Comments Add Comment

धरान र भरतपुरको हार विशेष धक्का

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिकाको वडामा व्यहोरेको पराजयले झस्काएको देखिन्छ ।

आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुते राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तह मध्ये धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ ।’

धरानको मेयरमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि १४ मंसिरमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ६०९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेकपाबाट उठेका प्रकाश राईले २३ हजार ९१४ मत पाए । जबकी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका सुब्बाले २० हजार ९७५ र माओवादी केन्द्रका अइन्द्रविक्रम वेघाले ११ हजार १८० मत ल्याएका थिए । त्यतिबेला कांग्रेस उम्मेदवार तिलक राईको जम्मा १६ हजार १०२ मत थियो ।

भरतपुर महानगरपालिका १६ को वडाध्यक्षमा कांग्रेसका अमृतराज हमाल तीन हजार १८३ मत ल्याएर निर्वाचित हुँदा नेकपाका भक्तराज हमालले दुई हजार ८७५ मत पाएका थिए । २०७४ को निर्वाचनमा साविक एमाले र माओवादीले ३ हजार १२१ मत पाएको थियो । एमालेका चतुरमान गुरुङ दुई हजार १३२ मतसहित विजयी भएका थिए । माओवादी केन्द्रका कृष्णप्रसाद पुडासैनीले ९८९ मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की–२ मा भएको उपनिर्वाचन परिणामलाई भने नेकपाले सकारात्मक रुपमा लिएको छ । ११ पृष्ठको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘कास्की–२ मा हाम्रो पार्टीका उम्मेदवार पहिले जस्तै भारी मत विजयी भएको उत्साहप्रद स्थिति छ ।’

‘भक्तपुरमा राप्रपाले हरायो’

उपनिर्वाचन भएका तीन प्रदेशसभा सदस्य मध्ये भक्तपुर–१ (क) मा काग्रेसका कृष्णलाल भँडेलले १३ हजार ४४९ मत सहित विजयी भए । २०७४ को प्रदेशसभा निर्वाचनमा काँग्रेसले ९ हजार ९७७ मत पाएको थियो । उपनिर्वाचनमा नेकपाका डीपी ढकालले ११ हजार २०६ मत पाए । अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार हरिहरण लामिछाने १२ हजार ७८९ मत सहित निर्वाचित भएका थिए । माओवादी केन्द्रले ७८४ मत ल्याएको थियो ।

तर यसपटक राप्रपाको भोटकै कारण कांग्रेसले जितेको नेकपाको निश्कर्षमा छ । अध्यक्षद्वयको प्रतिवेदनमा भनिएको छ, ‘ठोस रुपमा हेर्दा भक्तपुर–१ (क) मा नेपाली कांग्रेस र राप्रपा बीचको गठबन्धनले विजयका लागि निर्णायक भूमिका खेलेको देखिन्छ ।’

राप्रपाले दुई वटा निर्वाचनमा पाएको भोट हेर्दा भने यो तर्क तथ्यसंगत देखिँदैन । राप्रपाले २०७४ को निर्वाचनमा ४८५ मत पाएको थियो । जबकी उसले यसपटक ५७४ मत ल्याएको छ ।

उपनिर्वाचन उत्साहप्रद रहेन

उपनिर्वाचन भएका ५२ स्थान मध्ये साविक एमाले र माओवादी केन्द्रका २७ जनप्रतिनिधि थिए । उपनिर्वाचनमा नेकपाले ३२ स्थानमा जित हासिल गर्‍यो । पाँच स्थान बढी जिते पनि पार्टी एकिकरण भएअनुसार परिणाम नदेखिएको नेकपाले बताएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्नुपर्ने थियो, आमरुपमा यो परिणाम पार्टीका लागि उत्साहप्रद विल्कूल रहेन ।’

पार्टी एकतामा भएको ढिलाईका कारण लामो समय पार्टी कमिटी विहिन रहनु, संस्थागत रुपले जनपरिचालनको अभाव हुनुले निर्वाचनको परिणाम नकारात्मक असर परेको नेकपाको विश्लेषण छ । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रतिवेदनमा ‘यो परिणामलाई पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भिर शिक्षाको रुपमा लिन जरुरी छ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment