Comments Add Comment

च्यासलको ‘ब्याडलक’, मछिन्द्रको रवाफ

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार सबैको ध्यान सन्तोष साहुखलमा केन्द्रित थियो ।

शुरुवाती दुई खेलमा गोल गरेका उनी लिगमा १०० गोलको कीर्तिमान नजिक थिए । र, च्यासल युथ क्लबको प्रतिस्पर्धी तुलनात्मक रुपमा कमजोर मानिएको न्यूरोड टिम (एनआरटी) थियो । किनकी दोस्रो चरणमा च्यासलले उपाधि दाबेदार मानिएको मछिन्द्रसँग १-१ को बराबरी खेलेको थियो । एनआरटी संकटा क्लबसँग १-० ले पराजित भएको थियो । त्यही शंकटालाई पहिलो खेलमा च्यासलले २-० ले हराएको थियो । सन्तोषले शंकटा विरुद्ध दुई गोल गरेका थिए । मछिन्द्र विरुद्ध पनि उनैले गोल गरेका थिए ।

तर तेस्रो खेलमा सन्तोष गोल गर्न असफल रहे । र, च्यासलले हार बेहो‍र्‍यो । सन्तोषले एनआरटीविरुद्ध एक गोल गरेको भए उनले लिगमा १०० गोल गर्ने पहिलो फुटबलको रेकर्ड बन्ने थियो ।

यो सबैमा च्यासल असफल सावित भयो ।

दशरथ रंगशालमा भएको खेलमा एनआरटीले च्यासललाई २-१ ले हराइदियो । यस सिजन च्यासलको यो पहिलो हार समेत रह्‍यो ।

पहिलो हाफमा एनआरटीले जुनियर ओनगुएको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफको अन्तिम १९ मिनेट एनआरटी १० खेलाडीमा सिमित भयो । तर त्यसबेलामा पनि एनआरटीले गोल थप्दै अग्रता दोब्बर बनायो । ८४औं मिनेटमा एनआरटीका दर्शन गुरुङले एकल प्रयासमा उत्कृष्ट गोल गर्दा च्यासलको खेलमा फर्कने सम्भावना क्षण बनेको थियो । खेलको इन्जुरी टाइमको पनि अन्तिममा च्यासलका अमिर श्रेष्ठले एक गोल फर्काए । तर हार टार्न त्यो धेरै ढिला भइसकेको थियो ।

उनै अमिरले पहिलो हाफमा गोलको अवसर पाएका थिए तर चुके ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले त्यही गोल नहुनु च्यासलका लागि ब्याडलक भएको बताउँछन् । शाक्य तिनै प्रशिक्षक हुन्, जो गत सिजन च्यासलको प्रशिक्षक थिए ।

एनआरटीले सन्तोष साहुखललाई राम्रोसँग मार्क गरेको थियो । ‘एनआरटीले सन्तोषलाई धेरै मार्क गर्दा अरु खेलाडीले फाइदा लिनुपर्ने हो, तर सकेनन्’ सिजनको पहिलो हारपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने ।

आफ्ना खेलाडीले विपक्षीलाई सहज रुपमा लिँदा पनि कमजोरी भएको भन्दै उनले भने, एनआरटी आज प्रिपेर भएर आएको रहेछ ।’

राम्रो टिमविरुद्ध ३ अंक जोड्दा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य सन्तुष्ट देखिए । ‘हाम्रो लागि ३ अंक महत्वपूर्ण थियो । केटाहरुले प्रयास गरे, त्यसमा सफल पनि भयौँ’ शाक्यले भने, ‘आज हामीले फर्मेसन पनि परिवर्तन गर्दै ४-२-३-१ को फर्मेसनमा खेलाएका थियौँ । त्यसमा पनि सफल भयौँ ।’

गत सिजन एनआरटी अंक तालिकामा पुछारमा थियो । तर रेलिगेसनको व्यस्वस्था नहुँदा घटुवा हुनु परेन । तर यस सिजन २ अंक ऋणबाट लिग शुरु गरेको थियो । पहिलो खेलमै सरस्वती युथ क्लबलाई ४-० ले पराजित गर्दै लिगमा शानदार शुरु गर्‍यो । यसले ऋणात्मक रहेको २ अंक घटाएर एक अंक भयो । त्यसपछि शंकटासँग हारेको एनआरटीको यो जितबाट कुल अंक ४ पुगेको छ ।

च्यासलका प्रशिक्षकले भने आफूहरु उपाधि होडमा रहेको बताए । ‘अझै हामी उपाधिको होडमा छौ’ बालगोपालले भने, ‘आजको खेल जितेको भए हामी आफ्नै बलबुताले लिग जित्न सक्थ्यौं, अब अरुको खेलमा भर पर्नुपर्छ ।’

च्यासलले अब पुस १५ गते जावलाखेल युथ क्लबसँग खेल्नेछ । एनआरटीले १४ गते मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्रको जितमा विदेशी खेलाडीको प्रभाव

बुधबारको पहिलो खेलमा विदेशी खेलाडीले प्रभावशाली प्रदर्शनमा मछिन्द्र क्लबले फ्रेण्ड्स क्लबलाई ३-० ले सहजै हरायो ।

दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रको शुरुवाती दुई गोल विदेशी खेलाडीले गरेका थिए । पिटर सेगुनले पहिलो र सोमिडे एडालेजाले दोस्रो हाफमा गोल गरे । यस्तै खेल सकिन ६ मिनेट अघि रेजिन सुब्बाले गोल गरे ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले ३-० को जित राम्रो भएको बताए । ‘फ्रेण्ड्सको हामीलाई रोक्ने रणनीति थियो तर हामी सफल भयौं’ उनले भने ।

सुजल श्रेष्ठ आएपछि टिम सेटमा थप सहयोग हुने उनले सुनाए भने । १३ औं सागको फुटबलमा नेपालले स्वर्ण जित्दा सुजलले कप्तानी गरेका थिए । त्यसबेला लागेको चोटका कारण उनले लिगको शुरुवाती दुई खेल खेलेनन् ।

यस्तै लिगमा लगातार तेस्रो हारपछि फ्रेण्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस दान्तसले टिमले राम्रो खेल्न नसकेकोे बताए । ‘विपक्षी बलियो भयो । फिटनेस पनि राम्रो थियो’ दान्तसले भने, ‘हामीले राम्रो खेल्न सकेनौँ ।’

लिगमा मछिन्द्रले अब एनआरटीसँग खेल्नेछ भने फ्रेण्ड्सले अर्को खेलमा साविक विजेता मनाङ मर्स्यांदी क्लबसँग खेल्नेछ ।

लिगमा अपराजित मछिन्द्रले समान ६ अंक भए पनि मनाङलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment