Comments Add Comment

फौजी किरा नियन्त्रण गर्न प्रदेश १ मा विशेष टोली

१० पुस, विराटनगर । प्रदेश १ का तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको काम थालेको छ ।

पहिले पहाडी जिल्लामा देखिएको फौजी किराको लार्भा र बयस्क पुतली केही महिनायता झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका मकैबालीमा पनि भेटिएका छन् ।

प्रदेश कृषि निर्देशनालयका कार्यबाहक निर्देशक प्रकाशकुमार डाँगीले मोरङका दक्षिणी भेग रंगेली, बुद्धनगर, जहादा, सुनसरीको दुहवी, बर्जु गाउँपालिका लगायतका क्षेत्रमा फौजी किराको प्रकोप रहेको बताए । झापाका सीमावर्ती गाउँहरुमा पनि यसको प्रकोप देखिएको छ ।

फौजी किरा नियन्त्रण गर्न प्रदेश सरकारले डाँगीको नेतृत्वमा कृषि मन्त्रालयका प्रतिनिधि, गैर सरकारी संघ संसथका प्रतिनिधिसहितको र्‍यापिड रेसपोन्स टिम गठन गरेको छ ।

प्राविधिक सहितको टिमले प्रकोप प्रभावित क्षेत्रका किसानलाई बिषादी प्रयोगका लागि सिफारिस गर्ने, आकस्मिक राहतका कार्यक्रम वितरण गर्ने, फौजी किराबारेमा सचेतना जगाउनेलगायतको काम गर्दै आएको छ ।

बाली संरक्षण प्रयोगशाला विराटनगर बाली संरक्षण अधिकृत एवं र्‍यापिड रेसपोन्स टिमका सदस्य सचिव मुकेश यादवले फौजी किरा रोग नियन्त्रणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

‘फौजी किराको प्रकोप नियन्त्रणका लागि सबै संयन्त्र परिचालित छन्’, उनलेले भने । उनले मकैमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा रहेको पनि बताए  ।

गएको जेठ २२ गते प्रदेश १ मा पहिलो पटक तेह्रथुमको म्यालुङ नगरपालिका र धनकुटाको पाख्रिबास नगरपालिकामा फौजी किरा भेटिएको थियो ।

फौजी किराका लागि कुन विषादी प्रयोग गर्ने भन्ने थाहा नहुँदा धेरै ठाउँमा किराले बाली नष्ट पारेको छ । खानेकुराको खोजीमा फौजी किरा एक रातमा १०० किलोमिटर टाढासम्म उडेर जाने भएकाले बेलैमा नियन्त्रण गर्न नसके बाली नै सखाप बनाउने विज्ञहरु बताउँछन् ।

प्रदेश कृषि निर्देशनालयका अनुसार जेठ महिनायता फौजी किराले ओखलढुंगाको ५ सय हेक्टर, उदयपुरको २२ हेक्टर, भोजपुरमा २ सय ८९ हेक्टर, पाँथरमा एक हजार ३ सय ४५ हेक्टर, खोटाङमा २ सय २२ हेक्टर, धनकुटामा एक सय ८१ हेक्टर र झापामा ३ हेक्टर गरी २ हजार सात सय १० हेक्टर मकैबालीमा नोक्सान पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment