Comments Add Comment

सशस्त्र प्रहरीले घर घेरेपछि शाहीलाई छाडेर भाग्यो विप्लव समूह

गाउँपालिका अध्यक्ष धिरबहादुर शाही

६ पुस, दैलेख । नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट सकुशल उद्दार गरेको छ ।

शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नी श्रीमती इलाले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेको थियो ।

उनीहरुले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शाहीलाई लैजान दिइनन् । लैजाने नै हो भने आफू पनि सँगै जाने बताइन् । दुबै जनालाई लिएर गएको समूहले करिब दुई घन्टा पैदल हिँडेपछि इलालाई जंगलमा छाड्यो ।

छुटेपछि उनले  गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढा उनलाई उनले खबर गरिन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराए ।

सशस्त्रले फायरिङ गरेपछि…

इलाले आफ्ना श्रीमानलाई लिएर हतियारधारी समूह कालिकोटतिर लागेको सूचना प्रहरीलाई दिएकी थिइन् । त्यही सूचनाअनुसार शाहीको खोजीमा प्रहरीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटियो ।

विप्लव समूहले अपहरण गरेको हुनसक्ने अशंकामा सम्भावित क्षेत्रलाई लक्षित गरेर अपरेशन चलाएको थियो । वडा नं. २ का वडाध्यक्ष रुपालाल विश्वकर्माको टोलीले पनि दैलेख र कालिकोटको सीमा क्षेत्रमा खोजी तीव्र बनाएको थियो ।

साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पुर्‍याएका थिए ।

संयोगवस् विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा एक महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् ।

यो पनि पढ्नुहोस ‘फर्काइहाल्छौं भन्दै श्रीमानलाई लगे, मलाई जंगलबाट फर्काए’

केहीवेरमै आइपुगेको सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेको वडा नं. २ का वडाध्यक्ष विश्वकर्माले अनलाइनखबरलाई बताए । उनले भने, ‘त्यसपछि अध्यक्षज्यूलाई छाडेर विप्लव समूहका व्यक्ति भागेका थिए ।’

सशस्त्र प्रहरी बल, कालिकोट गुल्मका प्रमुख दिपेन्द्र कुँवरले पनि घटनाको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘गाउँपालिका अध्यक्षको उद्दार भइसकेको छ । विप्लव समूहका केही व्यक्ति जंगलतिर भागेका छन् ।’

उनकाअनुसार अहिले नेपाली प्रहरीको टोलीसँगै सशस्त्र प्रहरीको टोली शाहीलाई लिएर कर्णाली राजमार्गतर्फ आइरहेको छ । ‘करिब एक घन्टाको पैदलयात्रापछि दैखोलामा पुगिन्छ । त्यहाँ दैलेखबाट पनि टोली आउँछ, अनि अध्यक्षज्यूलाई कता लैजाने भन्ने टुंगो लाग्छ’, कुँवरले भने ।

स्थानीयले घटनास्थलबाट सशस्त्र प्रहरीले शंकास्पद केहीलाई पक्राउ गरेको दाबी गरे पनि कुँवरले त्यसबारे बताएनन् ।

विप्लव समूहले जिम्मेवारी

सशस्त्र प्रहरीले शाहीको उद्दार गर्दैगर्दा विप्लव समूहका नेताहरु भने घटनाको जिम्मा लिँदै विज्ञप्ति जारी गर्ने तयारीमा थिए ।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविको नामबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल राखिएको छ ।’

यो पनि पढ्नुहोस गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा विप्लव समूहले लियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment