Comments Add Comment

निमित्तकै भरमा डडेल्धुरा अस्पताल

२० को दरबन्दी, ३ जना मात्रै बिशेषज्ञ डाक्टर

२१ पुस, डोटी । विशेषज्ञ अस्पताल भनेर नामाकरण गरिएको डडेल्धुरा जिल्ला अस्पतालको बिशेषज्ञता कागजमै सिमित छ ।

संघीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, हाल तीन जना मात्रै कार्यरत छन् । अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन ।

११ औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी त छ तर त्यो पद सधैं रिक्त नै हुन्छ । अस्पताल प्रशासन निमित्तकै भरमा चलेको हुन्छ ।

निमित्तले अस्पताल प्रमुख भएर चलाउने कुरा नौलो भने होइन डडेल्धुरा अस्पतालका लागि, स्थापना कालदेखिनै यस्तै चल्दै आएको छ ।

हाल अस्पतालमा कार्यरत तीन जना बिशेषज्ञमध्ये छात्रवृत्ति करारमा एक र अस्पताल विकास समितिबाट करारमा दुईजना चिकित्सक छन् । अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ ।

१९ जनामध्ये नौ को पदपूर्ति भएको देखिन्छ, त्यो पनि कागजी मात्रै । पदपूर्ति भएको भनिएका नौ जनामध्ये पाँच जना अध्ययन बिदामा छन् । १९ को दरवन्दीमा हाल जम्मा चार जना मात्रै अस्पतालमा कार्यरत छन् ।

संघीय स्वास्थ्य मन्त्रालयले पठाएका ११ स्थायी र तीन करार गरि १४ जना चिकित्सकमध्ये तीन जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन् । बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन् ।

मन्त्रालयले पठाएका चिकित्सकमध्ये सात जना यस अघिदेखि नै अध्ययन बिदामा छन् भने एक जना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन् ।

यस्तै अर्का एक जना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन् । करारमा पठाएका दुई जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए ।

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको बिष्टको भनाइ छ । कर्मचारी समायोजनपछि डडेल्धुरा अस्पतालमा रहेका चिकित्सकहरु सरुवा भएर गएका तर नयाँ नआएका कारण समस्या भएको डा. विष्टले बताए ।

डडेल्धुरा अस्पतालका नयाँ निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा बिष्टले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरी अस्पतालको बारेमा जानकारी गराएका छन् । उनले अस्पतालमा चिकित्सक अभाव नै प्रमुख समस्याको रुपमा रहेको बताए ।

‘यो अस्पतालको प्रमुख समस्या भनेको दरबन्दी अनुसार चिकित्सक नहुनु हो’ डा बिष्टले भने ‘संघीय सरकार मातहत रहेको अस्पतालमा स्वास्थ्य मन्त्रालयले नै दरबन्दी अनुरुपका चिकित्सक पठाउनु पर्ने हो तर आएका छैनन् ।’ अस्पतालको आन्तरिक व्यवस्थापनका लागि आफूले प्रयत्न गर्ने बताउँदै डा. बिष्टले जनशक्ति पठाउनका लागि संघीय सरकारसंग आग्रह गरे । उनले बाहृय वातावरणका लागि यहाँका सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए ।

डडेल्धुरा अस्पतालमा चिकित्सकहरुलाई काम गर्न कुनै समस्या नरहेको डा.बिष्टले सञ्चारकर्मीहरुसँगको भेटघाटमा वताए । राजनीतिक दल, स्थानीय प्रशासन र नागरिक समाज अस्पतालको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढेकाले अस्पताल प्रशासनले समेत हातेमालो गर्दै अगाडि बढ्ने उनले बताए ।

अहिले अस्पतालमा सिजरियन सर्जरी सेवा, यूएसजी सेवा, इन्डोस्कोपी सेवा तथा एसएनसीयू सेवा संचालनमा आएको छ । अस्पतालमा एक सय आठ जनाको दरबन्दी स्वीकृत भएपनि दरबन्दी अनुसार कर्मचारी छैनन् ।

तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समितिभंग भएपछि हालसम्म विशेषज्ञ अस्पतालको विकास समिति समेत गठन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment