
१८ पुस, काठमाडौं । वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगमा पुराना पदाधिकारीहरु नदोहोरिने सम्भावना बढेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगमा अध्यक्ष र सदस्यहरु सिफारिस गर्न बनेको समितिले प्रस्तावित व्यक्तिबारे शुक्रबारदेखि पुन: छलफल अघि बढाएको छ ।
आयोगले केही पहिले सम्भावित ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको थियो । तर, एउटा उजुरी पर्यो भने एउटा नाम फिर्ताको आवेदन पर्यो ।
त्यसपछि सिफारिस समितिका संयोजक पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र अमेरिका गएका कारण समितिको काम प्रभावित भयो । उनी फर्किएसँगै शुक्रबार बसेको बैठकमा समितिले थप छलफल अघि बढाएको छ ।
समितिकी सदस्य एवं प्रवक्ता शर्मिला कार्कीले भनिन्, ‘छलफल सुरु भएको छ । सम्भवत अब दुईवटा बैठक बसेपछि दुबै आयोगमा पदाधिकारी सिफारिस गर्छौ ।’ यसका लागि आगामी २२ र २३ गते दुई दिन लगातार बैठक बस्ने तयारी छ ।
भदौमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसका नेताहरु वेपत्ता आयोगमा पुरानै टिम दोहोर्याउन सहमत देखिएका थिए । तर द्वन्द्वपीडितहरुले विरोध गरे ।
पछिल्लो समय त्यसमा मानवअधिकार आयोग र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहमति जनाएका छन् ।
सिफारिस समितिका एक सदस्य भन्छन्, ‘व्यक्तगतरुपमा म पनि पुरानो पदाधिकारी दोहोर्याउनु उपयुक्त हुन्न भन्ने मान्छु । तर, के निर्णय हुन्छ अहिले भन्न गाह्रो छ ।’
तर उच्चस्रोतले भने सत्य निरुपणमा सहप्राध्यापक गणेशदत्त भट्टलाई अध्यक्ष बनाउने पक्का भएको छ । यस्तै पुरानो टिम नदोहोरिने अवस्था आयो भने पूर्वन्यायाधीशलाई वेपत्ता आयोगको अध्यक्ष बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
प्रतिक्रिया 4