
२३ पुस, काठमाडौं । दुबई जुनियर ईन्टरनेशनल सिरिजका विजेता नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी शुरुवात गरेका छन् ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा दाहालले भारतका आर. बिकास प्रभुलाई २-१ को सेटमा हराए । जितपछि प्रिन्स क्वाटरफाइनल प्रवेश गरेका छन् ।
पहिलो सेट २१–१५ ले जितेका प्रिन्स दोस्रो खेलमा भने , २१–७ ले पछि परे । तर तेस्रो तथा निर्णयाक सेट २१–१४ ले आफ्नो पक्षमा पार्दै प्रिन्सले खेल जितेका हुन् । प्रिन्सले अब क्वाटरफाइनलमा भारतकै अर्का खेलाडी अायन रसिदसंग खेल्नेछ ।
आयनले नेपाली खेलाडी अमृत चौधरीलाईलाई २१–८, २१–७ को सेटमा पराजित गरे ।
यू १९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दा अमृतसहित अन्य नेपाली खेलाडीहरुले भने पहिलो खेलमै पराजित भए ।
पुरुष एकलतर्फ नेपालका जे.बि. साउद भारतका खेलाडी शिभम कुमार मिश्र संग २१–१६, २१–११ ले पराजित भए । यस्तै प्रियान्शु सिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रमा संग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितिया संग १७–२१, २१–८ र २२–२० ले पराजित भए ।
यस्तै गोकुल जोरा भारतका अभिन वशिष्ठ संग २१–९, २१–९ को अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलान संग २१–१०, २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसंग २१–४, २१–६ ले पराजित भए ।
प्रतियोगितामा बिहिबारको खेल १२ बजेदेखि शुरु हुनेछ ।
प्रतिक्रिया 4