+
+
Shares

चरन अभावले मुस्ताङमा भेँडा-च्याङ्ग्रा व्यवसाय संकटमा

सुशीलबाबू थकाली/रासस सुशीलबाबू थकाली/रासस
२०८२ कात्तिक २१ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङको घरपझोङ गाउँपालिका-२ का सन्तोष परियारले करिब ३० लाख रुपैयाँ बराबरको २०० भन्दा बढी च्याङ्ग्रा पालन गर्दै आएका छन्।
  • परियारले चरनको अभाव र जलवायु परिवर्तनका कारण च्याङ्ग्रा व्यवसाय संकटमा परेको बताए।
  • परियारले व्यवसाय निरन्तरता दिन छोराछोरीलाई अग्रसर बनाइरहेको र दीर्घकालीन योजना आवश्यक रहेको बताए।

२० कात्तिक, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा निवासी सन्तोष परियार जसले लामो समयदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका छन् ।

उच्च हिमाली भेगको कठिन भूगोलमा च्याङ्ग्रा व्यवसाय गर्दै आएका परियारले गोठमा गोठालो नराखिकनै आफैं दैनिक उकाली ओराली गर्दै भीरपाखामा च्याङ्ग्रा धपाउँछन् । दिनभर भीरपाखामा च्याङ्ग्रा धपाउँदै बेलुकी सुरक्षित साथ गोठमा ल्याउनु परियारको दैनिकी नै हो ।

समुद्री सतहदेखी करिब ३ हजार ५०० मिटरदेखि ५ हजार भन्दा बढी उचाइमा च्याङ्ग्रा धपाउँदै आफ्नो व्यवसाय गर्दै आएका परियारले पछिल्लो समय चरनको अभाव हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

छिमेकी जिल्ला म्याग्दीबाट बर्खामा सिधै मुस्ताङको दर्जनबढी लेक र खर्कहरूमा बाख्रा र भेँडा ल्याइ चराउँदा घाँसको अभाव हुनुका साथै चरनको समेत अभाव हुन थालेको सन्तोष परियारले बताए ।

कुनै समय निर्धक्कसँग च्याङ्ग्रा पालन गरेका परियारले सरोकारवाला निकायलाई यो संकटको अवस्था आउन नदिन र दीर्घकालीन योजना सहित व्यवसायीहरूको भविष्य सुनिश्चित बनाइदिनको लागि पहल गरेका छन् ।

सुरुवाती चरणमा खुब लोभ लाग्दो यो व्यवसाय अहिले आएर विविध कारण लोप हुने हो कि भन्ने खतरा बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

तर, आफ्नो पेशालाइ निरन्तरता दिनको लागि छोराछोरीलाई समेत अग्रसर बनाइ लगेमा मुस्ताङको च्याङ्ग्रा व्यवसाय सोचेको भन्दा पनि राम्रो हुनेछ ।

सुरुआतमै करिब १५ लाख जति लगानी गरेर व्यवसाय सुरु गरेका परियारको अहिले ३० लाख बराबरको २०० सय भन्दा बढी च्याङ्ग्राहरू छन् ।

मार्फा व्यवसायिक च्याङ्ग्रा फार्मका सञ्चालक समेत रहेका परियारले घाम, पानी र हिउँको समेत प्रवाह नगरी अहोरात्र खट्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘अब आउने युवाहरूले यो पेशा गर्न निकैनै चुनौती रहेको छ ।’

किनभने यो पेशा गर्न लामो समयको अनुभव र तालिम हुनुपर्ने देखिन्छ ।

आम्दानीको हिसाबले अत्यन्तै लाभदायक भएपनि पछिल्लो समय सरोकारवाला निकायको आवस्यक ध्यान नजाँदा च्याङ्ग्रा व्यवसाय नै संकटमा पर्ने देखिएको छ ।

अहिले देशमा भएका युवाहरू समेत विदेश पलायन हुँदै जादा च्याङ्ग्रा सँगै अन्य व्यवसाय समेत जोखिममा पर्ने खतरा बढेको परियारले बताए ।

मुस्ताङको घरपझोङ गाउँपालिका र उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको करिब ५ हजार मिटरभन्दा बढी उचाइमा समेत यो च्याङ्ग्रा व्यवसाय सञ्चालनमा रहेको छ ।

अहिले आकर्षक रूपमा देखिएको यो व्यवसायमा हात हाल्नेहरूको संख्या पनि बढ्दो छ । मुस्ताङ जिल्लाको भेँडा/च्याङ्ग्रा भनेपछि जो कसैले पनि सहजै रूपमा कुनै मोलतोल नै नगरी किन्छन् ।

साथै अत्यन्तै नाफामुलक रहेको यो व्यवसायले सामान्य अवस्थामा समेत घरपरिवारको खर्च धान्न र अन्य आर्थिक कारोबार गर्न समेत सहज हुने च्याङ्ग्रा पालक किसान सन्तोष परियारले बताए । उनले भने, ‘यो पेशा केही कठिन भएतापनि आर्थिक रूपमा सामान्य परिवारको जीविकोपार्जनमा समेत सहयोगी हुनेछ ।’

सन्तोष परियारसँगै मार्फा गाउँमा दर्जनभन्दा बढी व्यवसायीले यो पेशा अङ्गाल्दै आइरहेको पाइन्छ । च्याङ्ग्रालाई बर्खाभरी हरियाली चरनमा र हिउँदमा सुख्खा भीर पहरामा चराउनुपर्छ ।

पछिल्लो केही वर्ष यता जलवायु परिवर्तनको बढ्दो असरले मुस्ताङको प्राय:जसो चरीचरनहरू मासिँदै गएको छ । लेक, खर्क र बुकिहरूमा घाँसको अभाव छ । बर्खाभरी झरी पर्दैन, हिउँद सुरु हुँदै गर्दा बेमौसमी हिमपातले दु:ख दिन्छ ।

यीनै समस्याका बाबजुद पनि परियार जस्ता मुस्ताङ जिल्लाभरीका दर्जनौं व्यवसायीहरू च्याङ्ग्रा व्यवसाय गर्न कम्मर कसेर लागिपरेका छन् ।

सन्तोष परियारले सुरुआतमा नेपाल बैंक र प्रभु बैंकबाट समेत केही अनुदान ऋण समेत पाए । उनले च्याङ्ग्रा पाल्नकै लागि भनेर ऋण लिएका हुन् । अहिले सबै ऋण तिरेर करिब ३० लाख रुपैयाँ बराबरको च्याङ्ग्राको मालिक छन् ।

सन्तोष परियारले च्याङ्ग्रा व्यवसाय गरेको करिब १० वर्ष पुग्नै लाग्दा अहिले उनी सिंगो मार्फा व्यवसायिक च्याङ्ग्रा फार्मका सञ्चालक मात्रै बनेका छैनन् उनी आम मुस्ताङ जिल्लाका च्याङ्ग्रापलक किसान र नयाँ व्यवसाय सुरुआत गर्नेहरूका लागि समेत उदाहरणीय पात्र बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?