामा भवन निर्माण गर्ने इच्छा भए पनि प्रक्रियामा अघि बढ्दा केही ढिला भएको भन्दै भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए ।

मेयर शाक्यले भवन निर्माणका लागि जति रकम लागे पनि महानगपालिका सहयोग गर्न तयार रहेको प्रष्ट पारे । ‘जनताले मात्र होइन राज्यले समेत सम्मान गरेको व्यक्तिको सम्झनामा सहयोग गर्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हो,’ मेयर शाक्यले भने, ‘महानगरपालिका श्रष्टाहरुको सम्मानमा कुनै कन्जुस्याई गर्दैन । हामीले स्वर्गीय गायिका तारादेवीको नाममा अक्षयकोष स्थापनाका लागि १० लाख दिने घोषणा गरेका छौँ । त्यो पूरा गरेका छौँ ।’

उनले नारायण गोपालका जन्मस्थान किलागलमा हरेक वर्ष इन्द्रजात्राका बेला देवी नाच गर्ने चलन रहेको भन्दै त्यहाँ पनि भवन निर्माणका लागि एक करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘काठमाडौँ महानगरपालिका कला, संस्कृति र सम्पदा बाउने अभियानमा निरन्तर लागिरहन्छ भन्ने यी उदाहरणहरु हुन्,’ उनले भने, ‘संस्कृति र सम्पदालाई हामी पर्यटनसँग पनि जोडेर अभियान अघि बढाउँछौँ ।’

कार्यक्रममा बोल्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नारायण गोपालको स्मृतिमा भवन बन्ने कुराले आफू उत्साहित भएको बताए । काठमाडौँ महानगरपालिका वडा नम्बर तीन अध्यक्षसमेत रहेको नारायणगोपाल संगीत कोषका महासचिव दिपक केसीले पनि निकै ठूलो प्रयास पछि यो सम्भव भएको भन्दै खुशी व्यक्त गरे ।

यो भवनको पहिलो चरणमा तीन तला सम्पन्न हुने भन्दै केसीले एक तला भूमिगतसहित पाँच तला रहने बताए । ‘पहिलो चरणको काम हामी २०७७ असार १५ भित्रमा सम्पन्न गर्छौ’ उनले भने, ‘यो पूरै सम्पन्न गर्दा करीब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं ।’

प्रस्तावित भवनको भूमिगत तलामा चारओटा गाडीसहित मोटर साइकलको पार्किङ हुनेछ । पहिला तला संगित कक्षा र प्रशासन रहने छ भने दोस्रो तला संगीत कक्षा र पुस्तकालय रहने छ । तेस्रो तलामा करीब ८० जनासम्म कार्यक्रम गर्न मिल्ने संयुक्त थियटर रहने छ । भवन अपाङ्गमैत्री हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment