+
+

इरानमा बोइङ दुर्घटना, १७६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १२:१९

२३ पुस, काठमाडौं । युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् ।

बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको थियो ।

उक्त विमानमा १६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । ती सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी आईएसएनएसँग कुरा गर्दै रेड क्रिसेन्टका प्रमुखले भनेका छन्, ‘विमान दुर्घटनामा जिउँदा व्यक्ति फेला पर्ने सम्भावना छैन ।’ रेड क्रिसेन्ट मुस्लिम देशहरुको एक संगठन हो जसले विपदमा परेकाहरुलाई सघाउँछ ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।

बोइङ जहाज पटक-पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरेको थियो ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो ।

बोइङका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । त्यसले गलत तथ्यांक देखाउँदा दुर्घटना भएको निष्कर्षसहित सो सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको बोइङका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?