Comments Add Comment

नेकपामा मातृकाले राखे प्रचण्डपथ ब्यूँताउने प्रस्ताव

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव आएको छ । स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राखेका हुन् ।

स्थायी कमिटीको बुधबार बसेको बैठकमा यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्न अरु नेताले भने अनौठो मानेका थिए ।

यादवले क्रान्तिका लागि विचारमा स्पष्टता र विकास गनुपर्ने र त्यसक्रममा नै १० वर्षे जनयुद्धकालमा मुख्य नेतृत्वकर्ताको नामबाट प्रचण्डपथ विकास विकसित गरेको बताए । त्यसकै जगमा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलन चलेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उनले भने, ‘आत्मकेन्द्रित व्यक्तिवादले मात्र आफू पनि विचारको विकास गर्न सक्दैन र अरुले गरेको विकासलाई पनि स्वीकार गर्दैन ।’

पार्टी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै उनले मुख्य नेतृत्वकर्ताको उदारवादी कमजोरीका कारण पनि क्रान्तिलाई गति दिन विकसित गरिएको विचार छाडिएको बताए । उनले भने, ‘त्यही कारण क्रान्तिको बाटो पहिल्याउन गाह्रो भएको छ ।’

मार्क्स, हेगेल, लेनिनका उदाहरण दिँदै उनले कम्युनिस्ट आन्दोलनका क्रममा विकसित भएका विचारहरुलाई ब्यापक छलफल गरेर विकास गर्नुपर्नेमा जोड दिए । ‘प्रचण्डपथ छाड्यौं, त्यसपछि माओवादी छाड्यौं र यस्तै गर्दै गयौं भने कुनै दिन मार्क्सवाद लेनिनवाद पनि छाड्न सक्छौं,’ नेता यादवले बैठकमा भने, ‘बहुसंख्यक जनता कम्युनिस्ट छन् र हामीले आफूलाई कम्युनिस्ट भनेका छौं । नभए हामी कम्युनिस्ट पनि होइनौं भन्न बेर छैन ।’

तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसबेलाको माओवादी र एमालेबीच एकता भएर नेकपा बनेको छ र बैचारिक बहसलाई एकता महाधिवेशबाट हल गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment