Comments Add Comment

बुटवलमा पुस २ गतेदेखि अन्तर मावि कालिका रनिङशिल्ड प्रतियोगिता हुने

३० मंसिर, बुटवल । सामुदायिक विद्यालयको एकल प्रयासमा बुटवलमा पहिलोपटक अन्तर मावि कालिका रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । बुटवलस्थित कालिका मानव ज्ञान माविले आगामी पुस २ गतेदेखि ७ गतेसम्म रनिङ शिल्ड सञ्चालन गर्ने भएको हो ।

प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ भलिबल, कबड्डी र  एथलेटिक्सका १४ वटा इभेन्ट्समा १४ वटा स्वर्ण, १४ रजत र १४ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् ।

विद्यालयका खेल संयोजक हरिबहादुर ओलीका अनुसार प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका सामुदायिक र निजी गरी ४० विद्यालयका १२ सय खेलाडीले भाग लिने छन् । एथलेटिक्स ट्रयाकतर्फ छात्राको ८ सय, १५ सय र ५ हजार मिटर  तथा छात्रको ८ सय,१५ सय र ३ हजार मिटरको दौड र एथलेटिक्सकै फिल्डतर्फ सर्टपुट र लङजम्प प्रतियोगिता पनि हुने खेल संयोजक ओलीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने विद्यालयले २० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक इभेन्टमा बेस्ट प्लेयर पुरस्कार समेत रहने छ ।

२१ औँ शताब्दीका विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने र भविष्यका खेलाडी उत्पादन हुने आधार थलो विद्यालय भएकाले यस वर्षदेखि अन्तर मावि रनिङ शिल्ड आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । पाठकका अनुसार एउटा विद्यालयको पहलमा उपमहानगरपालिका स्तरीय रनिङ शिल्ड आयोजना गर्ने विद्यालय कालिका मानव ज्ञान पहिलो हो । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विद्यालयस्तरबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनु खेल क्षेत्रको विकाशमा कोशेढुंगा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment