Comments Add Comment

संकटालाई राहत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगनमा शनिबार न्यूरोड टिन (एनआरटी)लाई पराजित गर्दै ३ अंक जोडेपछि शंकटा क्लबका प्रशिक्षक विजय महर्जन निकै उत्सहित थिए ।

गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता भएको शंकटा सम्हालेका प्रशिक्षक विजयसामू पुरानै साख जोगाउने चुनौती थियो । तर सिजन पहिलो खेलमै च्यासलसँग २-० ले पराजित भएपछि उनी दबाव थिए ।

एनआरटीविरुद्ध जसरी पनि शंकटा अंक जोड्नुपर्ने अवस्थामा थियो उनका लागि । त्यसैले एनआरटीविरुद्ध कठिन जितपछि विजय महर्जन खुशी देखिन्थे । ‘आज हामीलाई जसरी पनि जित चाहिएको थियो ।३ अंक जोड्न सक्यौँ, त्यसबाट खुशी छौँ, खेलपछि प्रशिक्षक महर्जनले भने ।

दिपेश आले मगरले आठौं मिनेटमै गरेको गोल शंकटालाई ३ अंक दिलाउन निर्णायक बन्यो । दोस्रो हाफमा एनआरटीले दबाब सिर्जना गर्दै गोलका केही अवसर सिर्जना गरेपनि शंकटाका गोलकिपर विनय श्रेष्ठ बाधक बनेका थिए ।

पहिलो खेलमा विदेशी खेलाडी खेलाउन नपाउँदा हार्नुपरेको महर्जनले बताएका थिए । त्यसैले शनिबार शंकटाले तीन विदेशी खेलाडी समेत खेलाएको थियो । घरेलु फुटबलमा गोल मेसिनको उपनाम पाएको कर्ण लिम्बुलाई पनि खेलायो ।

‘विदेशी खेलाडी नेपालको लिगमा अभिन्न अंक जस्तै बनेको छ । उनीहरु हुँदा नेपाली खेलाडीहरु पनि मोटिभेट हुन्छन्,’ महर्जनले भने ।

यस्तै घरेलु फुटबलमा झापा एघारबाट खेल्ने कर्ण लिम्बुले गत सिजन हिमालयन शेर्पाबाट लिग खेलेका थिए ।यो पटक शंकटामा छन् र एनआरटीविरुद्ध पहिलो रोजाईमै परे । ‘कर्णले हामीसँग एक दिन मात्र ट्रेनिङ गरेका हुन्, तैपनि उनले आजै खेले,’ शंकटाका प्रशिक्षक महर्जनले भने,। हामीले सिनियर खेलाडी भएकाले अनुभव काम लाग्छ भनेर ल्याएका हौं । उनले अझै राम्रो प्रदर्शन गर्ने अपेक्षा छ।’

पहिलो खेलमा च्यासलविरुद्ध कप्तानी गरेका डिफेण्डर रवि सिलवाल एनआरटी विरुद्ध खेलेका थिएनन् । पहिलो खेलका क्रममा उनको हातमा चोट लागेको थियो ।त्यसैले शनिबार खेलेनन् । महर्जनकाअनुसार उनी अझै तीनसाता खेल्ने छैनन् ।

यस्तै शुरुवाती दुई खेल घुँडाको चोटका कारण गुमाएका राष्ट्रिय खेलाडी सरोज दाहालले भने अर्को खेल खेल्ने सम्भावना रहेको उनले बताए ।

शकटा र एनआरटीले शनिबार ३-३ विदेशी खेलाडी खेलाएको थियो । सबै खेलाडी पहिलो रोजाइमा खेलेका थिए । शंकटाले जर्सी नम्बर ७ लगाउने पिएरे जिन नयाँ भएकाले कस्तो खेल्छ भन्ने थाहा नभएको र त्यही कारण शुरुमा केही अफ्ठ्यारो समेत परेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यको प्रतिक्रिया थियो ।

दुई खेलबाट ३ अंक जोडेपछि शंकटाका प्रशिक्षक विजय महर्जनले आगामी खेलमा अझै राम्रो प्रदर्शन गर्ने बताए ।

शंकटाले तेस्रो खेलमा बिहीबार जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले सानो गल्तीका कारण गोल खानुपरेको बताए । ‘हामीले स्कोर गर्न सकेनौँ, तर खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु, उनले भने । शाक्यले सधैँ खेल एकनासको नहुने पनि बताए ।

एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४-० ले पराजित गर्दै शानदार शुरुवात गरेको थियो । गत वर्ष पूछारमा रहेपनि रेलिगेसन नभएकाले ए डिभिजनमै रहेको एनआरटीले एन्फाको नियमअनुसार यस सिजन २ अंक ऋण तिर्नुपरेको थियो । त्यसैले दुई खेल खेल्दा एनआरटीको १ अंक मात्रै छ । उसले बुधबार च्यासल युथ क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment