Comments Add Comment

मन्त्रीको आग्रह-कार्यक्रममा नबोलाउनुस्, काम गर्न दिनुस्

२१ मंसिर, जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् । अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन रमाइलो लागेपनि प्रदेश २ का एक जना मन्त्री भने दिक्क महसुस गरेका छन् ।

‘जहिल्यै पनि उद्घाटन, शिलान्यास, कार्यक्रमकै निम्तोले दिक्क भइसकेको छु’ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, “मन्त्री भएपछि त मन्त्रीको भूमिका निभाउनुपर्नेमा कार्यक्रममै जाँदा जाँदै मन्त्रालयको काम गर्न सकिरहेको छुइनँ ।”

मन्त्री भनेको आफ्नो मन्त्रालयको कामलाई चुस्त, दुरुत तरिकाले अगाडि बढाउनुपर्ने, योजनाहरुको कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्नेमा लगातार कार्यक्रममा जाँदा यस्ता कामहरु गर्न नसकिरहेको बताउँछन् । ‘मन्त्रालयमा समय दिए पो त काम अगाडि बढ्छ’ उनी भन्छन्, “मन्त्रालयमा बसेर कर्मचारीसँग सरसल्लाह गर्दै उनीहरुलाई आवश्यक निर्देशन नदिएसम्म काम हुँदै, हुँदैन् ।”

आफू धेरै पटक कार्यक्रम आयोजकहरुलाई यस्तो कुरा बताउँदा पनि बोलाउन नछाडेको उनको अनुभव छ । ‘आयोजकले नै समय निर्धारण गर्छ र सोही समयमा बोलाउँछ’ उनी भन्छन्, “कम्तीमा आफूलाई बोलाएपछि समय त आफ्नो दिनुपर्‍यो, त्यो पनि दिदैंन् ।”

‘जहिल्यै पनि कार्यक्रममा सहभागी हुन १५ वटासम्म फोन आउने गरेको बताउँदै उनले कार्यक्रममा गए दिनभर लगाइदिने गरेको गुनासो गरे । ‘कार्यक्रम छोटो बनाए त ठीकै हुन्थ्यो, तर नाचगान, गीतदेखि पुरकार, प्रमाण पत्र, सम्मान पत्र बितरण गर्दागर्दै दिनभर लगाउने गरिन्छ’ उनी भन्छन्, “कार्यक्रममै गएर थाक्ने अवस्था अहिलेसम्म आएको छ ।”

मन्त्री गएर मात्र कार्यक्रम सफल नहुने बताउँदै मन्त्री साह भन्छन्, “मन्त्रीको काम शिलान्यास र उद्घाटन मात्र नभई योजनाहरु बनाउने र कार्यान्वयन गराउने मुख्य काम पनि भएको सबैलाई बुझिदिनुपर्‍यो ।”

कार्यक्रमहरुमा नबोलाउन उनी सबैसँग हात जोडेरै आग्रह गर्छन् । ‘केहि दिन त काम गर्न दिनुस्’ उनी भन्छन्, “चालू आर्थिक बर्षमा महत्वपूर्ण कामहरु गर्नुछ । जुन कार्यक्रमहरुमा गएर गर्न सकिन्न ।”

‘म कार्यक्रममा नजाँदा केहि व्यक्ति रिसाउँलान्, तर काम गरेर देखाएपछि प्रदेशका जनताले खुशी व्यक्त गर्छन’ उनले भने, “अब केहि महिना कार्यक्रममा पट्क्कै जान्नँ । कार्यक्रममै आउनका निम्ति फोन नगरिदिएर सहयोग गरिदिन सबैसँग अनुरोध गर्दछु ।”

साँच्चिकै कृषि प्रदेश बनाउँछु

कार्यक्रममै बढी समय दिनुपर्दा सोंचे अनुसारको काम गर्न नसकेको बताउँछन् उनी । ‘दिनभरी कार्यक्रममा हुन्छु, काम कतिखेर गर्ने ?’ कार्यक्रममा जाँदा र फिर्ता आउँदा नै थकान लाग्ने गरेका कारण योजना बनाएर पनि कार्यान्वयन गर्न सकिरहेको छुइनँ ।”

आफूले कृषि, कृषक र युवालाई विदेश जानबाट रोक्न बिभिन्न किसिमका राम्रा योजनाहरु ल्याएपनि कार्यान्वयन गर्न नसकिरहेको उनको अनुभव छ । कार्यान्वयन गर्नका लागि समय चाहिएको र समय जति कार्यक्रममै दिनुपर्दा काम हुन नसकिरहेको बताउँछन् उनी ।

हालै मात्र आफूसहित मन्त्रालयका सचिव, संसदीय समितिका पदाधिकारीहरु मिलेर कृषि सम्बन्धी कामहरुको अवलोकन गरेको बताउँदै मन्त्री साहले अवलोकनबाट धेरै कुरा सिकेको बताए ।

प्रदेश २ को कृषि मन्त्रालयको टिमले प्रदेश २ को झापा र मोरंग जिल्लामा गरिएका बिभिन्न गतिविधीहरुको स्थलगत अवलोकन गरेका छन् । एकीकृत खेती, सहकारीबाट बनेको उद्यमशिलता, महिलाहरुको सकृयताले अगाडि बढेको मौरीपालन, च्याऊ खेतीजस्ता राम्रा कृषि अभ्यासहरुको आफूहरुले स्थलगत अवलोकन गरेको बताउँदै मन्त्री साहले ती कुराहरुलाई प्रदेश २ मा पनि लागू गराउन आफूलाई समय चाहिएको बताए ।

युवाहरुलाई विदेश जानबाट रोक्न बिना ब्याजको ऋण दिएर कृषि कर्ममा लगाउन, आठै जिल्लामा शित भण्डार (कोल्ड स्टोर) निर्माण शुरु गर्न, प्रत्येक स्थानीय तहमा चिस्यान केन्द्र स्थापना गर्ने, प्रदेशको पूर्वी क्षेत्र सप्तरी, मध्य क्षेत्र धनुषा र पश्चिमी क्षेत्र पर्सामा एक/एक वटा आर्गेनिक मलको कारखाना संचालन गर्ने योजना बनाएपनि यी योजनाहरुलाई अगाडि बढाउन समय दिनैपर्ने उनको भनाई छ ।

यसबाहेक नीति तथा कार्यक्रममा उल्लेख गरिएका कार्यक्रम तथा बजेट छुट्टयाइएका कार्यक्रम संचालनका लागि पनि आफूसहित मन्त्रालयका कर्मचारीले काम नगरे केहि हुन नसक्ने उनको भनाई छ । आफूले योजना कार्यान्वयनकै लागि मन्त्रालयबाट सम्पूर्ण कामको अख्तियारी दिइसकेको बताए । ‘अख्तियारी दिँदैमा पनि काम समयमा नहुने, भएपनि अधुरै रहने, कतिपय सवालमा बदमासी हुनेजस्ता गतिविधिमा निगरानी राख्न पनि आफूलाई समय दिनैपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment