Comments Add Comment

मदन भण्डारी राजमार्गलाई ओलीको गृहनगरतर्फ सोझ्याउन खोजिएपछि विवाद

१४ पुस, काठमाडौं । सरकारले दुई वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटका विषयमा विवाद उब्जेको छ । मोरङ, इलाम र झापा जिल्लामा कहाँबाट राजमार्ग लैजाने भन्नेमा विवाद भएको हो ।

सबैभन्दा बढी विवाद भएको क्षेत्र हो, झापाको दमक । प्रधानमन्त्रीको गृहनगर दमकलाई पूर्वपश्चिम राजमार्गले छुन्छ । यही राजमार्गभन्दा माथि उत्तरतर्फ प्रधानमन्त्रीकै अग्रसरतामा ‘भ्यु टावर’ पनि बन्दैछ । अब यही भ्युटावर आसपास पर्ने गरी मदन भण्डारी राजमार्ग पनि बनाउन तयारी भएको भन्दै माथिल्लो भेगमा स्थानीयले विरोध सुरु गरेका छन् ।

स्थानीय मात्रै हैन, संघीय तथा प्रदेश सांसदहरु पनि यसको बिरोधमा छन् । मोरङको लेटाङबाटै दमकतिर सहज हुने गरी राजमार्गको रेखाङ्कन हुन लागेको आरोप उनीहरुको छ । टाँडीतर्फ जानुपर्ने राजमार्ग मधुमल्लातिर सोझिने पक्का भएपछि विरोध चर्किएको हो ।

मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा र प्रदेश सांसदहरु उपेन्द्र घिमिरे र कुशल साम्बाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेरै विरोध जनाएका छन् । संघीय सांसद खतिवडाले मदन भण्डारी राजमार्ग चुरेको फेदी हुँदै जानुपर्ने बताए । राजमार्गको पहुँच नभएका क्षेत्रका जनतालाई आफ्नो कृषि उपज बजारसम्म लैजान पनि यो राजमार्गको परिकल्पना गरिएको उनको भनाइ छ ।

‘पहिले ढाक्रेहरु हिँड्ने बाटोलाई यसको रुट बनाउनुपर्छ । यसलाई पूर्व-पश्चिम राजमार्गपट्टी सोझ्याउन हुँदैन,’ उनले भने, ‘यसले दमकमा बन्ने भ्युटावर छुनु हुँदैन, भ्युटावरलाई लिंक रोडले जोड्नुपर्छ ।’

खतिवडाले राजमार्गको सडक सीमा अहिलेको संघीय कानूनअनुसार भएमा समस्या पर्ने विषयमा पनि मन्त्रीसँग छलफल भएको बताए ।

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै झापाको बाहुनडाँगीदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेर काम थालेको दुई वर्ष बित्न लागेको छ । धेरैजसो यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने घोषणा गरिए पनि यसको १२० किलोमिटरको पूर्वी तथा १० किलोमिटरको पश्चिम खण्डमा भने अझै पनि रुटबारेको विवाद टुंगिएको छैन ।

कुन ठाउँ भएर राजमार्ग लैजाने भन्नेमा स्थानीय क्षेत्रमा अनेकन मतभेद र विवाद छन्, जसले आयोजनाको बाँकी खण्डको डीपीआर टुंग्याउन सडक विभागलाई सकस परिरहेको छ ।

यो राजमार्ग मोरङको केराबारी-लेटाङ-टाँडी मधुमल्ला हुँदै बाहुनडाँगी पुर्‍याउनुपर्ने स्थानीयको माग छ । यसलाई दमकतिर नसोझ्याउन उनीहरुले ध्यानाकर्षण गराइरहेका छन् ।

मोरङबाटै यो राजमार्ग पूर्वपश्चिम राजमार्गभन्दा केही किलोमिटर मात्रै माथि हुने गरी मोड्ने तयारी गरिएको भन्दै स्थानीयले राजमार्गलाई शहरी सडकमार्गजस्तो बनाउन नहुने बताएका छन् । दमकभन्दा करिब १७ किलोमिटर उत्तरबाट यो राजमार्ग बनाउन दमकबाहेकका स्थानीय तहका प्रतिनिधिहरुको पनि माग छ ।

सडक विभाग भने राजमार्ग घोषणा हुनुअघि नै सुनसरी र मोरङमा यो सडकको सर्भे भएको बताउँछ । त्यसैअनुसार काम गर्न खोज्दा अहिले विवाद उत्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक उमेशविन्दु श्रेष्ठले बताए । झापा र इलामतर्फ कहाँबाट राजमार्ग लैजाने भन्ने अझै टुंगिन बाँकी रहेको उनको भनाइ छ ।

‘तीन वटा विकल्पमा छलफल भइरहेका छन्, यसलाई चाँडै टुंगो लगाउने छौं,’ उनले भने ।

यसअघि चुरे पहाड छोएरै जाने गरी डीपीआर भए पनि धेरै वातावरणीय विनास निम्तिने जोखिम भएपछि रुटलाई तल झार्न खोजिएको श्रेष्ठले बताए । महेन्द्र राजमार्गको केही भाग चुरेको फेदीबाटै गएकाले त्यसलाई नै मदनभण्डारी राजमार्गको हिस्साका रुपमा राख्ने कि भन्नेे विकल्पमा पनि छलफल चलाइएको उनले जानकारी दिए ।

‘दमकमा भ्युटावरको प्रसंग सुनिएको छ, तर मलाई थाहा पनि छैन कता भ्युटावर बन्दैछ,’ श्रेष्ठले भने, ‘कहाँ कुन रुटबाट लैजादा सही हुन्छ भनेर प्राविधिक अध्ययन र छलफलबाटै टुगोमा पुग्छौं ।’

सडक विभागका प्रवक्ता शिवहरी सापकोटा प्राविधिक रुपमा उपयुक्त र सहज स्थानहरु भएरै मदन भण्डारी राजमार्ग बन्ने बताउँछन् । स्थानीय क्षेत्रको फरक-फरक मागका कारण कसरी सडक बनाउने भन्ने टुंगो लगाउन केही समय लागेको उनको भनाइ छ ।

विभागका अनुसार यो राजमार्गको धेरैजसो खण्डमा विभागले राजमार्ग घोषणा हुनुअघि नै लगाएको ठेक्का अनुसार निर्माण र स्तरोन्नतिको काम भइरहेको छ ।

योजना अनुसार पूर्वको धरानबाट झापासम्म भने १२० किलोमिटर, सुर्खेतको बोटेचौरबाट भेडाबारीसम्म ३७ किलोमिटर र बड्डीचौर-गुड्डु हुँदै कर्णालीसम्म ९४ किलोमिटरको नयाँ सडक खण्ड खोल्नुपर्ने हो । त्यसमध्ये बड्डीचौर गुड्डु हुँदै कर्णालीसम्म ९४ किलोमिटरमध्ये कर्णालीतर्फको १० किलोमिटर क्षेत्रमा अझै रुटको विवाद छ । बाँकी ८४ किलोमिटरको फिल्ड सर्भे सकिएको छ ।

सुर्खेतको बोटेचौरबाट भेडाबारीसम्म ३७ किलोमिटरको फिल्ड सर्भे सकेर डिजाइनको काम भइरहेको छ भने धरानदेखि झापासम्मको डीपीआर बने पनि विभिन्न खण्डमा विवाद भएपछि अन्योल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment