Comments Add Comment

धनुषामा बमको हल्ला, भेटिए फोहोरका दुई थैला

विप्लव समूहले हल्ला फैलाएको प्रहरीको शंका

३० मंसिर, जनकपुरधाम । धनुषा जिल्ला आइतबार रातिदेखि सोमबार साँझसम्म त्रसित रह्यो । पछिल्लो शुक्रवार राति भएको बम विष्फोटमा परी तीन जनाको मृत्यु भएपछि शोक र त्रास एकैसाथ भोगेका धनुषावासीलाई सोमवार पनि त्राससँगै बिताउनु पर्‍यो ।

त्रासमा रहनुपर्ने कारण हो, जताततै बम भेटिएको हल्ला । यसअघिका दुई घटनाले बम भेटिएको हल्ला पत्याउन स्थानीय बाध्य थिए ।

यसअघि महेन्द्रनगरमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु भयो । उक्त घट्नापछि आइतवार राति ९ बजेतिर जनकपुरधाम-९ स्थित संकटमोचन मन्दिर नजिकै बम भेटियो । उक्त कुकर बम सोमवार बिहान ११ बजे मात्रै नेपाली सेनाले निष्कृय पारेको थियो ।

नेपाली सेनाको टोली बम निष्कृय पार्न खटिएकै बेला अर्काे हल्ला आयो-बाह्रबिघा मैदान नजिकै अर्काे बम भेटियो । झोलामा राखिएको शंकास्पद बस्तु बम नै हुन सक्ने भन्दै प्रहरीले त्यस क्षेत्रमा सुरक्षा बढायो ।

एक ठाउँमा फेला परेको बम निष्कृय नपार्दै अर्काे ठाउँमा भेटिएको सूचना आएपछि सर्वसधारण त्रसित बने । तर संकटमोचन मन्दिर छेउको बम निष्कृय पारेर बाह्र बिघा छेउमा पुगेको नेपाली सेनाको टोलीले त्यहाँ फोहोर राखिएको झोला फेला पार्‍यो ।

यो घट्ना सेलाउन नपाउँदै धनुषाकै धनुषाधाम नगरपालिका-५ स्थित मावि पर्वतामा बम राखिएको हल्ला फैलियो । विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बम राखिएको हल्ला फैलिएपछि सबै बालबालिकालाई निकालेर विद्यालय खाली गराइयो ।

यद्यपि यस ठाउँमा नेपाली सेनाको टोली पुग्दा प्लास्टिकभित्र फोहोर राखेको पाइएको धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले विद्यालयमा फोहोर राखेर बम भएको हल्ला फैलाइएको बताए ।

बम राखिएको हल्ला यतिमै सिमित रहेन् । मिल्स एरिया नजिकैको एक बस्तीमा नम्बर प्लेट नभएको एउटा वेवारिसे मोटरसाइकल फेला पर्‍यो । उक्त मोटरसाइकलभित्र बम राखिएका हुन सक्ने आशंका गर्दै स्थानीयहरुले प्रहरीलाई खबर गरे । प्रहरी आएर उक्त मोटरसाइकल लगेपछि स्थानीयहरुको त्रासमा कमी आएको छ ।

यसअघि गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्ऽनगरमा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटमा पिता-पुत्रसहित तीन जनाको मृत्यु र चार जना घइते भएका थिए ।

विष्फोटमा ४६ वर्षीय राजेश्वर साह र उनका १५ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ ।

विष्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

साहका १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह र ७० वर्षीया बुवा भिखारी साह घाइते भएका छन् । उक्त घट्नामा प्रहरी जवान राजनाथ महतो घाइते भएका छन् ।

घाइते मध्ये भिखारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ भने बाँकी सबैलाई थप उपचारका लागि धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

विप्लव समूहको आशंका

जताततै बमको हल्ला फैलाउनमा विप्लव समूहको संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ । महेन्द्रनगरमा भएको बम विष्फोटमा संलग्न भएको भन्दै प्रहरीले झण्डै एक दर्जन व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकांश विप्लव नेतृत्वकै नेकपा कार्यकर्ता छन् । आफ्ना कार्यकर्ताको पक्राउको बिरोधमा विप्लव समूहले नै बमको हल्ला फैलाएको आशंका गरिएको छ ।

अर्काेतर्फ आगामी पुस ३ गते एनसेलले जनकपुरधामको बाह्रबिघामा मेलाको आयोजना गर्दैछ । विप्लव समूहको निशानामा रहेको एनसेललाई कार्यक्रम गर्न नदिन डराउने हिसाबले पनि विप्लव समूहले बमको हल्ला फैलाएको हुन सक्ने आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment