Comments Add Comment

नेपाली फुटबलको स्तर अझै माथि उठेन : सन्तोष साहुखल

३० मंसिर, काठमाडौं । सन्तोष साहुखल नेपाली राष्ट्रिय टिमको पूर्वफरवार्ड हुन् । करियरको उच्च फर्ममा रहँदा उनले चर्चित क्लबह थ्री स्टार र मनाङ मर्स्याङ्दीबाट शहीद स्मारक ए डिभिजन लिग खेले । केही समय एपीएफबाट पनि खेले ।

बीचमा नेपाली फुटबलमा नियमित लिग हुन छाड्यो । सन्तोष पनि भविष्य सुनिश्चित गर्न जापान हान्निए । ४ वर्षपछि गत वर्षबाट ए डिभिजन लिग शुरु हुँदा सन्तोष नेपाल फर्किए अनि च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेल्न थाले ।

राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको च्याससले विमल घर्ती मगर देवेन्द्र तामाङलगायत खेलाडीलाई भित्र्याउँदै लिगको उपाधि दाबेदारी पेश गरेको थियो । तर च्यासलको प्रदर्शन सोचेजस्तो हुन सकेन । सन्तोषले पनि धेरै खेल खेल्न पाएनन् ।

यस सिजन फेरि सन्तोष च्यासलबाटै ए डिभिजन लिग खेल्न जापानबाट नेपाल आएका छन् । गत वर्ष खेलाडीमात्रै रहेका सन्तोष यस पटक च्यासलको कप्तानको भुमिकामा छन् । उनलै दुई गोलको मद्दतमा सोमबार च्यासलले साविक उपविजेता संकटा क्लबलाई २-० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ ।

संकटाका प्रशिक्षक विजय महर्जनले पनि सन्तोषले यो उमेरमा पनि आफूलाई फिट राख्दै उत्कृष्ट प्रदर्शन गरेको बताए । सन्तोषले भने नेपाली फुटबलको स्तर अझै माथि उठ्न नसकेको बताए । उनले आफ्नो पनि प्रदर्शन खस्किएको स्वीकार गरे ।

उनले नेपाली फुटबलको स्तर माथि पुग्न नसक्नुमा नियमित लिग हुन नसक्नु पनि रहेको बताए । ‘लिग टाइममा हुँदैन खेलाडीले पनि आफूलाई मेन्टेन गर्दैनन् । म पनि पहिला त्यस्तै थिएँ । जापान गएपछि धेरै कुरा सिकेँ’ उनले भने ।

आफूलाई फिट राख्न खाने कुरादेखि नियमित ट्रेनिङमा ध्यान दिएको सन्तोषले सुनाए । सन्तोषले यस पटक पनि लिगकै लागि समय मिलाएर आएको बताए । यदि लिग तालिकामा केही फेरबदल भएमा भने पूरै लिग खेल्न नसक्ने उनले सुनाए ।

सन्तोषका दाइ तथा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले पनि सन्तोषको प्रदर्शनबाट खुशी रहेको बताए । ‘सन्तोषले राम्रो प्रदर्शन गरे । आजको खेलमा पनि दुई गोल गरे । म एकदमै खुशी छु’ बालगोपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment