Comments Add Comment

घरेलु महिला श्रमशक्तिको सदुपयोग हुन सकेन : नगर प्रमुख सरावगी

१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महिला श्रमशक्तिको सदुपयोग गर्नु पर्नेमा जोड दिएका छन् । वीरगञ्जमा सोमबार आयोजित ‘महिला उद्यमशिलता विकासमा स्थानीय सरकार र निजी क्षेत्रको भूमिका र सहकार्य ‘ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले घरेलु महिला श्रम शक्ति खेर गइरहेको बताए ।

‘बिहान बेलुकाको घरायसी काम सकिएपछि गृहिणी महिलाले आयआर्जनका काम गर्न सक्छन् तर त्यो समय र श्रमको सदुपयोग हुन सकिरहेको छैन,’ नगर प्रमुख सरावगीले भने, ‘ वीरगञ्ज भन्सारबाट के के मालबस्तु आयात भइरहेको छ । त्यसलाई न्यूनिकरण गर्न के गर्न सकिन्छ भनेर महानगरपालिकाले अध्ययन गरिरहेको छ । आवश्यकताको आधारमा महिलालाई सीप प्रदान गर्छौ ।’

वीरगञ्ज भन्सारबाट कागति मात्रै २० करोड आयात भएको देखिएको बताउँदै उनले ४/४ बोट कागती घरमा रोप्दा पनि आयात प्रतिस्थापन गर्न सकिने बताए । नगर प्रमुख सरावगीले महिला उद्यमको विकासका लागि उपप्रमुखहरुको सक्रियता महत्वपूर्ण हुने सुझाव दिए ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले महिलामा उद्यमशिलता विकास गराउनु कम चुनौतिपूर्ण काम नभएको बताए । ‘ महिला सामाजिक, राजनीतिक, परिवारिक हिसाबले जकडिएका हुन्छन्, त्यसलाई चिरेर बाहिर ल्याउनुपर्ने हुन्छ,’ प्रमुख खनालले भने, ‘ निजगढ नगरपालिकाले नगर प्रमुखकै नेतृत्वमा महिला उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ । सबै जुटेर लाग्नुपर्छ, काम गर्न सकिन्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघ र स्वीस इन्टरकर्पोरेशन नेपालले संयुक्तरुपमा अन्तर्क्रियाको आयोजना गरेको थियो । कार्यक्रममा निम्बस ग्रुपका बरिष्ठ उद्योगपति जगदिश अग्रवालले स्थानीय सरकारले काम गर्न बाधा व्यवधान नहुनेगरि ऐन कानुन बनाउनुपर्नेमा जोड दिए ।

‘महिलालाई उत्पादनशील बनाउन आँट जगाउनुपर्छ, त्यसपछि सीप सिकाउनुपर्छ,’ उनले भने, ‘ स्थानीय सरकार कर सेवा शुल्कको नाममा तर्साएर अवरोधको रुपमा होइन, प्रवर्द्धन गर्ने निकायको रुपमा उभिनुपर्छ ।’

व्यवसायिक वातावरण बनाउने र उद्यमशिलताको विकास गर्ने काम सहज नभएपनि स्थानीय सरकारले नेतृत्व लिएर अघि बढ्नुपर्ने धारणा उद्योगी अग्रवालको छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका प्रदेश नं २ उपाध्यक्ष अशोक वैद्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता लगायतले महिलाले घरमै बसेर पनि धेरै काम गर्न सक्ने बताए । उनीहरुले खाद्यान्न, फलफुल तरकारीमा परनिर्भरता घटाउन महिला उद्यमीलाई परिचालन गर्न सकिनेमा जोड दिए ।

महिला उद्यमीलाई विना धितो ऋणको व्यवस्था खारेज भएको, केहि गर्न खोज्दा सहयोग भन्दा खुट्टा तान्ने प्रवृत्ति बढी देखिएको, सहकारीबाट ऋण लिादा समेत महिलालाई विश्वास नगरेर श्रीमान खोज्ने गरेको गुनासो सहभागीले गरेका थिए । उनीहरुले निमुखा महिलामा उद्यमशिलताको विकास गर्न स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

हेल्भेटासले स्थानीय सरकासाग मिलेर प्रदेश नं २ का ८ वटै जिल्लामा उद्यमशिलता विकास, बगरेखेति, दिगो सीप तथा रोजगार, झोलुंगेपुल निर्माण, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना, सुरक्षित आप्रवासन जस्ता ६ वटा परियोजना सञ्चालन गरिरहेको छ ।

स्थानीय सरकार र निजी क्षेत्रसँग मिलेर महिलामा उद्यमशिलता विकासका लागि काम गर्न लागेको हेल्भेटासका प्रदेश नं २ का टिम लिडर संदिप पौडेलले बताए । ‘ प्रदेश नं २ मा महिला आर्थिक, सामाजिक, स्रोत साधनका दृष्टिकोणले पछि परेका छन् । बजारले के चाहान्छ ? स्थानीय सरकारको प्राथमिकता के हो ? सरकार, निजी क्षेत्र र संघ संस्था मिलेर महिलामा उद्यमशिलता विकास गर्न के गर्न सकिन्छ भनेर सहकार्य थालनी गरेका छौं,’ पौडेलले भने, ‘ सबै सरोकारवाला मिलेर उद्यमशिलता विकास गर्ने र व्यवसायिक वातावरण निर्माण गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

अन्तर्क्रियामा कर्णली प्रदेश र प्रदेश नं २ का विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment