Comments Add Comment

भरिया दाइ, कहाँ बिसाउँछौ मनको भारी ?

चिसोका कारण हत्केलाको पछाडिपट्टी फुटेको हात, रातो ज्याकेटमाथि कालो टोपी, जिन्सको पाइन्ट र पूरा पाखुरा छोपिने सेतो र नीलो टिसर्ट । दक्षिणकाली नगरपालिकाको सीमाना पार गरेर टौदह क्षेत्रतिर प्रवेश गरेसँगै लामो सुस्केरा हाल्दै नजिकै रहेको एउटा टहराको छेउमा भारी बिसाउँछन्, सानोकान्छा तामाङ ।

उनको संघर्षलाई मानसिक समस्याले रोकेको छैन । झनै जीवनलाई चिन्ने मौका पाएका छन् उनले । उनको मानसिक स्थितिलाई यही समाजले कमजोर गरायो । यो समाज जसले देवकोटालाई पनि त पागल भनेकै हुन् । जीवनलाई फरक तरिकाले जिउन चाहनेहरुको लागि सबै पागल समान मानिन्छन् । समाजले यस्तै सोच्यो सानोकान्छालाई पनि । उनी भन्छन् ‘दिमागले भनेको बेलामा राम्रोसँग काम गर्न नसक्ने भएपछि मेरो पेशा बदलियो । म गाडीको भारी बोक्न छाडेर डोकोमा भाँडाको भारी बोक्न सुरु गरेँ ।’

उनको त्यही भारीसहितको यात्रालाई चाल्नाखेलबाट पछ्याउँदै आएका अनलाइनखबरकर्मीसँग टौदहसँगै रहेको खहरे खोलाको छेउमा आइपुगेपछि उनी आफैंले कुरा निकालेर सहज गराइदिए । उनको जीवनको एउटा लामो अध्यायको छोटकरीमा सुन्नको लागि कुनै चौतारी चिसो हावा थिएन । तर, त्यही टहरा निर भारी बिसाएपछि सुरु भयो उनको दुखान्त जीवनको अध्याय ।

उमेरले उनी ६० औं वसन्त पार गरिसकेका छन् । पछिल्लो १५ वर्षमा उनले जति धेरै उतारचढावको सामना गर्नुपर्‍यो । त्यति उनले सुरुका ४५ वर्षमा भोग्नु नपरेको सुनाउँछन् । ‘यही भाग्यको जिम्मा हो जहाँसम्म पुर्‍याउँछ हेर्दै जानुछ ।’ उनले भने । उनको कथा सुन्दै जाँदा लाग्थ्यो एउटा क्षमतावान कथाकारले रचेको एउटा मुख्य पात्र हुन् तामाङ ।

उनको जीवनको नयाँ संघर्षको अध्याय विसं २०६१ सालको जेठ महिनाबाट सुरु हुन्छ । सिमसिम पानी परेर अध्यारो भएको दिन । चिप्लो बाटोमा तीब्र गति । अलिकती उनको पनि गल्ती थियो, धेरै मौसमको । त्यही गल्तीले उनी अहिले भारी बोकेर दैनिकी बिताउन बाध्य भएका छन् । उनको जीवन कथा बाहिर ल्याउनेबारेमा हामीले उनसँग नै अनुमती माग्यौं । अनुमती स्वरुप कथा सुरु भयो । हामीले लेखिरहृयौं, जसरी व्यासले भनेको कथा गणेशले लेख्दै थिए । त्यसरी नै उनको दुखद् जीवनको धाराप्रवाह चलिरहृयो ।

उनी एउटा सरकारी जागिरे हुन् पहिलेको । सरकारी जागिर खानु अघिको घटनालाई बिर्सिन आग्रह गर्छन् उनी । बाग्लुङ-काठमाडौंको साझा यातायातका चालक । मदिरा बन्दै थियो । जनजाती भएपनि उनले मदिरा खाने गरेका थिएनन् । जेठको महिनामा काठमाडौं तर्फ आउँदैगर्दा मुग्लिन नजिकै चिप्लिएर गाडी त्रिसुलीमा खस्यो । उनी भन्छन् ‘मान्छे के कस्तो भयो मैले बिर्सिएँ । म बाँचँे, तर, मेरो जागिर बाँचेन । सोही घटनापछि मेरो जागिर खोसियो ।’

भएको दुर्घटना उनको मानसपटलबाट अझैपनि हट्न सकेको छैन । त्यहाँको त्यो अवस्था, त्यहाँ उभिएका मानिसहरु र उनले पुर्पुरोमा हात राखेर बसेको त्यो दृश्यलाई उनले १५ वर्षसम्म पनि मेट्न सकेका छैनन् । उनले सायदै त्यतिबेलाको परिस्थितिले उनको आजको स्थितिलाई देखाएको भए उनको जीवनले अर्कै मोड पनि लिन सक्थ्यो । तर, केवल उनी कर्ता बनेर काम गरिरहे । यसको नतिजाको उनलाई कुनै चासो थिएन ।

बिहीबार विहान दक्षिणकालीबाट भाँडाकुँडाको भारी बोकेर सुरु भएको उनको यात्रा दिउँसोको झण्डै साढे २ बजे दक्षिणकाली नगरपालिकाको सीमा पार गरिसकेका थिए । उनी आफैंलाई थाहा छैन आजको यात्रा कहाँसम्मको हो । यत्तिमात्रै थाहा छ कि उनको आँखाले भेउ पाएसम्म उनी त्यही भारी बोक्नै पर्छ । त्यसैले उनले आफ्ना मालिक भूपेन्द्र बानियाँलाई सोध्ने गरेका छैनन् कि आजको यात्रा कहाँसम्मको हो भनेर ।

विसं २०६१ सालमा देशमा लोकतन्त्रको लागि आन्दोलन चलिरहेको थियो । त्यतिबेला उनी सरकारको नुन खाएका एक कर्मचारी थिए । साझा यातायातका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका थिए । तर, उनलाई राजनीतिप्रति कुनै चासो छैन । त्यसैले आन्दोलनप्रति पनि उनले वास्ता गरेनन् । उनलाई अहिले पनि राजनीतिको घनचक्करमा फस्न मन लाग्दैन । बस्, एउटा जीवन छ त्यो चल्नु पर्‍यो ।

उनले घरमा एक श्रीमती र दुई बच्चाहरु रहेको र बच्चाहरु हुर्किइसकेको बाहेक यसबारेमा थप कुरा खोल्न चाहेनन् । उनी परिवारको कुरा गर्दा एकाएक भावुक हुने गर्छन् ।

त्यही दुर्घटनालाई उनले भावीले लेखेको भाग्य सम्झिएर आफैं सम्हालिए । त्यही समयमा उनी जागिरबाट निस्किएको समय थियो । जतिबेला उनका बच्चाहरु साना थिए । सबैको जिम्मेवारी सानोकान्छाकै काँधमा थियो । त्यही जिम्मेवारीले उनलाई एउटा चालकबाट भरियाको रुपमा सीमित गराइदियो ।

जागिरबाट निकालिएपछिको यो १५ वर्षमा उनले नचलाएको सवारी कमै होलान् । उनी भन्छन् ‘सुरुमा टेम्पो चलाइयो, त्यसपछि टाटामोबाइल, पछि ट्याक्सी । अब कसैले पनि उनलाई पत्याउन छाडेपछि डेढ महिनाअघिदेखि उनी सामान बोक्ने काममा लागेको बताउँछन् ।

उनले यो काम बापत मासिक १० हजार रुपैयाँ पाउने गरेका छन् । उनका मालिक भूपेन्द्र बानियाँ भन्छन् ‘पहिलैदेखि चिनजान भएको मान्छे, गाडीमा कतैपनि काम नपाएपछि अहिले मैले काममा राखेको छु । यहाँ काम सुरु गरेपछि उनको दिमागले काम नगरेको कहिलै पनि पत्ता लागेको छैन । धेरै आम्दानी भएको भए त मीठो मीठो पनि खुवाउनु हुन्थ्यो नि । पैसा पनि धेरै दिन हुन्थ्यो । अहिले व्यापार नै छैन, त्यसैले समस्या छ । कुनै दिन त ५/६ हजार पनि आम्दानी हुन्छ । तर, कुनै दिन फेरि भुक्का ।’

सानो कान्छाका अनुसार पुराना सामान बोक्नुपरेको दिन त ६०/७० किलो पनि हुने गर्छ । नयाँ भाँडाकुँडा मात्रै भएको बेलामा ४० देखि ५० किलोको हाराहारीमा हुने उनी बताउँछन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment