+

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

२०८२ मंसिर  ११ गते १५:०८ २०८२ मंसिर ११ गते १५:०८

लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ ।

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

११ मंसिर, काठमाडौं । विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ  ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ । उता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ ।

सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजति ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए ।

क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै दिलिप नाथले ३१ रन जोडे । ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३-३ तथा हेम्नत धामीले २ विकेट लिए ।

एनपीएल लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय