Comments Add Comment

शान्ति सेनामा पठाउन रकम मागेको आरोपमा मेजर थापामाथि अनुसन्धान

८ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइदिने भन्दै रकम असूली गरेको आरोप लागेपछि नेपाली सेनाका सेनानी (मेजर) सुवास थापामाथि अनुसन्धान सुरु भएको छ ।

नेपाली सेनाको तालिम निर्देशनालय, भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिएर सैनिक प्रहरी गणले अनुसन्धान थालेको हो ।

जंगीअड्डा स्रोतका अनुसार थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि छानबिन थालिएको थियो । एक हप्ता लामो छानबिनपछि विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको स्रोतले अनलाइनखबरलाई बतायो ।

शान्ति सेनामा पठाइदिने भनेर थापाले उजुरी दिनेहरुसँग करिब ७० लाख रुपैयाँ उठाइसकेको दाबी गरिएको छ । पूर्वसैनिक कर्मचारीबाट पनि उनले रकम लिएको जनाइएको छ । ‘आफन्तलाई पठाइदिने भनेर पूर्वकर्मचारीसँग पनि पैसा लिएको देखिएको छ’, स्रोतले भन्यो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको आफ्नै मान्छे भएको बताउँदै उनले रकम लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । ‘आफ्नै काका हो, अहिले मैले जे भन्यो त्यही हुन्छ भनेर पैसा लिएको थियो’, पीडितको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

तर शान्ति सेनामा जानेको सूचीमा नाम नपरेपछि पीडितले रकम फिर्ता माग गरेका थिए । थापाले रकम फिर्ता नदिई उल्टै धम्क्याएको पीडितको गुनासो छ ।

शान्ति सेनामा भनसुन चल्दैन : जंगीअड्डा

जंगीअड्डाले भने शान्ति सेनामा जान भनसुन नचल्ने जनाउँदै सैनिक कर्मचारीलाई प्रलोभनमा नपर्न सचेत गराएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेना छनोट कार्यविधि २०७५ लागू गराएपछि ज्येष्ठताको आधारमा शान्ति सेनामा पठाउने अभ्यास थालिएको जनाउँदै भनसुन नचल्ने सेनाले बताएको हो ।

यो कार्यविधि लागू गरिएपछि शान्ति सेनामा जाने सैनिकको छनौट प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउने अपेक्षा लिइएको एक उच्च सैनिक अधिकृतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार ११ पुस ०७५ बाट कार्यविधि लागू भएपछि हरेक सैनिक अधिकारीले शान्ति सेनामा जाने पालोबारे पहिल्यै अनुमान गर्न सक्छन् ।

कार्यविधिले सकल दर्जालाई कम्तिमा एक पटक शान्ति सेनामा भाग लिने अवसर पनि सुनिश्चित गराएको सैनिक अधिकृतहरु बताउँछन् ।

सेनाले वहालवाला तथा अवकाश प्राप्त रथीलाई दिइएको सहुलियत कोटालाई पनि बन्द गराएको छ भने अन्य दर्जाको सहभागितालाई पनि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment