Comments Add Comment

दुई कारुणिक कथा : उपचारले घर न घाटको बनायो 

मन्त्री, नेता, कार्यकर्ता, उनीहरुका आफन्त एवं पहुँचवाला व्यक्तिले राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ सिध्याएका छन्, उपचारको नाममा । प्रधानमन्त्री केपी ओलीदेखि पूर्वराष्ट्रपति रामवरण यादवकै उपचारको लागि करोडौं रुपैयाँ खर्च गरिएको छ ।

अहिले पनि सरकारले उपचार लगायत ‘सहायताको’ नाममा जथाभावी पैसा बाँढ्दै आएको छ । २०७२ सालयता मात्र तीन अर्ब रुपैयाँ पैसा सिध्याएका छन् । यसरी राज्यकोषबाट गरिने खर्चले नेता-मन्त्री र उनका आसेपासेले रजाई गर्छन् । जबकी गरिब-निमुखा सर्वसाधारण भने उपचारका लागि नाङ्गो हात थापेर भिख मागिरहेका छन् । कति उपचार अभावमा छट्पटाइरहेका छन् भने कति उपचार खर्चको भयले आत्महत्या गर्न बाध्य छन् । यहाँ त्यस्तै दुई पात्रको कथा प्रस्तुत गरिएको छ, जसका लागि उपचार-सेवा क्रुर र जटिल बनेको छ ।

वीर अस्पतालको १६३ नंको शैयामा हल न चल भएर बसेका छन्, रुपन्देही मुर्गीयाका राजु चौधरी । अवस्था कतिसम्म बिजोग छ भने, स्वास्थ्य परीक्षण गर्दासमेत उनी सिधा बस्न सक्दैनन् । ज्यामी काम गरेर बस्ने उनीसँग न उपचार गर्ने पैसा छ, न रोग नै पत्ता लागेको छ ।

अचानक पेटमा समस्या भएपछि उनी स्थानिय अस्पतालमा भर्ना भएका थिए । एक महिनासम्म त्यहाँ बस्दा पैसा त रित्तियो, रोग के हो भनेर थाहा भएन । त्यसपछि उनलाई काठमाडौं पठाइयो । उपचार खोज्दै वीर अस्पताल पुगे । वीरमा आएका डेढ हप्ता बित्यो, रोग पहिचान भएको छैन ।

चिकित्सकले उनको फोक्सोमा पानी जमेको हुनसक्ने आशंका गरेका छन् । तर, यकीन जानकारी सो बारेमा पनि छैन । वीर अस्पतालमा उपचारको लागि आएका उनीहरुको कुनै दिन त एकै दिनमा पनि १० हजार रुपैयाँ खर्च हुने गरेको छ । शुक्रबार वीर अस्पतालको वार्ड बाहिरको क्याभिनमा भेटिएका उनका पिता वीर बहादुरले भने ‘आजै मात्रै १० हजार सकियो । झण्डै एक हप्ता त सबै खर्च मेरो भतिजोले गरेको थियो । त्यसबारे अहिले नै केही पनि भनेको छैन । उसले संकेत गरे अनुसार त झण्डै एक लाख रुपैयाँ वीर अस्पतालमा आएपछि मात्रै सकियो कि जस्तो लागेको छ । अझै डाक्टरहरु छोरालाई के भएको हो ? भन्ने बारे केही भन्दैनन् ।’

राजुको उपचारको लागि गरेको खर्चले केवल राजु लाखौं रुपैयाँको ऋणमा पर्ने छैनन् । यो ऋणले सिंगो परिवारलाई समेत ऋणको दलदलमा फसाउने निश्चित छ । ऋणको बारेमा सम्झिए पछि टाउको समाउँदै भने वीरबहादुरले भने ‘धेरै भए जग्गा बेच्नु पर्ला, तर छोरा निको भए फेरि कमाइहाल्छ नि ।’ उनले स्थानीय तहबाट केही पनि आर्थिक सहायता उपलब्ध नभएको भन्दै सिफारिस बनाइदिन्छु भनेपनि अहिलेसम्म स्थानीय तहले सिफारिससम्म नबनाइदिएको उनले बताए ।’

वीर अस्पतालभन्दा अघिको यात्रा

बिरामी भएपछि उनीहरु सिधै औषधि उपचार गर्नको लागि वीर अस्पताल आएको होइन । उनीहरुले सुरुमा घर नजिकै पर्ने मुसलडाँडामा रहेको अस्पतालमा दुई पटकसम्म उपचारका लागि गए । जसमा उनीहरुले रोगको उपचार समेत नहुँदै ४० हजार रुपैयाँ तिर्नुपर्‍यो । यो रकम चौधरीले नियमित काम पाउँदा पनि दुई महिनाको कमाई हो । अन्यथा यति पैसा कमाउन उनले ४ महिना कुर्नुपर्छ । सो अस्पतालमा पैसा मात्रै खर्च भएर रोग पत्ता नलागेपछि उनीहरु बुटवलको अस्पताल तिर झरे । बुटवलमा विभिन्न अस्पतालमा उपचारको लागि जाँदा उनको ६० हजारभन्दा धेरै बुटवलमा नै सकिएपछि उनीहरु काठमाडौंको वीर अस्पतालतिर लागे ।

अहिले चौधरीका बुबा वीरबहादुर र ससुरा सन्तकुमारको दैनिकी वार्डको बाहिर पट्टीको क्याबिनमा बसेर नै बित्ने गर्छ । निद्रा लाग्यो भने त्यहीँ भुईंमा रहेको म्याटमा सुत्यो । औषधि चाहियो भने कुदिहाल्नुपर्छ । नत्र चिसो सहेरै भएपनि त्यो अस्पतालको छिँडीसँगै सहयात्रा गरेर बित्दैछ उनीहरुको जिन्दगी । चौधरीलाई मंसिर २४ गते वीर अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौंबासीकै चिन्ता ‘उपचारकै कारण सडकमै त पुगिँदैन ?’

