Comments Add Comment
सिन्धुपाल्चोक दुर्घटना :

श्रीमानको मृत्यु, २ वर्षे छोरीसँँगै गंगा अस्पतालमा

२९ मंसिर, काठमाडौं । भक्तपुरको जगातीस्थित आदर्श टोलका ४० जना शनिबार दुई वटा गाडी रिजर्भ गरेर दोलखाको कालिन्चोक मन्दिर दर्शन गर्न गएका थिए ।

मन्दीर दर्शन गरेर फर्किने क्रममा उनीहरु बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भयो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । सडकको अवस्था र यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुर्घटनामा घाइतेहरुको बयानले पनि यही देखाउँछ ।

ह्याम्स अस्पतालमा उपचाररत धनकाजी गुरुङ भन्छन्, ‘चालकले स्टेरिङमा गह्रौ भयो भन्दै थियो, त्यतिकै चलाइरह्यो । मोडमा आएपछि रोकिएको गाडी हेर्दाहेर्दै तल खस्यो ।’

गाडी भिरबाट तल झर्न थालेपछि चालक झ्यालबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले पनि ओलारोमा भिरतिर च्यापेर गाडी कुदाएको देखिएको बताए । ‘कालोपत्रे भए पनि टर्निङमा भत्किएर खाल्डो बनेको थियो’, प्रहरी उपरीक्षक (एसपी) महर्जनले भने, ‘बाटोबाट तल ठूलो ड्याम छ । त्यतातिरबाट गाडी लगेको जस्तो देखिन्छ ।’

दुर्घटनामा पर्नुअघि आरालोमा बसको गति पनि बढी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

श्रीमानको मृत्यु, आमा र बच्चा अस्पतालमा

दुर्घटनामा परेको बसमा शुकबहादुर तामाङ, उनीकी श्रीमती गंगा र दुई वर्षकी छोरी पनि थिइन् । शुकबहादुरको निधन भयो, गंगाको टाउको चोट लागेको छ । छोरी आष्मा भने सकुशल छिन् ।

आइतबार अपराह्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुग्दा आमा एकोहोरो रोइरहेकी थिइन् । उनलाई नर्सले फकाउने कोसिस गरेपनि सकिरहेका थिइनन् ।

श्रीमान गुमाउँदाको पीडा र आफूलाई लागेको चोटको दोहोरो पीडामा रहेकी गंगा विक्षिप्त छिन् ।

दुर्घटना हुनुअघि आमाछोरी बसको पछाडितिर थिए । करिब ५ सय मिटर तल खसेपछि हुत्तिएर अगाडितिर पुगे । अगाडि बसेका श्रीमानलाई उनले देख्न समेत पाइनन् ।

‘श्रीमान गाडीको अगाडि पट्टी बस्नुभएको थियो, मैले भेट्न पाइन । वित्यो भन्छन्’, उनले भनिन् ।

शोकमा जुगल गाउँ

दुर्घटनामा परेको बसका यात्रुहरु भक्तपुरबाट गएको भएपनि धेरैको स्थायी बसोबास सिन्धुपाल्चोक र दोलखा पाइएको छ ।

दुर्घटनामा मत्यु भएका मध्ये २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का हुन् । यस्तै लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment