Comments Add Comment

नेपालीले अमेरिका र अष्ट्रेलियामा मात्र अवसर देखे : गभर्नर नेपाल

६ मंसिर, बुटवल । गभर्नर डा. चिरन्जीवी नेपालले नेपालीहरुले भारतले गरेको नाकाबन्दीबाट अझै पाठ सिक्न नसकेको बताएका छन् ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको घोषणा गर्न आयोजित कार्यक्रममा उनले नेपालीहरुले मलेसिया, दुबई, अमेरिका र अष्ट्रेलियामा मात्रै अवसर देख्ने गरेकोप्रति चिन्ता व्यक्त गरे ।

‘नेपाली युवाहरुले मलेसिया, दुबई, अमेरिका र युरोपमा मात्रै अवसर देख्ने गरेका छन्’ उनले भने, ‘नेपालले जस्तै नाकाबन्दी भोगेको कतारमा डेढ वर्षमै देशलाई आत्मनिर्भर बनाइसक्यो तर नेपालले चार वर्ष बित्दा पनि पाठ सिक्न सकेन ।’

नाकाबन्दीका बेला हामी स्वाधीन र आत्मनिर्भर हुन्छौं भनेर नाराबाजी गर्ने नेपालीहरुले चार वर्ष नपुग्दै नाकाबन्दीको पीडा बिर्सेर पुरानै अवस्थामा पुगेको उनले बताए । ‘नाकाबन्दीपछि हामीले के कुरा आयात गर्नु नपर्ने भयौं भन्न सक्छौं त ?’– गभर्नर नेपालले भने ‘उद्यम गर्नेलाई ऋण दिन बैंकहरु गाउँ गाउँमा पुगिसकेका छन् तर हामी अझै पनि विदेशमा मात्रै अवसर देख्न छाडेका छैनौं ।’

गभर्नर नेपालले बैंकबाट कर्जा लिएर उद्यमशील बन्न सुझाव दिए । उनले युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न बैंक तथा वित्तीय संस्थाहरुले पनि रोजगारमूलक अवसर सिर्जना हुने गरी लगानी बढाउन सुझाव दिए ।

गभर्नर नेपालले रुपन्देहीको तिलोत्तमामा भएको लगानी सम्मेलनले समेत प्रदेश ५ मा लगानीका प्रशस्त संभावना खोलेको भन्दै उनले कृषि, पर्यटन र सेवा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले राष्ट्रिय स्तरको विकास बैंकमा स्तारोन्नति संगै थप जिम्मेवार भई गुणस्तरीय र विश्वसनीय सेवा दिने प्रतिवद्धता जनाए ।

पत्रकारिता पुरस्कारका लागि तीन लाखको अक्षयकोष 

सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई अर्को वर्षदेखि हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्न तीन लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई रकम प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेलाई बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ चेक हस्तान्तरण गरे । तीन लाखको अक्षयकोषको व्याजबाट हरेक वर्ष एक जना पत्रकारले कम्तीमा २५ हजार रुपैयाँको नगद पुरस्कार पाउनेछन् ।

यस्तै बैंकले मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिव्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ ।

बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment