
१७ पुस, काठमाडौं । पश्चिमी वायु सक्रिय भएपछि काठमाडौंसहित पश्चिमी नेपालमा बिहीबार वर्षा भएको छ । काठमाडौंको पूर्वी, दक्षिणी तथा दक्षिण पश्चिमी भूभागमा दिउँसो फाट्फुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
नगरकोटीका अनुसार प्रदेश ७, प्रदेश ६ र प्रदेश ४ का केही भूभागमा बिहीबार हल्का वर्षा भएको छ । ‘आज फाट्फुट् पानी परेकोले भोलिदेखि चिसो बढ्ने छ ।’ मौसमविद नगरकोटीले भनिन्।
शुक्रबार पनि पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसविद नगरकोटीका अनुसार बिहीबार बिहान ८:४५ बजेको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम् तापक्रम १८.४ हुने अनुमान गरिएको छ ।
गत पुस १२ गते काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको थियो । उक्त दिन काठमाडौंको बिहान ८:४५ बजे मापन गरिएको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।
उच्च हिमाली भेगमा हिमपात
देशका उच्च हिमाली तथा पहाडी भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हिमपात सुरु भएको छ ।
बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।
बुधबार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।
बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ ।
प्रतिक्रिया 4