Comments Add Comment

‘समानताको लडाइँ होइन अभियान भनौं’

२७ मंसिर, पोखरा । ‘समानताको विषयमा लडाइँ मलाई मन पर्दैन । लडाइँमा त मान्छे मर्छ होइन र’ , चन्द्र भद्रा भन्छिन् ।

पोखरामा शुक्रबारदेखि सुरु भएको ८ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलको दोस्रो सेसनको नाम दिइएको थियो, समानताको लडाइँ । पत्रकार अमित ढकालले सहजीकरण गरेको सेसनमा चन्द्र भद्रा, भारती सिलवाल गिरी र बिन्दा पाण्डेले महिला पुरुषबारे समानताको विषयमा बहस गरे ।

भारतीले समानताको विषयमा ‘लडाइँ’ माथि नै विमति राखिन् । ‘समानताको लडाइँमा जहिल्यै महिलाको शरीरमाथि लडिन्छ । यो हाम्रै नेपालका धेरै गृहयुद्धमा पनि प्रयोग भएको छ,’ उनले भनिन्, ‘त्यसबाट पीडित नारीहरु अझै न्याय पाउनुभएको छैन । तर, पीडकहरु खुलेआम हिँडिरहेका छन् । त्यसैले लैंगिक समानताका लागि लडाइँ होइन अभियान भनौं ।’

त्यसपछि ढकाल भारतीतर्फ फर्किए । भारती ३५ वर्ष अगाडिदेखि सक्रिय महिला पत्रकार हुन् । उनलाई ढकालले पत्रकारितामा महिलाको सहभागिताबारे तत्कालीन अवस्थाबारे सोधे । जवाफमा भारतीले भनिन्, ‘त्यो अवस्था एकदमै नाजुक थियो । महिला पत्रकार थिए । तर, हातमा गन्न सकिने । प्रिन्ट लाइनमा त झन् नगन्य ।’ उनले तत्कालीन समयमा पत्रकारितामा सक्रिय रहिरहन धेरै संघर्ष गर्नुपरेको बताइन् ।

भारतीले ‘डिसिजन मेकिङ’मा महिला पुग्न नसकेको सुनाइन् । उनले भनिन्, ‘पत्रकारिता सुरु गर्दा न्यूज रुमका हाकिम पनि पुरुष नै हुनुहुन्थ्यो । त्यतिबेला पञ्चायत व्यवस्था अत्यन्तै शक्तिशाली हुन्थ्यो,’ उनले भनिन्, ‘त्यतिबेला हामी कतिबेला चाकरी गर्ने, कतिखेर हामीले उनीहरुलाई भेट्ने र कतिबेला हामी डिसिजन मेकिङ पोस्टमा पुग्ने ?’ तर, पनि आफूले त्यतिबेला रेडियो नेपालले अंग्रेजी भाषामा समाचार भनेर ठूलै अवसर दिएको उनको बताइन् ।

पत्रकार ढकालले नेतृ बिन्दा पाण्डेलाई राजनीतिको सुरुआती चरणमा भागेका विभेद र असमानताबारे सोधे । उनले आफूले राजनीतिक आन्दोलनको सुरुआत गर्दा विभेद/समानता नभोगेको तर, पछि नेतृत्व तहमा पुग्दा भने असमानता भोग्नुपरेको अनुभव सुनाइन् । ‘४६ सालपछि जब आन्दोलन सफल भयो । त्यसपछिको संविधान जारी गर्ने कुरा भयो । तर, महिला र अंशको कुरा आउँदा मान्न तयार नभएको सुनाइन् ।

‘बाहिरबाट सिकेको असमानता हामी सजिलै परिवर्तन गर्न सकौंला । तर, घरबाटै असमानता सिकाइन्छ । त्यसलाई तोड्न के गर्नुपर्ला ?’ ढकालले भद्रालाई प्रश्न राखे ।
भद्राले सहज उत्तर दिइन्, ‘उखानै छ नि ! छोरा पाए बोक्सी’ उनले पनि समानता घरबाटै भइरहेकोले स्कुलबाटै लैंगिक समानतको विषयमा घरबाटै शिक्षा दिन जरुरी रहेको बताइन् । अर्का वक्ता भारतीले नेपालमात्रै नभई हाल विश्वभरि नै लैंगिक समानताको विषयमा मुद्धाहरु उठाउन थालिएको सुनाइन् ।

भद्राले लंगिक समानता लिंगसँगमात्रै नभइ समाजको विकास, समृद्धिका लागि पनि जरुरी रहेको सुनाइन् । जब सहजकर्ता ढकालले प्रश्न गरे, आखिर किन चाहिने रहेछ त समानता ?’ वक्ता भारती सिलवाल गिरीले उत्तर दिइन्, ‘किशोरीप्रतिको जुन हिंसा अहिले बढिरहेको छ । त्यसलाई रोक्न पनि समानता जरुरी छ ।’ उनले पितृसत्तात्मक समाजलाई रोक्न पनि समानता जरुरी रहेको मत राखिन् ।

नेतृ बिन्दा पाण्डेले महिलालाई पनि मानवकै दर्जा दिन समानता आवश्यक रहेको तर्क राखिन् । उनले भनिन्, ‘मानवीय समाजलाई मर्यादित र सम्मानित बनाउनका लागि आवश्यक छ । समाजको एउटा पाटोमात्रै मर्यादित भएर समाज चल्दैन । त्यसकारण समानता हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment