Comments Add Comment

रनरेटमा बाजी मार्दै विराटनगर पीपीएलको इलिमिनेटरमा

९ पुस, काठमाडौं । बुटबल ब्लास्टरमाथि ठूलो जित हात पार्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल)को ‘इलिमिनेटर’ मा प्रवेश गरेको छ । बुटबलले यसअघि नै इलिमिनेटरमा स्थान बनाइसकेकाले उसलाई यो हारले फरक परेन ।

पोखरामा बुधबार बुटबलले दिएको १३४ रनको लक्ष्य, विराटनगरले आक्रामक ब्याटिङ गर्दै ११.४ ओभरमै लक्ष्य भेट्टायो । यसबाट उसको रनरेटमा सुधार गर्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिँदै इलिमिनेटरमा स्थान बनायो ।

विराटनगरले टस जितेर बुटवललाई पहिलो ब्याटिङमा बोलाएको थियो । पहिलो बलमै ओपनर अफ्ताबुद्धिन अहमदलाई किशोरी महतोले आउट गराए । अर्का ओपनर शंकर रानाले कष्टप्रद ब्याटिङ गर्दै १४ बलमा २ रन मात्र जोडेर पेभिलियन फर्किए भने भीम सार्कीले पनि ७ बलमा ५ रन मात्रै जोड्न सके ।

यसरी एउटा इन्डबाट विकेट पतन भइरहँदा अर्को इन्डमा हार्स टंकले भने लोभलाग्दो काउन्टरअट्याक गरे । उनले अर्का भारतीय ब्याट्सम्यान शिवम सिंहले साथ दिएका थिए । अट्याकिङ मुडमा देखिएका टंकले ४४ बलमा ५ चौका र ६ टक्काको मद्दतले ६७ रन बनाए । यसैगरी शुभमले २६ बलमा ३७ रनको योगदान दिए ।

टंक र शिवम्को जोडी क्रिजमा हुँदा बुटवल ठूलो स्कोरतर्फ अग्रसर देखिएको थियो । तर उनीहरु आउट भएपछि अन्य ब्याट्सम्यानको फिनिसिङ राम्रो हुन सकेन र बुटवलले निर्धारित २० ओभरमा १ सय ३३ रन मात्र बनाउन सक्यो । बिराटनगरका लागि मोहम्मद जैद आलमले ४ विकेट लिन सफल भए ।

जवाफी ब्याटिङमा आएको बिराटनगरसँग सुरुदेखि नै आक्रमण गर्नुको विकल्प थिएन, किनकी उसलाई रनरेट सुधार्नैपर्ने थियो । मोहम्मद जैद आलम र लोकेश बमले सोचेजस्तै सुरुवात दिए । १.४ ओभरमै उनीहरुले २६ रन जोडेका थिए ।

अघिल्लो म्याचमा आठौं नम्बरमा खेलेर अर्द्धशतक बनाएका लोकेसलाई बुधबार ओपनिङमै पठाइएको थियो । परिस्थितिअनुसार ब्याट घुमाउँदै उनले ५ बलमा दुई छक्कासहित १३ रन बनाएर आउट भए । खराब फर्ममा रहेका कप्तान प्रदीप ऐरीले ३ बलमा ५ रन मात्रै जोड्न सके । ५८ रनको अवस्थामा आलमलाई पनि गुमाएपछि बिराटनगर दबावमा आएको थियो । तर, त्यसपछि आएका ब्याट्सम्यानहरुले पनि आक्रमक खेललाई निरन्तरता दिए ।

भारतीय ब्याट्सम्यान पुनित मेहरा र अफगानिस्तानका नोमन खान बलरहरुमातिथ हावी भए । मेहराले १७ बलमा ३२ रन र नोमनले २२ बलमा ३५ रन बनाएपछि विराटनगर फेरि खेलमा फर्कियो । उनीहरुको जोडी टुटेपछि पुष्प थापाले ८ बलमा १८ रन हान्दै विराटनगरलाई चाहिएको जस्तो जितसम्म पुर्‍याए ।

पाँच खेलमा २ मात्र जित हात पारे पनि रनरेटका आधारमा बिराटनगर इलिमिनेटरमा पुगेको छ । समान दुई खेल जितेका काठमाडौं गोल्डेन वारियर्स र एक्सपर्ट धनगढीको ४-४ अंक छ । तर रनरेटमा उनीहरु पछाडि परेका छन् ।

विराटनगरको रनरेट ०.४७५ छ भने काठमाडौं र धनगढीको क्रमशः ०.३९ र -१.९६९ रहेको छ । साविक विजेता पोखरा पल्टन भने ५ खेलमध्ये ४ वटामा हार व्यहोर्दै अंकतालिकाको पुछारमा रह्यो ।

इलिमेनेटरमा पनि विराटनगरले बुटवलकै सामना गर्नुपर्ने छ । र, दुई टोलीको विजेताले फाइनलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन् । चितवन समूह चरणामा सतप्रतिशत जितका साथ फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment