Comments Add Comment

बिरामीको मृत्युपछि क्रिमशन अस्पतालमा तनाव

उपचार खर्च मिनाहापछि शव उठ्यो

४ पुस, बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा शल्यक्रियाका क्रममा एकजना बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ केउलानीका ६३ वर्षीय शुकबहादुर रानाको उपचारको क्रममा बिहीबार मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गर्दै विरोध गरेपछि तनाव उत्पन्न भएको थियो । राना रक्तचापका बिरामी थिए । चिकित्सक र प्रशासनको लापरबाहीका कारण समयमै शल्यक्रिया नगर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए ।

बिहीबार राति र शुक्रबार बिहान मृततका आफन्त र छिमेकी गरी करिब दुईसय जना स्थानीय अस्पताल पुगेर उपचार प्रक्रियाको स्वतन्त्र छानवीन गर्नुपर्ने माग गर्दै दबाव सिर्जना गरेका थिए ।

मृतकका आफन्तको दबावपछि अस्पताल प्रशासनले रानाको उपचारको क्रममा लागेको १ लाख ३५ हजार खर्च मिनाहा गर्ने र आगामी दिनमा कमजोरीहरु सुधार्ने सहमति जनाएसँगै विवाद समाधान भएको छ । उपचार खर्च मिनाह गर्ने सहमतिपश्चात आफन्तले शव बुझेका छन्।

मृतकका आफन्त युवराज जीसीले रक्तचापका कारण टाउकोमा रगत जम्मा भएपछि बुधबार साँझ अस्पताल पुर्‍याइएको र शल्यक्रिया गर्नुपर्ने भए यहाँ भर्ना गर्दैनौं, अन्यत्र लैजान्छौ भन्दापनि अस्पतालले बिरामीको अवस्था ठीक छ, उपचार सम्भव छ भनेकाले भर्ना गरेको तर शल्यक्रिया गर्न ढिला गरेको बताए ।

अस्पतालका डाक्टर बलराम न्यौपानेले रानाको टाउकामा जमेको रगत शल्यक्रिया गरेर निकालेका थिए । उनले आफूले उपचारमा लापरबाही नगरेको दाबी गर्दै अपवादका रुपमा शल्यक्रियाबाट बचाउन नसकिएको बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पतालको तर्फबाट गल्ती नहुँदा पनि अप्रियस्थिति उत्पन्न नहोस् भनेर मृतकका आफन्तको दबाव स्वीकार गर्दै उपचार खर्च मिनाहा गर्नुपरेको बताए । उनले अस्पतालहरुमा हुने यसप्रकारको दबाव र शक्ति प्रदर्शनका कारण चिकित्सकको मनोबल गिर्ने र अस्पतालले बिरामी भर्ना नगरी रिफर मात्रै गर्नुपर्ने अवस्था सिर्जना भएकाले राज्यको गम्भीर ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment