Comments Add Comment

सुदूरपश्चिम सरकारसँग पर्यटकको तथ्यांक राख्ने संयन्त्र छैन

२४ पुस, डोटी । नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने भन्दै पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन विधिवत् रुपमा उद्घाटन गरेको छ । देशभरीमा २० लाख पर्यटकहरु भित्र्याउने लक्ष्य नेपाल सरकारले राखेको छ ।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सोही दिन सुदूरपश्चिम प्रदेश सरकारले पनि तामझामका साथ भ्रमण वर्षको उद्घाटन गर्‍यो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा कैलालीको धनगढीमा आयोजना गरिएको भव्य कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले ‘भ्रमण वर्ष-२०२०’ उद्घाटन गरेका थिए । सो अवसरमा बिभिन्न जिल्लाका सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थिए ।

प्रदेश सरकारले प्रदेशमा तीनदेखि पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तीन लाख मात्रै लक्ष्य मान्ने हो भने प्रत्येक दिन करिब ८२२ पर्यटक प्रदेशमा भित्रिनु पर्छ । तर, भ्रमण वर्ष सुरु भएको ८ दिन बित्दा कति पर्यटक आए भन्ने प्रदेश सरकारसँग कुनै तथ्यांक छैन । ८ दिनको तथ्यांक मात्रै होइन्, वर्षभरीको तथ्यांक राख्ने कुनै संयन्त्र नै छैन ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र बैतडीको झुलाघाटलाई प्रदेशमा पर्यटक भित्रिने मुख्य सडक नाकाको रुपमा लिइएको छ ।

यस्तै कैलालीको गेटा, बाजुराको कोल्टी र अछामको साँफेवगर विमानस्थल हाल सञ्चालनमा रहेका छन् । त्यसो त कैलालीको खक्रौला, शक्ति, कञ्चनपुरको पुनर्वास, दार्चुलाको धार्चुलालगायतका नाकाहरुबाट पनि पर्यटक भित्रिने सम्भावना रहेको छ ।

प्रदेशका यी नाकाहरुबाट कति पर्यटक भित्रिए भन्ने जानकारी पाउने कुनै संयन्त्र नरहेको बताउँछन् सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन शाखा प्रमुख भोजराज पाठक ।

उनले भने, ‘त्यस्तो छुट्टै संयन्त्र त केही पनि छैन, होटेलहरुमा कति पर्यटक बसे त्यो आधारमा महिनामा एक पटक हिसाब निकाल्छौं ।’ उनले पर्यटकको तथ्यांक राख्ने संयन्त्र हुनु पर्ने महसुस त गरे तर त्यस्तो कुनै योजना नभएको बताए ।

भ्रमण वर्ष सफल बनाउनका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुबीच कुनै समन्वय नभएको समेत पाठकले बताए । उनले प्रदेश सरकार र स्थानीय सरकार आ-आफ्नै तरिकाले भ्रमण वर्ष सफल बनाउन लागेको जानकारी दिए ।

भ्रमण वर्ष सफल बनाउनका लागि प्रदेश सरकारले २० लाख बजेट छुट्याएको छ । यस्तै नेपाल सरकारले भ्रमण वर्षकै लागि प्रदेश सरकारलाई २५ लाख रुपैयाँ दिएको छ । तर, भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारसँग ठोस योजना भने देखिदैन ।

पर्यटकको तथ्यांक संकलन गर्दै ट्राफिक प्रहरी

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले भने सीमा क्षेत्रबाट आउने सवारी साधन र पर्यटकहरुको तथ्यांक राख्ने गरेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार भ्रमण बर्ष २०२० सुरु भए यता मंगलबारसम्म एक हजार दुई सय ३५ सवारी साधनबाट पाँच हजार चार सय २९ पर्यटन नेपाल भित्रिएका छन ।

भ्रमण वर्ष २०२० सुरु भए यता एक साताको अवधिमा त्रिनगर नाकाबाट तीन हजार ३९, टिकापुर नाकाबाट सात सय १९ र गड्डाचौकी नाकाबाट एक हजार ६७१ पर्यटक भित्रिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्ऽ श्रेष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment