Comments Add Comment

मेलम्चीको प्रगतिबारे मन्त्रालयमा छलफल

२३ पुस काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे बुधबार सिंहदरबारमा छलफल गरेकी छिन् । असारसम्म सुन्दरीजलमा पानी खसाल्ने योजना सरकारको छ ।

मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्था बारे जानकारी लिइन् । छलफलमा उनले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिइन्।

उनले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगति बारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिएकी हुन्।

छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारे । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।  आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

निर्धारित समयअघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी (ठेकेदार कम्पनी)लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधिभित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ ।

सुरूङको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध–चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ ।

यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment