Comments Add Comment

म्याथ्यु डंकान, जसले १३ औं सागमा जिते ७ स्वर्ण

२५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मंगलबार सकिएको छ । नेपालले कूल ५१ स्वर्ण जित्दै लक्ष्य पूरा गर्दा पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितिन् । नेपालको लागि यो कीर्तिमान हो । धेरैले नेपाल र गौरिकाको स्वर्णलाई मात्र ध्यान दिए ।

तर १३ औं सागमै श्रीलंकन एक पौडीबाज एक्लैले ७ स्वर्ण जिते । धेरैले उनको स्वर्णबारे जानकारी नै पाएनन् ।

१३औं सागको पौडी डिसेम्वर ५ देखि ९ सम्म सातदोबाटोस्थित स्विमिङ पुलमा भएको थियो । जसमा भारतले ३६ मध्ये सर्वाधिक २७ स्वर्ण जित्यो । श्रीलंकाले ७ र बाँकी ४ नेपालले जिते । नेपालका लागि ४ वटै स्वर्ण गौरिकाले जित्दा श्रीलंकाका लागि ७ वटै स्वर्ण म्याथ्यु डंकान अभएसिंगेले जिते ।

पहिलो दिन डंकानले २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई र ४०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण जितेका थिए । रिलेमा उनलाई अरु ३ खेलाडीले साथ दिए ।

यस्तै दोस्रो दिन ५० मिटर फ्रिस्टायलमा स्वर्ण जिते । अन्तिम दिन अर्थात साग समापनको अघिल्लो दिन उनले ३ स्वर्ण थपे । अन्तिम दिन उनले १०० मिटर फ्रिस्टायल, २०० मिटर इन्डिभिजुएल मिडले र ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका हुन् ।

म्याथ्यु डंकानले सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि ७ स्वर्ण जितेका थिए ।

सन् १९९६ मा जन्मिएका म्याथ्यु डंकानले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पकिमा पनि खेलेका थिए । उनले ९ वटा इभेन्टमा श्रीलंकाको राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सन् २०१४ को युथ ओलम्पिकमा पनि उनले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment