+
+

चोभारको सुख्खा बन्दरगाह निर्माणको म्याद ६ महिना थप्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १२:५५

२७ पुस, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धारित समयभित्र नबन्ने भएको छ ।

योजनाअनुसार अबको ७ महिनाभित्रै काम सकिएर काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनुपर्थ्यो । तर स्थानीयको अवरोधको कारण निर्माणको काम थाल्न ६ महिना ढिला भएको थियो ।

अब आयोजनाको म्याद थप ६ महिना धकेल्नुपर्ने अवस्था आएको इन्टरमोडल यातायात विकास समितिका प्रमुख युवक डंगोलले बताए ।

उनका अनुसार हालसम्म आयोजनामा ३० प्रतिशत मात्रै प्रगति भएको छ । योजनाअनुसार अहिलेसम्म ६० प्रतिशत काम सकिनुपर्थ्यो ।

‘ढिला सुरु भए पनि अहिले फिल्डमा फटाफट काम भएको छ, ‘डंगोलले भने, ‘रोकिएकै समयजति म्याद थप्दा आयोजना पूरा हुन्छ ।’

उनले सुरुमा स्थानीयको विरोध भए पनि अहिले धेरैजसो मागहरु सम्बोधन गरिएको बताए । स्थानीयवासीले सुरुमा त्यहाँको जग्गा सरकारले स्थानीयलाई नै फिर्ता गर्नुपर्ने माग अघि सारेका थिए । उनीहरुले पहिले सोही जग्गामा रहेको सरकारी सिमेन्ट उद्योगबाट पारिश्रमिक पनि भुक्तानी नपाएएको भन्दै आन्दोलनसमेत गरेको थिए ।

विरोधका बीच चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ, २०७६ मा शिलान्यास गरेका थिए । नेपाल इन्टरमोडल यातायात विकास समितिले नै यो बन्दरगाह निर्माण गर्न लागेको हो । निर्माणको ठेक्का आशिष-साक्षी जेभीले जिम्मा पाएको छ ।

यसअघि बन्दरगाह बन्ने स्थानमा हिमाल सिमेन्ट कारखाना थियो । कारखानाले वातावरणीय प्रदूषण गरेको भन्दै स्थानीयकोे चर्को विरोधपछि सरकारी सिमेन्ट कारखाना नै बन्द हुन पुगेको थियो ।

यो परियोजनालाई विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र बन्दरगाहको निर्माण सक्ने लक्ष्य थियो ।

बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका भन्सार सम्बद्ध कार्यालयहरु रहनेछन् ।

बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो । बन्दरगाह बनेपछि सामान आयात-निर्यातमा सहज हुने अपेक्षा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ ।

यहाँ चार लेयरमा कन्टेनर राख्न सक्नेगरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदैछ । कोलकाता, विशाखापट्नम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्ने योजना छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ ।

अहिले भन्सार जाँचपासको काम सीमानाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउँदैछ ।

यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने छन् । बन्दरगाह निर्माणपछि सामान आयात-निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?