ट्युब र टायर नभएको ह्वीलमा श्रीमानलाई मण्डीले छोपेर त्यसैको छेउमा उभिएकी सीता वीर अस्पतालको अघि रहेको मन्दिरकै छेउमा अडेस लगाएर श्रीमानको पालो कुरिरहेकी छिन् । दुई बजे चिकित्सक आउने भनेपछि उनीहरुले त्यहाँ झण्डै एक घण्टा एउटै तरिकाले श्रीमानलाई कुरेर बसेकी छिन् । बेला बेलामा मण्डी भुईंमा लत्रिन पुग्छ । हतार हतार गरेर त्यसको व्यवस्थापन गर्न पुग्छिन् । त्यही दुई बजेको प्रतिक्षामा बसेर ।

उनीहरु काठमाडौंबासी हुन् । धेरैलाई लाग्नसक्छ काठमाडौंमा घर भएकाहरु पक्कैपनि सम्भ्रान्त परिवारका हुन्छन् । उनीहरुलाई केहीको पनि कमी हुँदैन । तर, त्यो केवल भ्रम हो भन्ने उदाहरण हुन् उनीहरु । बालाजुमा अहिले घर बनाएर बसेका राजु महर्जनको पुख्र्याैली घर सानेपा हो । केही वर्ष मात्रै भयो त्यहाँबाट सरेर बालाजु पुगेको । राजु यही दशैंसम्म हेटौंडा-काठमाडौं रुटको टाटा सुमोका चालक हुन् । सामान्य नोकरी गरेर नै गुजारा चलाइरहेका उनी गत दशैंमा यक्कासी बेहोस भएपछि उनीहरुको दुखको श्रृङ्खला सुरु हुन्छ ।

उनीहरुको उपचारको दुखद् श्रृङ्खलामा १५ लाखभन्दा धेरै सकिएको छ । तर, उनी अझैपनि पूर्ण रुपमा स्वस्थ हुन सकेका छैनन् । यसमा न त उनको गल्ती छ न त पूरा रुपमा अस्पतालहरुको नै । महंगो स्वास्थ्य प्रणालीको कारण उनीहरु जस्ता मध्यम आय भएका मानिसहरु पनि गरिबीको रेखामुनी पुग्नुपर्ने अवस्था आएको छ ।

यही दशैंको अष्टमीको दिन एक्कासी उनी मुर्छित भए । पहिले पनि उनलाई उच्च रक्तचाप र मधुमेहको समस्या थियो । ती सबै उपचारको लागि उनी सानेपामा रहेको स्टार हस्पिटलमा उपचार गराउने गरेका थिए । त्यसैले पनि मुर्छित् महर्जनलाई परिवारका सदस्यहरुले स्टार अस्पताल र्पुयाइहालेे । त्यहाँ उपचारमा लगेको २४ घण्टासम्म पनि उनको स्वास्थ्य अवस्थाको बारेमा केही पनि जानकारी दिइएन । त्यसपछि आत्तिएका परिवारका सदस्यहरुले एक दिनको ६० हजार रुपैयाँ त्यसै तिरेर न्यूरो अस्पतालमा उपचारको लागि लगे । त्यसैमा सकियो सबैभन्दा धेरै १५ लाख रुपैयाँभन्दा धेरै त ।

उनकी श्रीमती सीता भन्छिन् ‘अरु त त्यस्तै हो । पैसा सबै सकिइसक्यो । अझै श्रीमानलाई स्वस्थ बनाउन सकिएको छैन । न्यूरो सम्बन्धी उपचार गर्ने क्रममा चढाएको ३० पोका रगत पठाएको ठाउँमा नपुगेर कम्मरको दायाँ भागमा जम्मा भएर बसेपछि स्वास्थ्य झनै जटील बनेको छ । अब त स्वास्थ्य उपचारकै कारण सडकमा आउनु पर्ने हो कि ? भन्ने चिन्ता लागेको उनले बताइन् । उनीहरुले सरकारी सहायताको लागि पनि सरकारी अड्डामा नगुहारेका होइनन् । तर, सबैभन्दा धेरै पैसा न्यूरो सम्बन्धी उपचारको क्रममा नै भयो । जसमा उनीहरुले छुट पाउन सकेनन् ।

धनुषाका राजवन्ती ठाकुर छातीमा बाँसले काटेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगे । तर, त्यहाँ आवश्यक उपकरण नभएको भन्दै उनलाई काठमाडौं पठाइयो । सामान्य ज्यामी काम गरेर गुजारा गर्ने राजवन्ती उपचारकै लागि काठमाडौं आए र वीर अस्पतालमा भर्ना भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment