Comments Add Comment

पेट्रोलियम पाइपलाइनमाथि डोजर ! धन्न ठूलो दुर्घटना भएन

२७ मंसिर, काठमाडौं । नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमाथि डोजर चलेको छ । डोजरले पाइपलाइनमा क्षति पुर्‍याए पनि गम्भीर दुर्घटना भने भएन ।

गत बुधबार वीरगन्ज बाइपास रोड अन्तर्गत गण्डक चोकमा करिब डेढ मिटर पाइपमा डोजरले क्षति पुर्‍याएको नेपाल आयल निगम प्रदेश २ डीपो प्रमुख प्रदीप यादवले बताए ।

यादवका अनुसार वीरगञ्ज बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको हो । डोजरको दाँतले कोतरेको पाइपलाइन तत्काल फेर्नुपर्ने अवस्थामा भने नरहेको उनको भनाइ छ ।

जानाजान पाइपलाइनमा डोजर चलाइएको आरोप लगाउँदै यादवले भने, ‘एउटा ठूलो दुर्घटनाबाट विरगन्ज जोगिएको छ, तर यो गम्भीर हेलचेक्र्याइँ हो ।’

किन चलाइयो डोजर ?

पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ । पाइपलाइन सुरक्षाको लागि बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्छ भने केही स‌वेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरीटीको गार्डले चौबिसै घण्टा रेखदेख गर्ने अमलेखगन्ज डीपो प्रमुख यादवले बताए ।

आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन जमिनको सतहभन्दा डेढ मिटर गहिराइमा छ । पाइप भन्दामाथि १५ सेन्टिमिटर बाक्लो बालुवा बिच्छ्याइएको छ भने बालुवामाथि एक फिट चौडाई र पुरै पाइपलाइन बराबर लम्बाईको वार्निङ टेप राखिएको छ । टेपको माथि माटोको सतह छ । यसका अलावा पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड लगाइको छ ।

जमिन खोतल्न वा खन्नपूर्व पाइपलाइन रहेको बोर्ड नजिकै देखिन्छ । नदेखेर खन्दै गए पहिलो लेयरमा वार्निङ टेप दखिन्छ जसले भित्र पाइपलाइन रहेको संकेत गर्छ । त्योभन्दा पनि तल गए बालुवा भेटिन्छ । तर यो सबैका बाबजुद कसरी पाइपलाइनमा डोजरले कोतर्न पुग्यो भनेर निगमका कर्मचारी अचम्भित छन् ।

ठूलो दुर्घटना टर्‍यो

वीरगन्जको तुलनामा मोतिहारी र अमलेखगन्ज उचाईमा पर्छ । उच्च स्थानबाट बगेको तेल वीरगन्जको भिरालोमा आएर पुनः उकालो चढेर अमलेखगन्ज आउने यादव बताउँछन् । पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल मोतिहारीदेखि अम्लेखगन्जसम्म डीपोमा आइरहेको हुन्छ ।

डोजरकै कारण पाइपलाइन फुटेको वा टुटेको भए मोतिहारीमा पाइपको भल्ब बन्द गर्दा पनि पाइपलाइनमा भएको सबै तेल वीरगन्जमा ‘बिस्फोट’ हुने खतरा थियो ।

‘पाइप फुटेको भए विरगन्जमा लाखौँ लिटर तेल पोखिन्थ्यो र वीरगञ्ज ठूलो भवितव्यमा फस्न सक्ने थियो,’ डीपो प्रमुख यादवले भने ।

कारबाही गर्न कानून छैन

नेपालमा पेट्रोलियम पाइपलाइन नयाँ प्रयोग हो । भर्खरै मात्र सञ्चालनमा आएका कारण यससम्वन्धि विविध विषयका कानून बनाउनै बाँकी रहेको आयल निगमले जनाएको छ । कानून अभावकै कारण बुधबार विरगन्जमा पाइपलाइनमा डोजर चलाउनेलाई सम्झाएर मात्रै छोड्नु परेको अमलेखगञ्ज डीपो प्रमुख प्रदीप यादवले बताए ।

‘कारबाही गर्ने कानून नभएकाले हप्काएर मात्रै छोडियो, त्यस क्षेत्रमा काम गर्न अब रोक लगाएका छौँं,’ यादवले भने । यस घटनाले कानून निर्माणमा चाँडो आफूहरु लागि परेको यादवले बताए ।

नेपाल-भारत पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनबाट भदौ २४ गतेबाट डिजेल ढुवानी सुरु भएको थियो । भारतको मेतीहारीस्थित बरौनी डीपोबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल नेपाल आयल निगमको अम्लेखगञ्ज डीपोले पाइपमार्फत लिन सक्ने गरी पाइपलाइन सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment