Comments Add Comment

मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु संकास्पद

२२ मंसिर, विराटनगर । आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु संकास्पद देखिएको छ । काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार जग्गा बिक्रीका लागि भन्दै विराटनगर आएका थिए ।

शनिबार साँझ चिनजानका राधेश्याम दराकको घरमा खाना खाएर विराटनगर– २ स्थित घरमा आएका दाहाल आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका थिए  ।

आधा जलेको शरीरमा चोट पटक देखिएका कारण दुर्घटना नभइ हत्या भएको हुनसक्ने भएकाले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनका अनुसार आधा जलेको अवस्थामा भेटिएका वृद्धको घाँटीमा चोट छ ।

घटना स्थल नजिकै चक्कु पनि भेटिएको छ । आइतबार बिहान ग्यास लिक भएर आगलागी भएको हुनसक्ने बताएपनि घटनाको प्रकृति संकास्पद रहेकाले अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

दाहाल सुतेको ओछ्यान नजिकै ग्यासको सिलिण्डर लिक भएर आगो लागेको अवस्थामा भेटिएको थियो । तर चुल्हो भने अर्कै कोठामा थियो । हत्या गरी ग्यास लिक गराएको हुनसक्ने प्रहरीले बताएको छ ।

करिब २० वर्षयता काठमाडौं बसोबास गर्दै आएका दाहाल कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्री गर्ने भन्दै आएका थिए । पूर्व पत्रकार समेत रहेका उनले घरको रेखदेख गर्ने जिम्मा दिएका राधेश्याम दराकलाई दिएका थिए । शनिबार साँझ दराककै घरमा खाना खाएर बेलुका घर आएका थिए ।

यो पनि पढ्नुहोस ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

तर आइतबार बिहान राधेश्यामले नै बोलाउँदा दाहाल नउठेपछि छिमेकीलाई बोलाएर ताला फुटाएर हेर्दा विभत्स अवस्थमा शव भेटिएको थियो । उनी सुतेको खाट जलेको अवस्थामा थियो भने उनी भुँईमा लडेका थिए । हत्याको आशंकामा प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो ।

घाँटी काटेको अवस्थामा शव भेटिएका कारण अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । दुर्घटना नभई हत्या भएको हुनसक्ने भएकाले अनुसन्धान अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment