Comments Add Comment

हालसम्मकै बृहत स्वास्थ्य शिविर सञ्चालन गर्‍यौं : सेना

२० पुस, काठमाडौं । नेपाली सेनाले हालसम्मकै वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको दाबी गरेको छ ।

प्रदेश २ को महोत्तरीको सोनम गाउँपालिका–३ र जलेश्वर अस्पतालमा सञ्चालित १० दिने स्वास्थ्य शिविर हालसम्मकै वृहत भएको सेनाले जनाएको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सेवाग्राही संख्याको हिसाबमा शिविर वृहत भएको निष्कर्ष निकालिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरेर आयोजित शिविरबाट ३४ हजार एक सय ७२ जनाले सेवा लिएका छन्’, आइतबार आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने ।

उनका अनुसार शिविरिमा ३ सय २९ जनाको सफलतापूर्वक शल्यक्रिया पनि गरिएको छ ।

‘शिविरमा सेनासँग भएका स्रोत, साधन, विशेषज्ञ १८० जना डाक्टर र अन्य स्वास्थ्यकर्मी ११० जना निरन्तर खटाइएको थियो’, पाण्डेले भने, ‘प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशनको लक्ष्य नं. ६ मा नेपाली सेना र नागरिक बीचको सम्बन्धलाई अभिवृद्धि गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप शिविर सञ्चालन गरेका थियौं ।’

सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेङ्गुको समस्या आउन नदिन विषादी पनि छरेको थियो । शिविरको तालिकाभित्रको काम नभए पनि नेपाली सेनाको प्रयत्नले पनि डेङ्गु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न थप काम गरिएको जनाइएको छ ।

शिविरमा जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, श्वासप्रश्वास, मानसिक रोग, हर्निया, हाइड्रोसिललगायत विभिन्न रोगको उपचार गरिएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार यस किसिमको स्वास्थ्य शिविर २०७४ सालमा १३३ र ०७५ सालमा २ सय ६३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment