Comments Add Comment

कहिले र कसरी गर्ने बालबच्चासँग यौनको कुरा ?

यौनको कुरा भन्नसाथ तपाईलाई लाग्न सक्छ, यस्तो विषयमा के बात गर्ने ? वा यस्तो पनि लाग्न सक्छ, आफ्नै बच्चासँग कसरी यौनको कुरा गर्ने ?

अहिलेका बच्चाहरुमा समयभन्दा अगाडि नै यौनिक परिपक्कता बढ्दो छ । बिगतमा १२ वा १३ बर्षपछि मासिक स्राव सुरु हुन्थ्यो भने, अहिले ८ वा ९ बर्षको उमेरमै यो प्रक्रिया सुरु हुने गरेको छ । स्तन एवं यौनाङ्को विकास पनि कम उमेरमै हुन थालेको छ ।

किन यस्तो भइरहेको छ ?

यसमा एउटा मात्र जवाफ छैन । अहिलेको हावापानी, खानपान, प्रविधिको सुलभता जस्ता थुप्रै कारणले यसमा भूमिका खेलेको छ । तर, बच्चाहरुमा जसरी यौनिक परिपक्कता आएको छ, त्यसलाई स्विकार्नका लागि उनीहरु मानसिक रुपले भने तयार भइसकेका छैनन् । समस्या यहिँ छ । त्यसैले अहिलेका अभिभावकले बच्चालाई सही समयमा यौन-परामर्श दिन आवश्यक छ ।

बच्चासँग यौनको कुरा

बिगतमा यौनको कुरा गर्नुलाई ‘छाडा’ वा ‘लाजमर्दो’ भन्ने गरिन्थ्यो । तर, अहिलेको समाजमा यस्ता धारणा बद्लिएका छन् । यौन, यौनाङ्ग, यौन-स्वास्थ्य, प्रजनन-प्रक्रिया आदिबारे खुला छलफल गर्न सकिन्छ । गर्नुपर्छ पनि ।

किनभने, अहिलेका बच्चाहरुलाई सही समयमा यौनबारे जानकारी दिइएन भने, उनीहरुमा मनोविकार बढ्न सक्छ । उनीहरुमा यौनकुण्ठा बढ्न सक्छ । यौनजन्य कुराले उनीहरुमा चिन्ता र बेचैनी बढ्न सक्छ । त्यसैले सही समयमा बच्चालाई यौनको बारेमा आवश्यक जानकारी दिनुपर्छ । तर, कहिले सुरु गर्ने त ? अर्थात बच्चा कुन उमेरको भएपछि यौनको कुरा बुझ्न सक्षम हुन्छन् ?

७ -८ बर्षको उमेरमै यौनको कुरा

अभिभावकले अब बच्चालाई सानै उमेरमा यौनको कुरामा जानकारी दिलाउनुपर्छ । यौनाङ्गको विकास एवं परिवर्तनसँगै हुने विभिन्न शरीरिक उथलपुथलबारे बच्चालाई मानसिक रुपमा तयार राख्नुपर्छ ।

यौनाङ्गको परिवर्तनलाई लिएर बच्चाहरुमा भया वा भ्रम पैदा नहोस् । मासिकस्रावको बेला उनीहरु हतास नहोस् । यस्ता प्राकृतिक प्रकि्रयाबार उनीहरुलाई समयमै जानकारी दिलाउनुपर्छ ।

सामान्यत ७-८ बर्षको उमेरमा बच्चाहरु कुरा बुझ्ने भइसकेका हुन्छन् । उनीहरुलाई यहि समयमा यौन-परामर्श दिन उपयुक्त हुन्छ ।

कसरी दिने यौन परामर्श ?

हुन त बच्चाहरुले कतिपय प्रश्न सोध्न सक्छन्, जो यौनसँग सम्बन्धित हुनसक्छ । त्यस्ता प्रश्नसँग पन्छिने होइन, बरु सत्य/तथ्य खोजेर बुझ्ने ढंगले त्यसको जानकारी दिनुपर्छ ।

बच्चालाई निश्चित उमेरपछि मासिक श्राव हुन्छ, त्यो भनेको सामान्य प्रक्रिया हो भनेर बुझाउनुपर्छ । साथसाथै के पनि बुझाउनुपर्छ भने, मासिक श्रावको बेला के गर्ने ? के नगर्ने ? कसरी सावधानी अपनाउने भन्ने कुरामा उनीहरुलाई मानसिक रुपले तयार राख्नुपर्छ ।

किनभने मासिक श्राव कुनैपनि बेला हुनसक्छ । विद्यालयमा खेलिरहेको बेला, पढिरहेको बेला । त्यसैले ति अवस्थामा के गर्ने भनेर अभिभावकले पूर्व तयारी अपनाउनुपर्छ ।

यौनाङ्मा हुने परिवर्तन, स्तनको आकार बढ्ने, रौं आउने जस्ता प्रक्रिया बारे पनि बच्चालाई जानकारी दिनुपर्छ ।

यसबारे पनि चर्चा गरौं

अक्सर बच्चाहरुले आफु परिपक्क हुँदै गएको भेउ पाउँदैनन् । तर, कति वयस्क व्यक्तिहरु उनीहरुसँग नजिकिने, छुने, चलाउने गर्न सक्छन् । आफ्ना यौनकुण्ठा मेट्नका लागि बच्चाहरुसँग नजानिदो ढंगले नजिकिने, विभिन्न प्रलोभन देखाउने प्रवृत्ति देखिन्छ । यस्ता व्यक्तिहरुको नियत खराब हुनसक्छ भनेर पनि बच्चालाई सचेत गराउनु आवश्यक छ ।

अलि किशोरवयमा पुगेपछि छोराछोरी विपरित लिंगप्रति आकषिर्त हुन्छन् । यो स्वभाविक प्रक्रिया हो । यद्यपी यसबेला उनीहरुले आफ्नो होस गुमाउन सक्छ वा उनीहरुमाथि यौन दूर्व्यवहार हुनसक्छ । त्यसैले किशोरवयमा पुगेका छोराछोरीलाई यस्ता कुरामा सर्तक गरानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment