Comments Add Comment

अर्को वर्ष धरहरा चढ्न पाइन्छ !

८ पुस, काठमाडौं । भूकम्प गएको तेस्रो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको भग्नावेशेषछेउ उभिएर, ‘म बनाउँछु मेरो धराहरा’ अभियानको घोषणा गरेका थिए । तर प्रधानमन्त्रीले सोचेजस्तो नागरिक स्तरबाट रकम उठ्यो, न धरहरा बन्यो ।

१३ पुस २०७५ बाट भने धरहरा पुनर्निर्माणले गति पाएको छ । र, १ वर्षभित्र नयाँ धरहरा ठडिने पुनर्निर्माण प्रधिकरणको दाबी छ ।

पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ । सुरुमा स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो ।

अहिले भने कुनै अवरोध छैन ।

धरहराको निर्माणको भौतिक प्रगति ३३ प्रतिशत र वित्तिय प्रगति २२ प्रतिशत भएको प्राधिकरणले बताएको छ । जमीनमुनि काम गर्न धेरै समय लाग्ने भएकाले केही सुस्त भएको भन्दै अब जमीनमाथिको काम तीव्र हुने प्राधिकरणको दाबी छ ।

हालसम्म धरहराको ३ तल्ला निर्माण भएको छ भने चौथो तल्लाको निर्माण शुरु भएको छ । अबको १२ दिनभित्रमा चौथौ तल्ला सकिने प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

यस्तो बन्दैछ धरहरा

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइन, तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागिएको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा भ¥‍‍याङ चढेर मात्र होइन, लिफ्टबाट पनि उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणकाअनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ । बेसमेन्टमा तल–माथि गर्न लिफ्ट हालिने छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

एक वर्षमै धरहरा तयार हुन्छ : ज्ञवाली

धरहरा पुनर्निमाणको अवस्थाबारे पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले मंगलबार अवलोकन गरेका छन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले अर्को वर्ष नयाँ धरहरामा चढ्न पाइने बताए ।

प्राधिकरणले भत्किएको धरहरालाई जस्ताको तस्तै राखेर नजिकै नयाँ धरहरा निर्माण गरिरहेको हो । पुरानो धरहरालाई पनि म्युजियमको रुपमा सीसाले बेरेर राखिने उनले बताए । १५ दिनमा हरेक तल्ला थप हुने योजना अनुसार काम भइरहेको भन्दै उनले कामको गतिबाट आफू सन्तुष्ट रहेको उल्लेख गरे । ‘काम अपेक्षित गतिमा बढिरहेको छ, कुनै अप्ठ्यारो देखिएको छैन’ उनले भने ।’

अर्को वर्ष सकिन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अर्को वर्ष त माथि चढेर काठमाडौं हेर्नै पाइन्छ ।’

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment