Comments Add Comment

विन्डोज सेभेन ‘अन्त्य’ हुँदै 

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ ।

प्रविधिको भाषामा इण्ड अफ लाइफ अर्थात् ईओएल भनेको भाइरस अर्थात् बग फिक्स गर्ने सेवा, सेक्योरिटी अपडेट तथा नयाँ फिचरहरु उपलब्ध हुन छाड्नु हो । यसबाट प्रयोगकर्ताहरु मालवेयर आक्रमणको उच्च जोखिममा हुन्छन् ।

स्मरण रहोस् सन् २०१५ को जनवरीदेखि नै माइक्रोसफ्टले विन्डोज सेभेनमा मेनस्टि्रम सपोर्ट बन्द गरेको थियो । आगामी जनवरी १४ देखि चाहिँ विन्डोज सभेनमा बाँकी रहेका सेवाहरु पनि माइक्रोसफ्टले बन्द गर्दैछ । फलतः एक दशक पुरानो विन्डोज सेभेनका प्रयोगकर्ताले आफ्नो अपरेटिङ सिस्टमलाई विन्डोज १० मा अपडेट गर्नुपर्नेछ ।

आफ्नो कम्प्युटरलाई भाइरस तथा अन्य साइबर जोखिमबाट सुरक्षित राख्नका लागि अपरेटिङ सिस्टमलाई विन्डोज १० मा अपग्रेड गर्नका लागि माइक्रोसफ्टले सबै प्रयोगकर्तालाई आग्रह गरेको छ ।

एक अर्को समाचारअनुसार माइक्रोसफ्टले विन्डोज सेभेनलाई पूर्णरुपमा बन्द भने गर्ने छैन । अहिले पनि विश्वमा लाखौँ व्यक्तिगत तथा कर्पोरेट प्रयोगकर्ताहरुले आफ्नो कम्प्युटरमा विन्डोज सेभेन प्रयोग गरिरहेका छन् । त्यस्ता प्रयोगकर्ताहरु जो विन्डोज सेभेन नै प्रयोग गर्न चाहन्छन् उनीहरुले विन्डोजको सेक्योरिेटी सपोर्ट प्राप्त गर्नका लागि महंगो शुल्क तिर्नुपर्नेछ । क्यास्पर्स्कीको एक रिपोर्टअनुसार अहिले पनि विश्वका ४० प्रतिशत साना कम्पनी तथा ४८ प्रतिशत मध्यम तथा ठूला कम्पनीहरुले आफ्नो कार्यालयमा विन्डोज सेभेन प्रयोग भइरहेको छ ।

अर्कोतर्फ विन्डोज सेभेन चल्दै नचल्ने भन्ने पनि होइन । यदि तपाईं आफ्नो कम्प्युटरमा रहेको विन्डोज सेभेन नै चलाउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ । तर तपाईंको कम्प्युटरमा विभिन्न फिचरहरु नचल्ने मात्र होइन भाइरसको आक्रमणको जोखिम पनि उच्च हुनेछ । स्मरण रहोस् सन् २०१७ मा विन्डोज सेभेनमा वान्नाक्राइ भाइरसले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment