Comments Add Comment

परमाणु बम : के नेपाल पनि जोखिममा पर्न सक्छ ?

आणविक हतियारमा रसिया पहिलो, अमेरिका दोस्रो

२६ पुस, काठमाडौं । आफ्ना शक्तिशाली सैन्य नेता कासिम सुलेमानीको हत्यापछि आक्रोशित बनेको इरानले गत सोमबार २०१५को परमाणु सम्झौता तोड्ने निर्णय गर्‍यो । थप आणविक हतियार नबनाउने सम्बन्धमा विभिन्न ६ मुलुकबीच भएको सो सम्झौता खारेज गर्दै विनाकुनै अवरोध आणविक हतियारमा वृद्धि गर्ने इरानको घोषणाले विश्व शक्तिराष्ट्रको टाउको दुखाइ सुरु भएको छ ।

इरानको सो निर्णयलगत्तै फ्रान्स, बेलायत जस्ता देशहरुले तत्कालै इरानलाई थुम्थुम्याउने प्रयास गरेका छन् । पहिले आक्रामक बनेको अमेरिका पनि एक पाइला पछि सरेर इरानको आक्रोशलाई मत्थर पार्ने प्रयासमा जुटेको छ ।

केही समय अघि भारत र पाकिस्तानबीच भएको सीमा विवादको समयमा दुबै मुलुकले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए । आणविक हतियारको कुरा सुनेसँगै विश्व सचेत बन्यो । दुबैको विवाद साम्य पार्न प्रत्यक्ष वा परोक्ष रुपमा शक्तिशाली मुलुकहरुले राम्रो भूमिका खेले ।

उत्तर कोरिया कति शक्तिशाली छ ? भन्ने यकिन जानकारी नभए पनि आणविक हतियारको धम्कीका कारण विश्व उत्तर कोरियासँग सधैं त्रसित छ । यस्तै, आणविक हतियारको परिघटनाहरुलाई विश्लेषण गर्दा यो पौराणिक कथाको ब्रहृमास्त्रको जस्तो अन्तिम अवस्थामा प्रयोग गर्ने हतियारको रुपमा हरेक शक्तिशाली देशले आफ्नो क्षमता अनुसारको शक्ति सञ्चय गरेर राखेका छन् ।

तर, नेपाल जस्ता देशहरु यही शक्ति राष्ट्रहरुले एक अर्कालाई दिएको धम्कीमा समेत सधैंभरि त्रसित बनेर बस्नु परेको छ । आणविक हतियारप्रति किन यति धेरै मानिसहरुको त्रास छ त ? नेपालमाथि अहिलेको अवस्थामा कसैले पनि आणविक हतियार प्रयोग गर्ने अवस्था छैन ।

भनिन्छ, अहिले दुनियाँमा २० देखि २६ हजारसम्म परमाणु हतियारहरु संरक्षित अवस्थामा छन् । पुरै विश्वलाई ध्वस्त गराउनको लागि केवल ३०० देखि ४०० परमाणु बम नै पर्याप्त हुन्छ । परीक्षणको नाममा माटो र वातावरणको लागि अत्यन्त हानिकारक धेरै रेडियोधर्मीहरु वायुमण्डलमा छाडिसकिएको छ ।

जानकारहरुका अनुसार परमाणु हतियारको परीक्षणले समेत वायुमण्डललाई धेरै नोक्सानी पुर्‍याइरहेको छ । त्यसैले कुनै पनि शक्तिशाली शासकको झिनो उत्तेजनामा नै विश्व ध्वस्त हुनसक्नेे अवस्था छ । त्यसैले आणविक हतियारको कुरा सुन्नेवित्तिकै सारा विश्वको ध्यान त्यतातिर जाने गरेको जानकारहरु बताउँछन् ।

आणविक बम आफैंमा अत्यधिक असरयुक्त हतियार हो । यसको तत्कालीन रुपमा त ठूलो असर पर्छ नै । दीर्घकालसम्म पनि यसले ठूलो असर गर्ने जानकारहरु बताउँछन्

आणविक रसायन शास्त्री प्राध्यापक डा. तुलसी पाठकका अनुसार सन् १९४५ मा हिरोसिमा नागासाकीलाई खण्डहर बनाएर परमाणु हतियार आक्रमणको सुरुवात भएको थियो । त्यसपछि विश्वमा यसको परीक्षण गर्ने बाहेक खासै यस्तो हतियार प्रयोग गरिएको छैन । तर, परमाणु हतियारको प्रयोग गर्ने धम्कीहरु हरेक युद्धमा दिने गरिन्छ । त्यसैले अहिलेसम्म जेनतेन बाँचिरहेको भएपनि कुन दिन मुडी शासकले यसको गलत प्रयोग गरेर दुनियाँलाई नै ध्वस्त गराउने हो ? भन्ने निश्चित नभएकाले विश्व सधैं त्रासमा बाँच्नु परेको पाठकको बुझाइ छ ।

के हो परमाणु बम ?

आधुनिक विज्ञानका अनुसार कुनै पनि पदार्थको सबैभन्दा सानो इकाई परमाणु हो र परमाणु बन्नका लागि प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनको मिश्रण हुनु आवश्यक हुन्छ । पहिले-पहिले युरेनियमलाई नै रेडियो एक्टिभका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अहिले थोरियम र प्लुटोनियमलाई समेत यसमा प्रयोग गर्ने गरिन्छ ।

युरेनियमको यु २३५ र यु २३८ गुणहरुमध्ये यु २३५ आणविक हतियार बनाउनका लागि प्रयोग गर्ने गरिन्छ भने यु २३८ लाई ऊर्जाका लागि प्रयोग गरिन्छ । पृथ्वीमा यु २३५ युरेनियम केवल ०.७ प्रतिशत मात्रै रहेको मानिन्छ ।

सामान्यतया परमाणु बम एक किलोग्राम युरेनियमको प्रयोग गरेर बनाउने गरिन्छ । यो बमको आकार अनुसार धेरै-थोरै पनि हुन सक्छ । एक किलोग्राम युरेनियमको विस्फोटबाट निस्किने ऊर्जा २० हजार किलोग्राम टीएनटीको  विस्फोट बराबर हुन्छ । जबकि सन् १९४५ मा हिरोसिमामा खसालिएको बमको शक्ति ११ किलोटन टीएनटीको बराबर थियो । यसको अर्थ विश्वमा अहिले तयार पारिएका आणविक बमहरु हिरोसिमामा खसालिएका बमको तुलनामा हजारौं गुणा ठूला छन् । यी सबै बममा परमाणुको विखण्डनबाट अत्याधिक मात्रामा ताप निस्कने भएकाले यो विस्फोट भएको क्षेत्र वरपरको भूभाग क्षणभरमै खरानी हुन्छ ।

आणविक बम विस्फोट हुँदा कति पर्छ असर ?

आणविक बम आफैंमा अत्यधिक असरयुक्त हतियार हो । यसको तत्कालीन रुपमा त ठूलो असर पर्छ नै । दीर्घकालसम्म पनि यसले ठूलो असर गर्ने जानकारहरु बताउँछन् । पाठकका अनुसार एउटा आणविक बमको विस्फोट हुँदा त्यसले ६ बर्गमाइलसम्मका बोटबिरुवा र जीवहरुलाई क्षणभरमा नै खरानी बनाउने क्षमता राख्छ । त्यसमा उत्पन्न हुने हजारौं डिग्री सेन्टिग्रेटको तापक्रमले त्यो आसपासको क्षेत्र क्षणभरमा नै खरानी हुन्छ ।

पाठक भन्छन् ‘भारत र चीन जस्ता शक्तिशाली मुलुकको बीचमा रहेको नेपाल सधैंभरी यसको जोखिममा छ । छिमेकी मुलुकमाथि कसैले परमाणु हतियार प्रयोग गर्यो भने वा भारत र पाकिस्तानबीचको युद्धमा पनि यस्तो हतियारको प्रयोग भयो भने यसको असर तत्कालै नेपालसम्म आइपुग्छ । एशियाका धेरै मुलुकहरुले एनपिटीमा हस्ताक्षर समेत नगरी तीब्र गतिमा परमाणु हतियार बनाउँदै आएका छन् । यसकारण पनि यो क्षेत्र परमाणु हतियारको दृष्टिले उच्च जोखिममा रहेको उनी बताउँछन् ।

‘चीनमा २९० वटा एटोमिक बम छ । पाकिस्तान र भारतले पनि कसले धेरै बनाउने ? भन्नेबारे प्रतिस्पर्धा गरिरहेका छन् ।’ उनी भन्छन् ‘भारत, चीन र पाकिस्तानबीच सधैं सीमा विवाद भइरहने र दुई शक्तिराष्ट्रको बीचमा रहेकोले नेपाल पनि यस विषयमा अहिलेदेखि नै सचेत हुनुपर्ने देखिन्छ ।’

यो पनि पढ्नुहोस मध्यपूर्वमा युद्ध हुँदा नेपाललाई के असर पर्छ ?

पाठकका अनुसार एटोमिक बमको एउटा त तत्कालै असर देखिन्छ भने अर्काे दीर्घकालसम्म पनि यसको असर चलिरहन्छ । जसरी हिरोसिमा र नागासाकी अहिलेसम्म पनि खण्डहर छ र अहिले जन्मिने बच्चाहरुमा समेत त्यतिबेलाको असरका कारण विभिन्न स्वास्थ्य समस्याहरु देखिने गरेको छ । त्यसैगरी कुनैपनि ठाउँमा एक पटक आणविक हतियार प्रयोग गर्दा त्यो ठाउँको पारिस्थितिक पद्धति नै नष्ट भएर वषर्ाैं वर्षसम्म पनि यसको असर चलिरहने गर्छ ।

पाठकका अनुसार एटोमिक बम विस्फोट हुँदा अल्फा, बिटा र गामा गरी तीन किसिमका विकिरणहरु आउने गर्छ । गामा विकिरण अल्फा र बिटा भन्दा निकै हानिकारक हुन्छ । यसले ६ वर्गमाइलसम्मका सबै बोटबिरुवा र जीवहरुलाई खरानी बनाउँछ ।

सीजीएम १३० लगायत विभिन्न किसिमका रेडियो आइसोटप्सहरुको हाडहरुलाई समेत असर गर्ने विकिरण प्रसार गर्ने गर्छ । आयोडिन १३१, ब्यरियम १४० आदि आइसोटप्सहरु विष्फोट भएको बमबाट बाहिर निस्कन्छ । त्यसले गर्दा वातावरणमार्फत् मानिसको मांसपेशी, हड्डी आदिमा असर पार्ने गर्छ । यसले मानिसको मृत्यु समेत हुन सक्छ ।

यो गामा विकिरणलाई ६ इन्च लामो लिडले मात्रै रोक्न सक्ने पाठकले जानकारी दिए । यो धेरै खतरनाक हुन्छ । यसले ज्वरो आउने , क्यान्सर, विभिन्न अनुवांशिक रोगहरु लाग्ने गर्छ । यसको असर कति हुने भन्ने कुरा त्यसको क्षमतामा भर पर्ने पाठकको बुझाई छ ।

नेपाल आणविक हतियार तयार पारेर विश्वलाई नै धम्की दिन सक्ने अवस्थामा अहिले त छैन । तर पनि नेपालले यदि विश्वमा आणविक हतियारबाट युद्ध भयो भने कसरी यसको क्षतिलाई न्यून गर्ने भन्ने विषयमा अनुसन्धान सुरु गर्नुपर्ने जानकारहरु बताउँछन् ।

कुन देशसँग कति छ त परमाणु हतियार ?

इरानको मिसाइल प्रतिरक्षा प्रणाली

शक्तिको हिसाबले हेर्दा अहिले चर्चामा रहेको इरानसँग कति आणविक हतियार छ भन्ने विषयमा विश्व अझै पनि स्पष्ट छैन । त्यसकारण इरानसँग भएको हतियारको विषयमा धेरैले अनुमान मात्रै गर्ने गर्छन् ।

विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युक्लियर हतियारको हिसाबले सबैभन्दा धेरै हतियार भएको मुलुक रसिया हो । उसँग सकि्रय र निष्कृयसहित गरी कुल ६५०० परमाणु हतियार छन् । सन् १९४९ देखि अहिलेसम्म रसियाले कुल ७१५ पटक परमाणु हतियारको परीक्षण गरिसकेको छ ।

दोस्रो स्थानमा अहिले अमेरिका छ । उसँग कुल ६१ सय ८५ वटा हतियारहरु रहेका छन् । सन् १९४५ देखि अहिलेसम्म अमेरिकाले एकहजार ५४ वटा परमाणु बमको परीक्षण गरिसकेको छ ।

यसबाहेक चीनसँग कूल २९०, भारतसँग १३०, पाकिस्तानसँग १५० देखि १६० वटासम्म, उत्तर कोरियासँग २० देखि ३० र इजरायलसँग ८० वटासम्म परमाणु हतियार रहेको बताइन्छ । यी र यसबाहेक पनि अरु मुलुकहरुले समेत गोप्यरुपमा परमाणु हतियार तयार पार्ने गरेको अमेरिकी गुप्तचर संस्था सिआईएको प्रतिवेदनमा उल्लेख छ । त्यसैले पछिल्लो समय विश्व परमाणु हतियारको त्रासमा गुजि्रनुपरेको हो ।

शक्तिराष्ट्रहरुले सधैं परमाणु हतियारको तीब्र रुपमा वृद्धि गर्नेबारे प्रतिस्पर्धा चल्न थालेपछि संयुक्त राष्ट्र संघको पहलमा सन् १९६८ मा स्वीट्जरल्याण्डको जेनेभामा एउटा बैठक बसेको थियो । जसले परमाणु हतियारलाई अब प्रसार नगर्ने बारे सम्झौता गरे । त्यसको ठीक दुई वर्षपछि सन् १९७० मा यो सम्झौता लागु भयो । जसमा अमेरिका, रुस, बेलायत लगायत १८ मुलुकहरुले हस्ताक्षर गरेका थिए । सो प्रतिवद्धतामा एशियाली मुलुकका भारत, पाकिस्तान लगायत र उत्तरकोरिया, इजरायल जस्ता मुलुकहरुले अझैसम्म पनि सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

नेपालमा पर्न सक्ने जोखिम

पछिल्लो समय सबैभन्दा धेरै द्वन्द्व पनि एशियाली मुलुकहरुमा नै बढेकाले एशिया महादेश आणविक हतियारको हिसाबले उच्च जोखिममा रहेको प्रा.डा. पाठक बताउँछन् । विश्वमा आणविक हतियारको युद्ध सुरु भयो भने सबैभन्दा जोखिमयुक्त ठाउँमा पर्छ नेपाल । त्यसैले पनि अहिलेेदेखि नै यसको अध्ययन गरेर त्यो अवस्थामा न्यून क्षति पुर्याउने विकल्पको खोजी गर्नुपर्नेमा पाठकले जोड दिएका छन् ।

चीन वा भारतमाथि न्युक्लियर हतियारको प्रयोग भयो भने त्यसका रेडियो इफेक्टहरु हिमालयसम्म आइपुग्छन् । यसरी हिमालयमा आएका रेडियो इफेक्टहरु नदीको पानीमार्फत् हिमालयदेखि अरब सागर र हिन्द महासागरसम्म पुग्ने गर्छ । हिमालयमा आएको यो समस्याको असर त अनुमान नै गर्न नसकिने खालको हुने उनी बताउँछन् ।

पाठकको विचारमा आणविक अनुसन्धान केन्द्र किन पनि आवश्यक छ भने मुस्ताङ जिल्लामा धेरैले युरेनियम रहेको भनेर उल्लेख गर्ने गरेका छन् । प्रारम्भिक अध्ययनमा युरेनियम भनिएको ठाउँमा पछि थोरियम भेटिएको उदाहण भारत लगायतका मुलुकमा पर्याप्त रहेकोले नेपालमा पाइएको युरेनियम हो या अरु पदार्थ ? भन्ने अध्ययनका लागि पनि केन्द्रको आवश्यता रहेको उनी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment