Comments Add Comment

घुमघाम संस्कृति : खर्च गर्ने पर्यटकको कमी

हामीहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा छौं । २० लाख पर्यटकको लागि नयाँ वर्ष सुरु हुँदैगर्दा हामीले एउटा बहस गर्नैपर्ने विषयलाई बेवास्ता गरेको अनुभूति हुन्छन् । सरकारले लिएको लक्ष्य अनुसार २० लाख  पर्यटकहरु कस्ता स्वभावका भित्र्याउने ? उनीहरुबाट दैनिक कति रुपैयाँ खर्च गर्ने ? र यसको लागि पर्यटकलाई सेवा सुविधाहरु कसरी दिने ? भन्ने विषयमा स्पष्ट धारणा बनिसकेको पाईदैन ।

नेपालमा पर्यटकहरु विभिन्न प्रयोजनको लागि आउने गर्छन् । कोही साहसिक कामको लागि आउने गर्छन्, कोही धार्मिक हिसाबले आउने गर्छन् । कोही प्राकृतिक सुन्दरताको लागि आउने गर्छन् । अहिले त केवल हनी हन्टिङको लागि मात्रै पनि आउने गर्छन् । ढोरपाटन शिकार आरक्षमा शिकार खेल्नकै लागि मात्रै पनि पर्यटकहरु आउने गर्छन् । भोटेकोशीमा राफि्टङ खेल्नको लागि पनि धेरै पर्यटकहरु आउने गर्छन् । त्यसैले यसमध्ये पनि कस्ता पर्यटकहरु भित्र्याउने ? भन्ने कुरा महत्वपूर्ण कुरा हो ।

नेपाल भ्रमण वर्ष २०२० को बारेमा छिट्ट फुट्ट रुपमा भएका बहसहरुमा पनि कोही धेरै खर्च गर्ने र पाँचतारे होटलमा भरिभराउ गर्ने खालका पर्यटकको आवश्यकता देख्छन् भने कोही मध्यम स्तरका पर्यटकहरुको । तर, नेपालको लागि न त धेरै खर्च गर्ने पर्यटकहरुको मात्रै खाँचो छ न त कम खर्च गर्नेहरुको मात्रै । नेपालमा एउटा झाप्रोमा बसेर व्यापार गर्नेदेखि पाँचतारे होटलसम्म सञ्चालनमा रहेकोले पर्यटकहरु पाँच तारे होटलदेखि झाप्रोमा बसेर खानाखानेसम्मको आवश्यकता नेपाललाई छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालमा पाँच तारे होटलहरुको पनि होटल व्यवसायको अवस्था चित्त बुझ्दो देखिँदैन । ६० डलरमा पाँचतारे होटलको कोठा भाडामा दिएपछि उनीहरुको पनि खर्च कसरी उठ्ला ? त्यस्तो अवस्थामा उनीहरुले दिने सेवा सुविधाले कुनैपनि हाइप्रोफाइलका व्यक्तिलाई चाहिने आवश्यकताहरु पूरा गर्न समेत धौ-धौ पर्ने गर्छ । त्यसैले पनि नेपालको लागि अहिले सबै किसिमका पर्यटकहरु आवश्यक पर्छन् ।

खर्चालु पर्यटकहरुको कमी

केही समयअघिसम्म अमेरिकी पर्यटकहरुको घुईँचो लाग्ने गरेकोमा अहिले ती खर्चालु अमेरिकीहरुको संख्या कम भएको छ । संख्यालाई नै आधार मान्दा त अमेरिकाबाट आउने पर्यटकहरुको संख्या बढिरहेको छ । तर, खर्च गर्नेभन्दा पनि कम खर्च गर्नेहरुको संख्या बढ्न थाल्यो । अमेरिकाका पर्यटकहरु मध्ये पनि रिटायर्ड भएर बसेकाहरुले धेरै खर्च गर्छन् भने तन्नेरीहरुले तुलनात्मक रुपमा कम खर्च गर्ने गर्छन् । तथ्यांकलाई आधार मान्दा नेपालले पर्यटन वर्षमा ल्याउन चाहेको मध्ये सबैभन्दा धेरै पर्यटकहरु भारतीय छन् ।

उनीहरुको संख्या कूल संख्याको २० प्रतिशत अर्थात् ४ लाख रुपैयाँ छ । तर, भारतीय पर्यटकहरु धेरै धार्मिक पर्यटकहरु हुने भएकोले खर्चको हिसाबले उनीहरु कम खर्च गर्छन् । अमेरिकन पर्यटकहरुको संख्यालाई हेर्दा सन् २०१८ मा कूल ९१ हजार ७ सय ८५ जना पर्यटकहरु नेपाल आएका थिए । त्यसको एक वर्ष पछिको तथ्यांकलाई हेर्दा ९९ हजार जना नेपाल आएको देखिन्छ । भ्रमण वर्षभरीमा कूल १ लाख १८ हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

घट्दै पर्यटकहरुको खर्च गर्ने संस्कृति

पछिल्लो तथ्यांकलाई विश्लेषण गर्ने हो भने पर्यटकहरुको खर्च गर्ने संस्कृति घट्दै गएको छ । सन् २००९ मा प्रतिव्यक्ति दैनिक ४५.७ अमेरिकी डलर खर्च गर्ने पर्यटकहरुले २०१८ मा औषत् ४४ अमेरिकी डलर मात्रै खर्च गर्ने गरेको सरकारी तथ्यांकले देखाएको छ । जबकी सन् २०१७ मा एक जनाले एक दिनमा ५४ डलर खर्च गर्ने गरेका थिए । सन् २००९ मा औषत ११ दिन नेपाल बस्ने गरेका पर्यटकहरु २०१६ मा १३ दिन बसेका थिए । अहिले १२ दिनमात्रै औषतमा पर्यटकहरु नेपाल बस्ने गरेका छन् ।

नेपालमा आउने पर्यटकहरुमध्ये विदेशमा ठूलो व्यवसाय सञ्चालन गरिरहेका हाई प्रोफाइल पर्यटकहरु पनि सामान्य भेषमा नेपाल आउने गर्छन् । तर, सुरक्षा र अरुपनि विभिन्न कारणले उनीहरु सामान्यतया आफ्नो पहिचान खुलाउन चाहँदैनन् । आर्थिक हैसियत भएकाहरु पनि केही पैसा जम्मा गरेर नेपाल आउने खालका पनि हुन्छन् । धार्मिक पर्यटकको रुपमा भारतबाट नेपाल आउनेहरु त खानपानको सामान समेत सबै उतैबाट ल्याएर केवल दर्शनको लागि मात्रै आउनेहरु पनि हुन्छन् । त्यसैले सबैभन्दा पहिले पर्यटकहरुको स्वभावको विषयमा चर्चा गर्नु राम्रो हुनसक्छ ।

हाइप्रोफाइलको लागि पूर्वाधारमा कमी

केही महिना अघि चीनका एक चर्चित कम्पनीका प्रमुख नेपालको भ्रमणको लागि नेपाल आए । उनी सगरमाथा आधार शिविरसम्म पुगेर फर्किए । उनले सो समयसम्म आफ्नो परिचय दिएका थिएनन् । उनले आफ्नो वास्तविक परिचय त अन्तिममा संकेत मात्रै गरे । स्पष्टसँग त अन्तिमसम्म पनि भनेका थिएनन् । उनले आफूलाई ५ तारे होटलमा लैजानको लागि आग्रह गरे ।

हामीले दरबारमार्ग स्थित होटल अन्नपूर्णमा पुर्यायौं । त्यहाँ भित्र छिरेलगत्तै उनले होटलबाट आउने सुगन्धले यो होटल ५ तारे हो भनेर मान्न नसकिने जनाउ दिएर अर्कै होटल खोज्न भने । त्यसपछि होटल द्वारिकामा उनलाई लगियो । त्यहाँ पुगेपछि भने उनले यो होटल सुगन्धको हिसाबले चाहिँ पाँच तारे जस्तो देखिन्छ भनेर त्यहीँ बसे । यसरी यस्ता व्यक्तिहरु पनि नेपालमा आउँछन् जसले गन्धबाट नै होटलको सेवा सुविधाबारे थाहा पाउँछन् । त्यसैले हामीसँग त्यस्ता हाइप्रोफाइल मानिसहरुको लागि स्वागत गर्नको लागि होटलको अभाव छ ।

होमस्टेप्रति बढाउन नसकिएको विश्वास

सरकारले १०० गन्तब्यको सूची निकाल्यो । ती ठाउँमा के होटलहरु सुविधायुक्त छन् ? पक्कै पनि छैनन् । धेरै ठाउँमा अहिले होमस्टेको अवधारणा चलिरहेको छ । यसले स्थानीय प्रचलन अनुसारको सेवा त दिने गरेको छ । तर, यसको पनि धेरै कमी कमजोरीहरु रहेको देख्न सकिन्छ । यसमा स्पष्ट व्यवसायिकता भन्दा पनि यो घरायसी जीवनशैलीमा आधारित हुने भएकोले त्यो घरमूली वा अरु सदस्य कस्ता छन् ? भन्नेमा त्यहाँको सुविधा असर गर्ने भएकोले हाई प्रोफाइलका पर्यटकहरुले झट्टै विश्वास गरिहाल्न सक्ने अवस्था छैन ।

पर्यटकको स्वभाव र सुविधा

यद्यपि होमस्टेमा बस्ने या नबस्ने ? हिँड्ने वा गाडीमा जाने ? जस्ता विषयहरु पर्यटकको प्रकृतिमा आधारित हुन्छ । पर्यटक पनि कस्ता र केहो लागि आएको ? भन्नेमा आधारित हुन्छ । पर्यटनको भाषामा पर्यटकको संस्कृति भन्ने शब्दावलीले यसलाई चिनाउने गरिन्छ । जस्तो कुनैपनि पर्यटक भोटेकोशीमा र्‍याफ्टिङ गर्न आएको छ भने उसले त्यस्तो सेवा सुविधा र विलासिता खोज्दैन । ऊ रोडबाट भन्दा पनि अफरोडबाट हिँड्न रुचाउँछ  । स्थानीय जीवनशैलीलाई घुलमिल हुने स्वभावका हुन्छन् भने हेली टुरमा जाने वा अरु त्यस्तै विलासिताको बाटो रोज्नेहरु सुविधासम्पन्न होटल तथा रेष्टुरेन्टहरुको खोजीमा गर्छन् ।

भर्जिन साइटमा किन जाँदैनन् नेपाली पर्यटक ?

सौराहा र रारा मात्रै नभएपनि नेपालीहरु भने खासै भर्जिन टुरिजम साइटमा जाने गरेको पाईंदैन । उनीहरुलाई त्यसबारेमा धेरै जानकारी पनि हुँदैन । त्यही भएर पनि साथीभाइको लहैलहैमा लागेर जाँदा सौराहा, पूर्वमा पाथीभरासम्म, पश्चिममा रारासम्म जाने गरेको पाइन्छ । यस्ता ठाउँहरुमा भन्दा भर्जिन साइटहरुमा जाँदा धेरै महंगो हुने भएकोले पनि नेपालीहरु कमै जाने गर्छन् । जस्तो हेली टुरमा नेपालीहरुको संख्या अत्यन्त कम छ ।

कोही कसैको प्रायोजनमा जाने बाहेक अरु बेलामा नेपालीहरुले ५ लाख रुपैयाँ तिरेर त्यहाँ गएको देखिँदैन । त्यहाँ धेरै जाने भनेको भारतीय, बंगलादेशी र पश्चिमी मुलुकका मानिसहरु धेरै हुन्छन् । हेली टुरमा हेलीकप्टरमा नै ५ घण्टा जति घुमाउने गरिन्छ । ५५५० मिटरको उचाईमा पुर्याएर ल्याण्ड गर्ने गरिन्छ । त्यसपछि एभरेष्ट होटलमा फर्काएर खाजा खाएर फर्काउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment