Comments Add Comment

वाल्मीकि र होमर : रामायण र इलियटमा समानता

२८ मंसिर, काठमाडौं । पश्चिमी साहित्यकार होमरले लेखेका इलियट र ओडिसी हुन् या वाल्मीकिकृत रामायण र व्यासको महाभारत, यी आदिकाव्यहरुमा वर्णन गरिएका कथावस्तु मिल्दाजुल्दा देखिन्छन् ।

साहित्यिक विशिष्ठता र ओझपूर्ण अभिव्यक्तिका कारण यी रचनाहरु विश्वमा अहिलेसम्म चर्चित छन् । श्रुति परम्पराअनुसार धेरै समयसम्म चलेका यी साहित्य एकैजनाले लेखे कि धेरै साहित्यकारले लेखे भन्ने पनि यकीन छैन ।

रामायणमा रामको राज्यारोहणसम्म मात्रै वाल्मीकिले लेखेको र बाँकी कथाहरु पछिका कविले थपेको चर्चा छ । यद्यपि महाभारत र होमरको इलियट एवं ओडिसीमा भने यो पनि निश्चित छैन ।

इलियड र रामायणको कथावस्तुमा देखिएका समानता

ग्रीसको महाकाव्य इलियडमा ट्रोयका राजा प्रियामका छोरा पेरिसले स्पार्टाका राजा मेनेलासकी पत्नी हेलेनलाई उनका पतिको अनुपस्थितिमा अपहरण गरेको घटना पाइन्छ । रामायणमा लंकाका राजा रावणले रामकी पत्नी सीतालाई उनका पतिको अभावमा अपहरण गरेको घटना छ ।

रामायणमा सीतालाई पुनः प्राप्त गर्नका लागि राम र उनका भाइ लक्ष्मणले बाँदरहरूको सम्पूर्ण सेना जम्मा गरेर लंकाबिरुद्ध युद्ध आरम्भ गरेका थिए । इलियडमा पनि मेनेलाउस र उनका भाइ अगामेमोनले हेलेनलाई पुनः प्राप्त गर्न र ट्रोय बिरुद्ध युद्ध गर्न सबै युनानी राजाहरूका सेना भेला गरेका थिए ।

इलियडको युद्धको अन्त्यमा ट्रोय शहर दहन भएको र हेलेन घर फर्किएको कथा पाइन्छ । उही समयमा रामायणमा लंका दहन रहेको र रावणलाई पराजित गरी अन्तमा सीता घर फर्किएको कथा पाइन्छ । यी दुई युद्धमा दुबै पक्षका धेरै मानिसहरू मारिएका छन् ।

रामायण युद्ध मुख्यतया समुद्रको तटमा लडिएको थियो र बाँदर सेनाले श्रीलंकासम्म पुग्न ठूलो कठिनाइहरूको सामना गर्नु परेको पाइन्छ । ट्रोजन युद्ध पनि समुद्री तटमा भएको थियो ।

ग्रीकहरूलाई ट्रोयसम्म पुग्न त्यस्तै गाह्रो भएको उल्लेख पाइन्छ । इलियडमा नायक अकिलिस हुन् भने रामायणमा नायक राम हुन् । यी दुबै नायकहरूले आफूलाई युद्धको अन्तिम चरणमा प्रमाणित गर्छन् र आˆनो प्रतिभा प्रदर्शन गर्छन् । तर, दुवैलाई महाकाव्यको सुरूमा कुशल योद्धाका रूपमा वर्णन गरिएको छ ।

इसाको छैठौंदेखि आठौं शताब्दीको बीचमा विकास भएको मानिने पूर्वका दुई साहित्य र पश्चिमका दुई साहित्यले विश्वमा साहित्यको नयाँ पाठ सिकाए । त्यही कालखण्डको घटनालाई समेटेर विश्वले चारवटा मुख्य साहित्य पायो । यद्यपि चारवटै साहित्यको समयबारे विवाद अझै जारी छ ।

यही समयका तीन महाकाव्यकार नै अहिलेसम्म पनि आदर्श पात्रका रुपमा साहित्यमा छन् । न कुनै सिद्धान्त, न कुनै बन्देज । स्वच्छन्त रुपमा उडान भरेर लेखिएका यिनै साहित्यबाट नै धेरैले रसको उत्पत्ति गराए । कसैले अलंकारको खोजी गरेर चर्चित भए । कसैले कथाबस्तु र पात्रको चरित्र चित्रण गरेर नाम कमाए । यिनै साहित्यहरुको एउटा खण्डले धेरैलाई चर्चित बनाउँदै लग्यो र विस्तारै त्यसैको पदचापहरु पछ्याउँदै साहित्यकारहरु हिँडिरहे । त्यही क्रम अहिलेसम्म चलिरहेको छ ।

इसापूर्व आठौं शताब्दीतिर होमरको महाकाव्यमा यात्रा र युद्धको विषयवस्तुले ठाउँ पायो । उनी नै महाकाव्यका परिकल्पनाकार थिए । उनैले पश्चिमी पूराकथामा हेलेनलाई विश्वसुन्दरीका रुपमा स्थापित गराउने प्रयास गरे । उनको प्रयास सफल भयो । उनकी तिनै सपनाकी राजकुमारी धेरै पाश्चात्य साहित्यमा विश्वसुन्दरीका रुपमा चर्चामा आइरहिन् । तिनै सुन्दरीलाई समुद्र तार्ने आवश्यकताले गर्दा ट्रोजन युद्ध हुन्छ । त्यही युद्धले जन्मिन्छ ‘इलियट’ र ‘ओडिसी’ ।

महाकाव्यमा चलेको संघर्षको सवालसँगै इलियटले गति लिँदै जान्छ । नारीको सुन्दरताको वर्णन, सौर्य र वीरता, युद्ध र विजयको कुरा र नायकको अभ्युदायसँगै महाकाव्यको अन्त्य हुन्छ ।

ओडिसीमा भने एकातर्फ प्रणय र सौर्य साहस छ भने अर्काेतिर दुखान्त कथाको प्रसंग पाइन्छ । यही दुई विषयको संयोजनले मिलेको इलियट र ओडिसीकै आडमा धेरै साहित्यको रचना भए । यसैको हाँगाको रुपमा धेरै कथा रचिन थाले ।

गेटेले होमरको यही नाटकीकरणको कलाबाट महाकाव्यलाई नाटकीय बनाउने कला सिके । होमरकै पदचापलाई केही परिस्कृत गरेर भर्जिलले आफ्नोपनमा महाकाव्य लेखे । यसरी सारा पश्चिमी साहित्यमा होमर फैलिए ।

अर्काेतर्फ, रामायण र महाभारत पनि महाकाव्यको पदचापमा पूर्वीय साहित्यकारहरुको यात्रा अझैसम्म पनि जारी छ । दैवी, मानवीय, अर्धमानवीय, वीरगाथा, प्रेमगाथा, ऋषि गाथाको संयोजनमा रचिएको रामायण र त्यसैको समकालीन मानिने महाभारत स्वतस्फूर्त अभिव्यक्तिको आदर्श बन्यो ।

परिस्कार र परिमार्जनको खास आग्रह नगरी जीवनको एउटा व्यापक विस्तृत परिप्रेक्षलाई व्यक्त गरेको छ । महाभारतमा आख्यान र चिन्तनको मात्रा बढी छ । रामायणमा निम्नतम परिस्कारको स्पर्श जोडिएको छ । आख्यान र कवित्वको कुशल संयोजन जोडिएको छ । जति रामायणमा कवित्वको कुशल संयोजन गरिएको छ, त्योभन्दा धेरै महाभारतमा कुशल कवित्वको संयोजन देख्न पाइँदैन ।

अहिले साहित्यमा धेरै सिद्धान्तहरुको विकास भएको छ । रस, अलंकार, बिम्ब, प्रतिक जस्ता सैद्धान्तिक परिधिभित्र बाँधिएको छ आजको साहित्य । त्यही रस, अलंकार र प्रतीकको त्रासका कारण पनि धेरै साहित्य उँट जस्तो बन्ने गरेको पाइन्छ ।

साहित्य र साहित्यकारहरुले पुराना लेखकको पदचाप पछ्याएको भए पनि उनीहरुको जस्तो स्वतन्त्र ढंगले अलंकार, रस, बिम्ब र प्रतीकहरु जोडेर एउटा सुन्दर रचनाको विकास गर्न भने साहित्यकारहरु सफल भएको पाइँदैन । रामायण र महाभारतकै तुलना गर्ने हो भने पनि यी दुई साहित्यमध्ये महाभारत समेत रामायणको जस्तो ओझिलो बन्न सकेको छैन ।

ईसापूर्वको आठौं शताब्दी पहिले रचना भएका यी ग्रन्थमा रहेका सैद्धान्तिक पक्षलाई केलाउने काम भने त्यसको १२०० वर्षपछि मात्रै सुरु भएको पाइन्छ । तिनै वाल्मीकिको रामायण र व्यासको महाभारतकै पदचाप पछ्याउने कविहरु ईसाको छैटौं शताब्दीदेखि सुरु भएका थिए । ईसाको छैटौं शताब्दीका भामहले तिनै आदिकाव्यहरुको सहयोगमा आफ्नो साहित्य लेखे ।

भामह अलंकारवादी कवि हुन् । उनको प्रसिद्ध ग्रन्थ नै ‘काव्यालंकार’ हो । उनको विचारमा अलंकार नै काव्यको आत्मा हो । भामहले महाभारत र रामायण जस्ता ग्रन्थहरुलाई लक्ष्यग्रन्थ बनाएर अघि बढेको उनको बुझाइ देखिन्छ ।

त्यस्तै, सातौं शताब्दीका दण्डीको महाकाव्यमा कथाबस्तु, नायक, रस, चतुर्वर्ग, प्राकृतिक अलंकार छन्द योजना र सर्गवद्धताको आवश्यकता बताएका छन् । उनले नै रस र भाषाशैलीको पनि महत्व बढाए । उनी पछि आठौं शताब्दीका रुद्रट, चौधौं शताब्दीका विश्वनाथ आदिले यसको विकास गराउँलै लगे । तिनै वाल्मीकि र व्यासको पदचापमा अहिलेसम्मको महाकाव्यहरु चलेको देखिन्छ । त्यतिबेलाका महाकाव्यहरुको तुलनामा अहिलेका महाकाव्यहरु धेरै परिस्कृत भएको पाइन्छ । तर, त्यतिबेलाका महाकाव्यहरुको जस्तो ओझिला कथाबस्तुहरु भने अहिले पाउन गाह्रो हुने गरेको छ ।

पाश्चात्यतर्फ पनि होमरको पदचापमा हिँड्ने साहित्यकारहरु धेरै रहेको पाइन्छ ।  लुकानले होमरबाटै नाटकत्वको शैली सिके । होमरको साहित्य लोकजीवनको एक अंग बन्दै गयो । विश्वले त्यसैबाट धेरै कुरा सिक्दै गए । ग्रीस सभ्यता, बेबिलोन सभ्यता, मिश्र सभ्यता, प्यालेस्टाइन सभ्यतासम्मका साहित्यले तिनै होमरका साहित्यको पदचाप पछ्याउँदै गए ।

अरु सभ्यताका महाकाव्यहरुले केवल निश्चित भूगोललाई आफ्नो प्रभाव क्षेत्र बनाउन सके । तर, होमरका दुई महाकाव्य र पूर्वीय साहित्यको रुपमा रहेका महाभारत र रामायणहरुले विश्वभरि नै आफ्नो उडानको रफ्तारलाई विकास गराए ।

होमरमा कुनै पनि कथावस्तुलाई नाटकीकरण गर्ने शैली थियो । उनको महाकाव्यमा सम्पूर्ण घटनाक्रमहरुले आफैं प्रस्फुटित हुने मौका पाएका छन् । उनको यही नाटकीकरणको शैलीलाई गेटेले आफ्नो साहित्यमा भित्र्याए । बिम्ब र भावनामा नै कथा लुकाउन सक्ने शक्ति होमरमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment