Comments Add Comment

एप्पलले ल्याउँदैछ अहिलेसम्मकै सस्तो आइफोन

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो । त्यसअघि एप्पलले सामान्यतया हरेक अघिल्लो मोडेल नम्बरमा एक अंक थप गर्दै नयाँ मोडलको आइफोन बजारमा ल्याउने गरेको थियो । सोही अनुसार आइफोन एट पछि आइफोन नाइनको पालो थियो । तर एप्पलले आइफोन ८ पछि उसले एकैचोटी आइफोन एक्स लञ्च गर्‍यो ।

यसको अर्थ बजारमा आइफोन नाइन नामको कुनै पनि आइफोन उपलब्ध छैन । तर निकट भविष्यमै यो कमी हट्ने भएको छ । अर्थात् एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ ।

समाचार अनुसार एप्पलले अहिलेसम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउँदैछ र त्यसको नाम ‘आइफोन नाइन’ हुने बताइएको छ ।

एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम ‘आइफोन एस ई टु’ हुने बताइएको थियो । तर पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको हो ।

समाचार अनुसार नयाँ डिभाइसको डिजाइन चाहिँ आइफोन एटको जस्तै हुनेछ । यद्यपि यसको आन्तरिक डिजाइन चाहिँ आइफोन ११ सिरिजबाट प्रभावित हुने बताइएको छ ।

प्रविधिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसीडी डिस्प्ले हुनेछ । जसमा टच आईडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ ।

समाचार अनुसार यो आइफोनमा ३.५ एमएमको हेडफोन ज्याक हुने छैन ।

सस्तो मूल्यमा एप्पलको सबैभन्दा पछिल्लो सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागेको बताइएको छ ।

समाचार अनुसार आइफोन नाइनमा ए-१३ बायोनिक चिप रहनेछ जुन एप्पलको आइफोन ११ मा रहेको छ । साथै आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आईओएस १३ हुनेछ ।  यो आइफोनमा ३ जिबीको र्‍याम र ६४ वा १२८ जिबीको इन्टरनल मेमोरी उपलब्ध हुने बताइएको छ ।

एप्पलले सन् २०२० को पहिलो त्रैमासिकभित्र नै आइफोन नाइन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने बताइएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment