Comments Add Comment

नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

गृहमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ नागरिकविरुद्धको अपरेसन

Photo Credit : किरण गिरी

८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ ।

चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।

ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’

सोमबार चलाइएको अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

भाषा अनुवादक बोलाएर सोधपुछ गर्ने काम भइरहेको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए । उनले भने, ‘उनीहरुले नेपाललाई हानि पुर्‍याउने गरी काम गरेको देखिँदैन । तर, चीनतर्फ भने अपराध गरिरहेको देखिएको छ ।’
यो पनि पढ्नुहोस बैंक ह्याकलगत्तै सुरु भएको थियो चिनियाँ नागरिकमाथि निगरानी

उनका अनुसार पर्यटकको आवरणमा नेपाल आएका चिनियाँ नागरिकले नेपालका घर भाडामा लिएर चीनमा साइबर अपराध गरिरहेको देखिएको छ । उनले थपे, ‘डेढ सय पक्राउ परे पनि अझै धेरै चिनियाँ नागरिक नेपालमा कार्यरत रहेको सूचना थियो ।’

पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन विभागले उनीहरुलाई निष्कासन गर्ने एक अधिकारीले बताए । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन गरेर उनीहरुलाई चीन पठाउन लागिएको हो ।

‘चिनियाँ अधिकारीले विमान नै चार्टर गरेर उनीहरुलाई लाने प्रस्ताव गरेका छन्’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment