Comments Add Comment

१ उपमेयर र ६ वडाध्यक्षलाई समाजवादीले सोध्यो स्पष्टीकरण

२५ पुस, बुटवल । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीको सम्पर्कमा नरहेको र पार्टी हितविपरीत काम गर्न थालेको भन्दै समाजवादी पार्टीले लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरसहित ६ वडाध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

समाजवादी पार्टी रूपन्देहीको पदाधिकारी वैठकको निर्णय अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर जानकीदेवी श्रीवास्तव, वडा नंं.३ का अध्यक्ष एकरामुद्दिन नाउ, वडा नंं. ६ का अध्यक्ष नैमुल्लाह मुसलमान, वडा नंं.११ का वडा अध्यक्ष एकराम मुसलमान र नगर कार्यपालिका सदस्य अलरखा मुसलमानलाई स्पष्टीकरण सोधिएको समाजवादी पार्टीले जनाएको छ ।

यस्तै कोटहीमाई गाउपालिका वडा नं ४ का वडा अध्यक्ष ओमप्रसाद पाण्डे, मर्चवारी गाउँपालिका वडा नं ३ का अध्यक्ष नारायणबहादुर यादव, गैडहवा गाउंपालिका वडा नंं २ का अध्यक्ष तुलबहादुर राना र जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य छोटु हरिजनलाई पनि समाजवादीले स्पष्टीकरण सोधेको छ ।

उनीहरूलाई पुस २८ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको र चित्तबुझ्दो जवाफसहित पार्टीमा सक्रिय रहने प्रतिबद्धता नआए पार्टीबाट निष्कासन गरिने समाजवादी पार्टी रूपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उपमेयरसहित वडा अध्यक्षहरू पछिल्लो समय नेपाली कांग्रेससँग नजिक भएपछि समाजवादीले कारबाही प्रक्रिया थालेको हो । गत स्थानीय तह निर्वाचनमा फखरुद्दिन खानसमेत फोरमबाट चुनाव लडेका थिए । स्थानीय चुनावमा पराजित उनी पछि कांग्रेस प्रवेश गरेर प्रदेशसभा सदस्य बनेका थिए । खानकै पहलमा उपमेयर र वडाअध्यक्षहरू कांग्रेसको पक्षमा लागेका हुन् ।

रूपन्देहीको स्थानीय तहमा समाजवादी पार्टी दोस्रो ठूलो दल हो । पार्टी जिल्ला अध्यक्ष यादवले स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूले पार्टी छाडेको अवस्थामा पनि समाजवादीको दोस्रो स्थानमा फरक नपर्ने बताए । निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले निष्कासन गरेमा उनीहरूको पद स्वतः खारेज हुने कानुनी व्यवस्था हालै मात्र आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment