Comments Add Comment

महिला क्रिकेट प्रशिक्षक भन्छन् : एक्स्पोजर पाए पो सुधार आउँछ

२२ मंसिर, पोखरा । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला क्रिकेट टोलीले स्वर्ण पदकको लक्ष्य लिएको थियो ।

क्रिकेटको शक्तिराष्ट्र मानिने भारत र पाकिस्तान अनुपस्थित रहने भएकाले नेपालले स्वर्णको आशा राख्नु अस्वभाविक पनि थिएन । तर, नेपालले अन्ततः कास्यपदकमा चित्त बुझाउनु परेको छ । टेस्ट मान्यताप्राप्त अन्य दुई राष्ट्र बंगलादेश र श्रीलंकालाई नेपालले बलियो चुनौति दिन सकेन । माल्दिभ्स र भुटानजस्ता कमजोर राष्ट्रले नेपाललाई चुनौती दिन सकेनन् ।

माल्दिभ्स विरुद्धको खेलमा अञ्जली चन्दले बनाएको विश्व कीर्तिमान र १० विकेटको जित नै महिला क्रिकेटको ‘हाई प्वाइन्ट’ रह्यो । ब्याटिङमा फेरि पनि नेपाल फितलो सावित भएको छ ।

आफ्नै घरेलु मैदानमा टेस्ट राष्ट्रलाई हराएर स्वर्णको मौका गुमाउँदा प्रशिक्षक जगत टमाटा केही निराश छन् । यद्यपि, महिला क्रिकेटको भविष्यप्रति उनी आशावादी छन् । टमटासँग अनलाइनखबरकर्मी विकास रोकामगरले गरेको कुराकानी :

श्रीलंकासँग हारसँगै नेपाल फाइनलमा पुग्नबाट वञ्चित भयो । यो खेलमा नेपाली टिमको प्रदर्शनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

हार्न त हार्‍यौं, त्यो स्वीकार्नै पर्छ । तर, श्रीलंका अनुभवी देश हो । उसैलाई कम स्कोरमा प्याक गर्ने हाम्रो योजना थियो । त्यही योजनामुताबिक फस्ट इनिङमा राम्रो गरेका हौं । हो, फिल्डिङमा हाम्रो केही कमजोरी भयो । २/३ वटा क्याच छुटायौं । सायद त्यो क्याच लिन सकेको भए खेलको सिचुएसन नै अर्कै हुन्थ्यो ।

ब्याटिङमा पनि केही गर्छौं भन्ने सोचेका थियौं । ६ ओभरमै २/३ विकेट गएपछि केही दबाबमा रह्यौं । तर, केही खेलाडीले राम्रो खेले । जस्तै रुविना, अप्सरी, कविताले पनि राम्रो ब्याटिङ गरे । मैले भन्नुपर्दा चाहिँ खेल हारेको एक्स्पोजरको कमी भएर हो ।

३ वर्षसम्म हाम्रो क्रिकेट एसोसिएसन निलम्बित रह्यो । भर्खरै फुकुवा भएको छ । बल्ल नेपाली महिला खेलाडीले यति ठूलो इभेन्ट खेल्ने मौका पाएका छन् । त्यो पनि टेस्ट राष्ट्रसँग । यो हाम्रोलागि एउटा राम्रो अनुभव हो ।

टेष्ट राष्ट्रसमक्ष हामी कहाँ छौं भन्ने ‘टेष्ट’ गर्ने एउटा मौका पनि थियो । तर, सजिलै हार व्यहोर्नुपर्दा कत्तिको निराश हुनुहुन्छ ?

हामीसँग अझै टाइम छ । अहिलेदेखि नै हामीले अभ्यास/तयारी थाल्यौं भने अर्कोपटक केही हुन्छ । हुन त अहिले करिब ४ महिना क्याम्पमा बस्न पाएका छौं । त्यसले खेलाडीमा राम्रो सुधार भएको छ । फिटनेसदेखि, बलिङ र ब्याटिङसम्म परिवर्तन भएको छ ।

अबको जिम्मेवारी भनेको चाहिँ क्रिकेट संघको नै हो । उसले खेलाडीलाई एक्स्पोजरको लागि छुट्टै योजना बनाउनु पर्छ । कम्तिमा महिनाको एउटा खेल बाहिर खेलाउन सक्यो भने पनि धेरै हुन्छ । तब पो हामीमा सुधार आउँछ ।

क्रिकेटलाई माथि उठाउन राज्यको तर्फबाट चाहिँ के गर्नुपर्ने देख्नुहुन्छ ?

होइन, राज्यले त गरेकै छ नि ! थ्याङ्क्स टु गभर्मेन्ट । विशेषगरी यो लास्ट ३/४ वर्षदेखि क्रिकेटमा राज्यले लगानी गरेको मान्नै पर्छ । ग्राउन्डदेखि हरेक कुरामा सुधार भइसकेको छ ।

उनीहरुको खेल हेरिसकेपछि १२० भित्र प्याक गर्न सक्छौं भनेरै प्लानिङ गरेका हौं । सफल पनि भयौं । ब्याटिङमा हामी चुक्यौं, स्वीकार्छौं । तर, त्यसको कारण एक्स्पोजरको कमी नै हो

अब कुरा भनेको क्रिकेट संघको हो । सरकारको आफ्नै ठाउँमा छ, तर संघ आइसकेपछि उसको पनि जिम्मेवारी देखिनुपर्छ । स्कुल, कलेज, यु-१९ सबैमा खेलाडी खोज्नुपर्छ । सिनियरदेखि जुनियरसम्मका खेलाडीको विकास गर्न छुट्टै कार्यक्रम बनाउनुपर्छ ।

यु-१९ लाई अहिलेदेखि नै प्रवर्द्धन गर्दै गयो भने उनीहरुले पनि पछि राम्रो नतिजा दिन सक्छन् । सिनियरलाई एक्स्पोजर चाहिन्छ नै । तब मात्रै हामी बलियो हुन्छौं । त्यसका लागि प्रोग्राम क्यालेन्डरचाहिँ बनाउनैपर्छ ।

सागका लागि अभ्यास कस्तो भएको थियो ?

तयारी त राम्रो भएको हो । पहिलो पटक खेलाडीहरु आफ्नो जीवनकै लामो क्याम्प बसेका छन् । उनीहरुले धेरै त्यागेका छन्, यसैका लागि  । कोही विवाहित पनि छन्, तर उनीहरुले सबै त्यागेर केबल क्रिकेट सोचे ।

उसो त हामीले कहिल्यै सोचेका थिएनौं कि यति लामो क्याम्पमा बस्न पाउँछौं भनेर । जहिल्यै १०/१५ दिन क्याम्प बसेर क्रिकेट खेल्न जान्थ्यौं । तर, यसरी ४ महिना क्याम्पमा बसेर यहाँसम्म ल्याउनु धेरै राम्रो कुरा हो ।

बंगलादेश र श्रीलंकालाई छोडेर यदि सागमा भारत र पाकिस्तान सहभागी भइदिएको भए त नेपालले कास्य पनि नपाउने थियो होइन ?

म सधैं भन्दै आइरहेको छु- यो क्रिकेट हो के ! एउटा गेम हो । टेस्ट राष्ट्रलाई ११८ मा प्याक गर्न सक्छौं भनेर कहिले सोचेका थियौं र ? भयो त, होइन ?

हामीले एउटा टार्गेट बनाएका थियौं खेलका लागि । उनीहरुको खेल हेरिसकेपछि १२० भित्र प्याक गर्न सक्छौं भनेरै प्लानिङ गरेका हौं । सफल पनि भयौं । ब्याटिङमा हामी चुक्यौं, स्वीकार्छौं । तर, त्यसको कारण एक्स्पोजरको कमी नै हो । यो पनि हामी ४ महिना क्याम्पमा बसेर निकालेको रिजल्ट हो ।

आगामी दिनमा पनि इन्डिया, पाकिस्तानसँग एक्सपोजरका लागि संघले केही सोच्नैपर्छ । हाम्रो नजिकका राष्ट्र नै क्रिकेटमा राम्रा छन् । उनीहरुसँग बढीभन्दा बढी खेल्न पायौं भने हामी छिट्टै माथि उठ्छौं । अहिले पनि हामीसँग धेरै सम्भावना भएका खेलाडी छन् ।

इमान्दार भएर आफैंलाई समीक्षा गर्नुपर्‍यो भने नि ?

इमान्दार भएरै भन्छु- खेलाडीले धेरै मिहिनेत गरेका छन् । २००७/०८ देखि क्रिकेटमा लागेका केटीहरु छन् । आजको मितिसम्म के पाए त उनीहरुले ? केही पाएको देख्नु भएको छ ? तब पनि उनीहरु निरन्तर देशका लागि खेलिरहेका छन् ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment