Comments Add Comment

नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईको १ अर्ब १३ करोड रुपैयाँ सहायता

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ ।

अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो ।

अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

शनिबारदेखि सुरुभएको सभामा सहभागी हुन युएई आएका ऊर्जा, जलश्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन, फण्ड फर डेभलपमेन्टका प्रतिनिधि र सहभागी अन्यदेशका प्रतिनिधिका बीच आइतबार सहयोग रकम घोषणा भएको हो ।

सहयोग रकम स्वीकार गरेपछि अनलाइनखबरसँग कुरा गर्दै मन्त्री पुनले भने, ‘हामीले पहिलो पटक आबुधाबी फण्डबाट सहयोग लिएका हौँ । यो सहयोगबाट हामीले नवीकरणीय ऊर्जा र बायोग्याँसको क्षेत्रमा काम गछौँ । सन् १९५५ देखि बायोग्याँसको क्षेत्रमा काम गर्दै आएको अनुभव हामीसँग छ । हाम्रो प्रविधि र अनुभव एसिया र अफ्रिकी मुलुकमा समेत पुगेको छ ।

उक्त रकमबाट ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्याँस आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने मन्त्री पुनले बताए ।

सहुल्यतकर्जा अन्तरगत उक्त सहयोग रकमको नेपालले १ प्रतिशत व्याज तिर्नपर्ने हुन्छ । सभामा सहभागी १२० वटा देशले आयोजना प्रस्तुत गरेका थिए । त्यसमा नेपालसहित ८ वटा देश छनोटमा परेका हुन् । बाँकी प्रकृया पूरा गरेपछि यो कार्यान्वयनमा जाने मन्त्री पुनले विश्वास व्यक्त गरे ।

सभामा नेपालबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भूमि त्रिपाठी, ऊर्जा मन्त्रालयका सहसचिव मधूप्रसाद भेटुवाल, वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी सहभागी भएका थिए।

दूतावासकातर्फबाट राजदूत कृष्णप्रसाद ढकाल सहभागी थिए । मन्त्री पुनको टोली सोमबार नेपाल फर्कने दूतावासले जनाएको छ ।

यसअघि गत २३ भदौमा आबुधाबीमा भएको २४ औँ विश्व ऊर्जा सम्मेलनमा मन्त्री पुन सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment