Comments Add Comment

अर्थतन्त्रको घामछाया : व्यापारघाटा सुधार, मुल्यवृद्धि उच्च

२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिकमा मुलुकको अर्थतन्त्रमा घाम र छाया एकसाथ देखिएको छ । अर्थतन्त्रका केही सूचकहरु उत्साहजनक छन् भने केही निराशाजनक पनि छन् ।

नेपाल राष्ट्र बैंकले साउनदेखि कात्तिकसम्मको ४ महिनाको तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार चार महिनामा व्यापार घाटामा सुधार देखिएको छ । तर, मूल्य वृद्धि बढेको छ भने मुलुकको अर्थतन्त्रको एउटा खम्बा मानिने रेमिट्यान्स घटेको छ ।

विगत केहि महिनादेखि घट्दै आएको व्यापारघाटा चौथो महिनामा पनि घटेको छ । नेपालबाट निर्यात हुने वस्तु तथा सेवाको मात्रा थोरै भए पनि बढेको छ भने आयात उल्लेख्य घटेको छ । सबैभन्दा ठूलो टाउको दुखाईको रुपमा रहेको व्यापारघाटा कम आयात घट्नु निकै राम्रो हो । यद्यपि, आयात घट्दा सरकारले लिएको राजश्वको लक्ष्य भेट्टाउन भने मुश्किल पर्न सक्छ ।

धेरै मूल्यवृद्धि उपत्यकामा

चालु आर्थिक वर्षको चौथो महिनामा मुद्रास्फिति बढेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो ।

अहिले खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्यवृद्धि केही बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकाको देखिएको छ । चौथो महिनासम्म काठमाडौं उपत्यकामा ६.५० प्रतिशतले मूल्यवृद्धि भएको छ । यसैगरी तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति थियो ।

घट्दै व्यापार घाटा

राष्ट्र बैंकले नेपालको व्यापारघाटा घट्दै गएको बताएको छ । निर्यात बढेको र आयातको परिमाणमा कमी आएका कारण व्यापारघाटा सुधार भएको हो ।

राष्ट्र बैंकका अनुसार चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत बढेको छ । अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम आयल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यस अवधिमा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

रेमिट्यान्समा निरन्तर गिरावट

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो महिनाबाट शुरु भएको रेमिट्यान्समा गिरावट आउने क्रम चौथो महिना आइपुग्दासम्म निरन्तर देखिएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म .३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको तेस्रो महिनासम्म २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो । यो पनि गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो महिनाको तुलनामा ४.९ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले गिरावट आएर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो ।

विदेशी विनिमय सञ्चिति सुधार

यस अवधिमा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ । राष्ट्र बैंकका अनुसार चार महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१.८ प्रतिशत, ७२.५ प्रतिशत र २९.९ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

२०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले वृद्धि भई २०७६ कात्तिक मसान्तमा रु. ११ खर्ब ३ अर्ब १२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु.९ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु. १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा रु. १ खर्ब ४४ अर्ब ९५ करोड पुगेको छ । २०७६ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

सेयर बजार ओरालो

अर्थतन्त्रको ऐना मानिने पुँजी बजार लगातार ओरालो लागेको छ । चालु आर्थिक वर्षको चार महिनामा नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको छ ।

राष्ट्र बैंकका अनुसार १२०५ विन्दुमा रहेको नेप्से सूचकांक २०७६ कात्तिक मसान्तमा ११३६ विन्दु कायम भएको हो । २०७६ असार मसान्तमा यस्तो सूचकांक १२५९ रहेको थियो ।

धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १.३ प्रतिशतले घटी २०७६ कात्तिक मसान्तमा रु. १४ खर्ब ४१ अर्ब ३१ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ कात्तिक मसान्तमा २१५ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत्कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment