Comments Add Comment

स्वर्ण जित्न नसकेकोमा सधैं पछुतो लागिरहनेछ !

२४ मंसिर, पोखरा । साग सुरु हुनुभन्दा अघि उनले एउटा सपना बुनिन्, ‘१३ औं सागमा नेपाललाई स्वर्ण पदक दिलाउँछु र राष्ट्रिय टिमको कप्तानीबाट सन्यास लिन्छु ।’

त्यही सपनाअनुसार आफू र सिंगो टिमलाई तयार पारिन् । ३० वर्षीय फुटबलर निरु थापाको कप्तानीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्‍यो । नेपाली टिम फाइनलमा पुग्नु एउटा नयाँ इतिहास रच्ने मौकामात्रै थिएन, उनी आफ्नो सपनाको नजिक पुग्नु पनि थियो । फाइनलमा पुरानै तर, बलियो प्रतिद्वन्द्वी भारतसँग सामना गर्नु पनि चानचुने कुरा थिएन । तर, थापा स्वर्ण पदक सपनाबाट पछि हटेकी थिइनन् । उनलाई पूरा विश्वास थियो, ‘हिरो महिला गोल्डकपमा भारतलाई उसकै भूमिमा त हरायौं । अहिले त झन् आफ्नै घरेलु मैदान र आफ्नै समर्थक । कस्सो नजितिएला र ?’

तर फाइनलमा उनले सोचेको जस्तो भएन । २–० को गोलअन्तर निकाल्दै भारतले सागमा अविजित इतिहास दोहाेर्‍यायाे । नेपाल इतिहास रच्नबाट चुक्यो । हारसँगै निरुले भनिन्, ‘आजकै दिनबाट म राष्ट्रिय टिमबाट सन्यास घोषणा गर्दछु ।’

त्यतिबेला उनी आँखाभरि आँशु झरिरहेका थिए । रोक्ने प्रयास असफल भइरहेको थियो । निरुको आँखामा आँशु देखेर आफूलाई पनि रोक्न सकेनन् । उनीहरु पनि आँखाभरि आँशु पुछ्दै निरुलाई अंकमाल गर्दै ढाड थप्थपाइरहेका थिए ।

उनलाई धेरैले सोधे, ‘यो सन्यास पूर्व योजना हो कि हारको पीडा सहन नसकेर ?’ आँखाको आँशु लुकाउँदै उत्तर दिन्छिन्, ‘सन्यास लिने योजना पहिलेदेखि नै हो । तर मेरो कप्तानीमा साग सोचेजस्तो भएन । क्लबबाट चाहिँ खेल्छु है फेरि !’

०००

स्वर्ण सपना बोकेर सागमा होमिएकी थापालाई हार स्वीकार गर्न सजिलो भएन । फिफा वरियतामा १००औं स्थानमा रहेको नेपालले ५८ औं स्थानमा रहेको भारतलाई दबाबमा राखेर खेल्न र हराउन पनि सजिलो थिएन ।

जब रेफ्रीले खेल सकिएको जनाउ दिँदै अन्तिम सिठ्ठी बजाए, निरु अन्यौलमा परिन् । ‘नेपाललाई उपाधी जिताएर सन्यास लिने ठूलो सपना थियो,’ थापा भन्छिन्, ‘हारेपछि एकछिन त के गरौं कसो गरौं भयो । तर योजना बनाइसकेको हुनाले घोषणा गरें ।’ नेपाललाई आफ्नो कप्तानीमा कुनै पनि ठूलो उपाधी दिलाउन नसकेकोमा सधैं पछुतो भइरहने उनले सुनाइन् ।

यद्यपि पछिल्लो सयम नेपाली महिला फुटबलरमा उल्लेख्य सुधार आएको थापाको दाबी छ । भन्छिन्, ‘पहिले भारतसँग खेल्दा पूरै डोमिनेट भएर खेल्नुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । खेलाडीहरुमा धेरै सुधार आइसकेको छ ।’

०००

पहिलो पटक फुटबल छुँदा निरुलाई थाहा थिएन कि यो केटीहरुले पनि खेल्छन् । तर जब कसैबाट ‘केटी पनि खेल्छन्, केटीहरुको पनि प्रतियोगिता हुन्छ’ भन्ने सुनिन्, उनले राष्ट्रिय टिमबाट देशका लागि खेलेको सपना देख्न थालिन् ।

‘सानैबाट देशका लागि केही गरौं भन्ने लागिरहन्थ्यो । फुटबलबाट पनि देशको लागि केही गर्न सकिन्छ भन्ने थाहा पाएपछि झनै खेलकुदमा दत्तचित्त भएर लागें,’ उनी सुनाउँछिन्, ‘त्यसमा म केही कमजोरीसहित सफल पनि भएँ ।’

सन् २०१० बाट नेपाली राष्ट्रिय महिला टिममा समावेश भएकी उनले गत वर्षबाट कप्तानको भूमिका पनि निभाइन् । गतवर्ष मैत्रीपूर्ण खेलका लागि चीन गएका बेला पूर्वकप्तान अनु लामा घाइते भएपछि उनले कप्तानीको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला रेनुका नगरकोटी र थापा मध्ये कसलाई कप्तान बनाउने भन्ने थियो । तर उनी सिनियर भएकाले अवसर पाइन् ।

१३औं सागमा रजत पदकमा चित्त बुझाउनु परेसँगै सन्यास लिएकी उनले अझै केही समय भने क्लब फुटबल खेल्ने बताएकी छन् । विभागीय टिम नेपाल प्रहरीमा आवद्ध उनी केही वर्षपछि प्रशिक्षण पेशामा लाग्ने योजना रहेको सुनाइन् ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment